+
+

सावधानी नअपनाए एमआरआई मेसिनबाट ज्यानै जाने जोखिम

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २९ गते ११:०५

काठमाडौं । एमआरआईको पूरा रुप ‘म्याग्नेटिक रेसोनेन्स इमेजिङ स्क्यान’ हो । यो मेसिन शरीरभित्रको तस्बिर लिने आधुनिक उपाय हो ।

शक्तिशाली चुम्बकीय क्षेत्र, रेडियो तरंग र कम्प्युटरको सहायताले एमआरआईबाट शरीरका कुनै पनि भागको तस्बिर खिच्न सकिन्छ । त्यसका लागि मेसिनलाई १५ देखि ९० मिनट लाग्छ । कुन अंग र कति ठूलो भाग स्क्यान गर्ने हो भन्नेमा त्यो निर्भर हुन्छ ।

एमआरआई मेसिन रेडियनमा नभई म्याग्नेटिक फिल्डमा आधारित हुन्छ । त्यसैले, एक्सरे र सीटी स्क्यानभन्दा फरक हुन्छ । यसमा एक्सरेको प्रयोग हुँदैन ।

बरु, यसले खिचेको तस्बिर एक्सरे मेसिनको भन्दा उच्च गुणस्तरको हुन्छ । यसबाट शरीरका अंगहरुको विस्तृत विवरण प्राप्त हुन्छ । र, शरीरका हड्डी र कोषिका दुवैलाई प्रस्ट देखाउँछ ।

रेडियोलोजिस्टहरुका अनुसार शरीरमा जहाँ-जहाँ हाइड्रोजन हुन्छ, त्यहाँ त्यसैका कारण एउटा इमेज बन्छ । सामान्यतया शरीरमा ७० प्रतिशतसम्म पानी हुने गर्छ । र, हाइड्रोजन स्पिनको माध्यमद्वारा शरीरका कैयौं समस्या पत्ता लाग्छन् ।

मस्तिष्क, घुँडा र ढाडको हड्डीलगायत अंगमा नरम कोषिका हुन्छन् । ती कोषिकाको एमआरआई गर्दा हाइड्रोजन स्पिनद्वारा इमेज बनेपछि समस्या यकिन गर्न सकिन्छ ।

एमआरआई गर्नुअघि ध्यान दिऔं

एमआरआई गर्ने दिन अरु बेलाजस्तै सामान्य खानपान गर्न सकिन्छ । औषधि सेवन पनि गर्न सकिन्छ ।

तर, केही बिरामीलाई भने चिकित्सकहरु एमआरआई गर्नु करिब चार घण्टा अघिसम्म खाने सल्लाह दिन्छन् । केही बिरामीलाई अत्यधिक पानी पिउने सल्लाह चिकित्सकको हुन्छ ।

यस्तै, एमआरआई बिरामीका लागि कति सुरक्षित छ भन्ने हेर्न चिकित्सकहरुले मेडिकल रिपोर्टहरु हेर्ने गर्छन् । एमआरआई गर्नुअघि बिरामीको मञ्जुरीसमेत लिने गरिन्छ ।

एमआरआई स्क्यानरले कडा म्याग्नेटिक फिल्ड पैदा गर्ने भएकाले बिरामीको शरीरमा कुनै धातु छ कि छैन भनेर पनि जाँच गरिन्छ । जस्तै- घडी, टप, सिक्री, औंठी, फलामका गरगहना, पियरसिङ, धातुको नक्कली दाँत, कानको मेसिनलगायत ।

थरी-थरीका एमआरआई मेसिन ?

सामान्यतया एमआरआई मेसिन तीन किसिमका हुन्छन् । टेस्ला, १.५ टेस्ला तथा ३ टेस्ला । टेस्ला यस्तो युनिट हो, जसमा मेसिनको क्षमता मापन गरिन्छ ।

‘तीन टेस्ला युनिट’ क्षमतायुक्त एमआरआईले सिंगो फलामको दराज नै तान्ने क्षमता राख्छ । अर्थात्, मेसिन जति टेस्लायुक्त हुन्छ, त्यसको म्याग्नेटिक फिल्ड त्यति नै धेरै हुने गर्छ ।

त्यसैले त, एमआरआई कोठाबाहिर देखिने अक्षरमै लेखिएको हुन्छ, यदