Comments Add Comment

पत्रिका समाचारः कर्णालीमा दैनिक १४ घन्टा लोडसेडिङ, जनप्रतिनिधि गाउँ नजाँदा जनतालाई सास्ती

एक दशकमा त्रिशूलीले निल्यो ६२४ जना


२८ माघ, काठमाडौं । आज आइतबार, राजधानीबाट प्रकाशित भएका अखबारहरुले भिन्न–भिन्न समाचारहरुलाई प्राथमिकता दिएका छन् । अधिकांशले राजनीतिक विषयलाई मुख्य समाचार बनाएर छापेका छन् भने केहीले अभाव, बेथिती र कुशासनको विषय उठाएका छन् ।

चमेलिया आयोजना सम्पन्न भएको विषयलाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले आज सातमध्ये ६ प्रदेशका मुख्यमन्त्री निश्चित भएको समाचारलाई महत्त्व दिएर लेखेको छ । प्रदेश ३ को सभामुखमा एमालेका सानु श्रेष्ठ निर्विरोध निर्वाचितलाई एंकर समाचार बनाएको गोरखापत्रले जीप दुर्घटनामा सिँचाइ सचिव रामानन्दप्रसाद यादवको निधन भएको समाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।

नागरिक दैनिकले मुख्य तीन दल एमाले, कांग्रेस र माओवादीको समानुपातिक कोटाबाट सांसद् बन्ने अनुहारबारे विश्लेषण गरेको छ । समाचार अनुसार एमाले र माओवादी समानुपातिक सांसद् छनोटको अन्तिम तयारीमा छन् भने कांग्रेसका २० महिलाले अवसर पाउँदैछन् ।

कान्तिपुर दैनिकले नयाँ सरकार गठनबारे चर्चा गरेको छ भने नयाँ पत्रिका दैनिकले कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ हुने गरेको लेखेको छ ।

आजका पत्रपत्रिकाहरुले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ मा बन्ने सरकारको पद बाँडफाँटको टुंगो लगाएको समाचारलाई पनि उत्तिकै महत्त्व दिएर लेखेका छन् ।

दशकमा त्रिशूलीले निल्यो ६२४ जना

त्रिशूली नदी किनारा हुँदै सडकमार्गमा यात्रा गर्ने सबै यात्रुहरुलाई यो क्षेत्रमा हुने दुर्घटनाको समाचारले सधैं झस्काइरहन्छ । हुन पनि त्रिशूली नदी किनारको सडक दुर्घटनामा परी एक दशक यता झण्डै ६ सय २४ जनाले ज्यान गुमाएका छन् भने कम्तीमा पनि ११ सय बढीको अंगभंग भएको छ ।

जनता पोस्ट दैनिकका अनुसार शनिबार तीन भीआईपी बेपत्ता पारेको त्रिशूलीले गएको ५ महिनामा मात्रै ६३ जनालाई निलीसकेको छ ।असोजयता ७९ जना गम्भीर घाइते भएका छन् ।

गएको आर्थिक वर्षको तथ्यांक अनुसार त्रिशूलीमा ११ सय सवारी दुर्घटना भएका थिए । त्यसकारण पनि मध्यक्षेत्र प्रहरी कार्यालयले यो सडकलाई दुर्घटनाको रेड जोनमा राखेको थियो ।

रौनक छाउँदै थियो, शोकमा डुब्यो गाउँ

कान्तिपुर दैनिकका अनुसार सिँचाइ सचिव रामानन्दप्रसाद यादवको छोरीको बिहे तीन दिनअघि नै तय भइसकेकाले घरमा रौनक सुरु भइसकेको थियो । परिवारका सदस्य काम बाँडफाँट गरेर आवश्यक सामान जोहो गर्न जुटिसकेका थिए । निम्तालुबारे छलफल भइरहेको थियो ।

तर, बिहान ५ बजे सिँचाइ मन्त्रालयबाटै फोन आयोग सचिव सवार गाडी त्रिशूलीमा खस्यो ।

अचानक माहोल बदलियो । परिवारमा रुवाबासी मच्चियो । दुर्घटनामा सचिव यादव र अाफन्तकाे छोरीको मृत्यु भयो भने सचिवका छोरा हराइरहेका छन् । यो खबरले यादवको परिवार मात्र होइन, कृष्णनगर नगरपालिका ८ डिहवा गाउँ पूरै शोकमा डुबेको छ ।

७ मध्ये ६ प्रदेशका मुख्यमन्त्री निश्चित

सात प्रदेशमध्ये ६ प्रदेशका भावी मुख्यमन्त्रीको नाम करिब तय भएको छ । वाम गठबन्धनको बहुमत रहेको प्रदेश ४ मा भने एमालेले अझै संसदीय दलको नेता चयन गरेको छैन ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हुँदा मुख्यमन्त्रीको भावी नेतृत्व पनि दलको नेता चयनसँगै टुंगो लागेको गोरखापत्र दैनिकमा समाचार छ । संवैधानिक व्यवस्थाअनुसार अब प्रदेश प्रमुखले मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

समाचार अनुसार प्रदेश १ मा शेरधन राई, २ मा लालबाबु राउत र ३ मा डोरमणि पौडेल मुख्यमन्त्री हुने निश्चित भएको छ । प्रदेश ४ मा भने अझै टुंगो लाग्न सकेको छैन । ५ मा शंकर पोखरेल मुख्यमन्त्री बन्दै छन् भने ६ मा महेन्द्र शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री हुँदैछन् ।

वाम रणनीतिः मन्त्रिपरिषद् निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सरकारले बदर गर्ने तयारी गरेको छ ।

सरकारले गरेका निर्णय बदर गर्दा अदालती बाटोबाट निर्णय उल्टन सक्ने भन्दै वाम गठबन्धनका नेताले संसदमा विशेष प्रस्ताव पास गरी सबै निर्णय बदर गर्ने तयारी गरेको राजधानीमा समाचार छ ।

समाचार अनुसार सरकारले गरेको निर्णय खारेज तथा बदर गर्न मन्त्रिपरिषद्ले निर्णय गरे पुग्नेमा वाम गठबन्धनको सरकारले त्यस्तो निर्णय उल्ट्याउन नसक्नेगरी निर्णय बदर गर्ने बाटो रोज्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

अख्तियारमा प्रमुख नियुक्त गर्ने देउवाको दाउ

नेपाल समाचारपत्र दैनिकमै प्रधानमन्त्री शेरबहादुर देउवा रिक्त हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्ने दाउमा लागेको समाचार छ ।

समाचार अनुसार प्रधानमन्त्री देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् । आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

प्रधानमन्त्री देउवा आफूनिकट व्यक्तिलाई अख्तियार प्रमुख बनाउने खेलमा लागेको कांग्रेसकै एक नेताको हवाला दिँदै समाचारपत्रले खबर लेखेको छ ।

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ

संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले यहाँ लोडसेडिङ भइरहेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ भइरहेको छ ।

डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् । त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको बेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन् ।

यस क्षेत्रमा २.४ मेगावाट विद्युत् उत्पादन भए पनि मौसमका कारण उत्पादन क्षमतामा घटबढ भइरहन्छ । हिउँ पर्ने समयमा पानीको बहाव कम हुने भएकाले विद्युत् उत्पादनमा कमी आउने गरेको साना जलविद्युत् आयोजनाहरूले जनाएका छन् । त्यस्तै, पुराना उपकरण मर्मतसम्भार तथा फेर्न नसकिएकाले पनि क्षमताअनुसार विद्युत् उत्पादन नहुने गरेको समाचारमा उल्लेख छ ।

प्रतिनिधिसभामा महिला प्रतिनिधित्व घट्यो

राष्ट्रियसभामा महिला प्रतिनिधित्व ३७ प्रतिशत पुगेकाले प्रतिनिधिसभामा ४ प्रतिशत घट्ने भएको छ । राजनीतिक दलहरुले राष्ट्रियसभामा पुगेका महिला प्रतिनिधित्व घटाएर ३३ प्रतिशत पुर्याउनेछन् ।

‘संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोडेर संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान छ । एमालेका २, कांग्रेसका २, राजपाका १ जना गरी ५ जना महिला कम भएको हो । दलहरुले अब ५ जना पुरुष बढी प्रतिनिधित्व पठाउन पाउनजे भएको नागरिक दैनिकमा समाचार छ ।

समाचार अनुसार प्रत्यक्षमा ६ जना महिलाले जितेका कारण समानुपातिकमा दलहरुले सबैजसो पहिला पठाउनुपर्ने देखिएको छ । प्रत्यक्षतर्फ महिलालाई टिकट नदिएका कारण दलहरुले समानुपातिकबाट महिलाको अनिवार्य प्रतिनिधित्व बनाउनुपर्ने बाध्यता बनेको हो ।

नेपाली क्यासिनोमा अवैध विदेशी कामदार

नागरिक दैनिकमै क्यासिनोमा अवैध पाँच विदेशी कामदार कार्यरत रहेको समाचार छ ।

समाचार अनुसार नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारो टाइगर प्यालेस रिसोर्टको उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम गरिरहेको भेटिएको छ ।

स्रोतलाई उद्धृत गर्दै नागरिकले लेखेको छ– निःशुल्क भिसामा नेपाल आएका उनीहरु विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७, कोटहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्मका तहमा कार्यरत छन् ।

गाउँ नै जाँदैनन् जनप्रतिनिधि

नेपाल समाचारपत्र दैनिकले आज स्थानीय जनप्रतिनिधिहरु गाउँ नजाँदा सिंहदरबार गाउँमा पुर्याउने अभियान प्रभावित बनेको समाचार छापेको छ ।

‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारले सिंहदरबारको अधिकार गाउँ–गाउँमा ल्याउने वचन दिए’, नेपाल समाचारपत्रले लेखेको छ, ‘जनताले पनि विश्वास गरेर आफ्ना जनप्रतिनिधि चुने । दुई दशकसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहबाट सहजरुपमा सेवा सुविधा पाउने अपेक्षा गरेका जनतामा विगतकै दुःख बल्झिएको छ ।’

समाचार अनुसार स्थानीय तहमा नै रहेर सेवा सुविधा दिने प्रतिबद्धता जनाएर निर्वाचनमा उठेका उम्मेदवार निर्वाचित भएपछि पुनः शहरकेन्द्रित हुन थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment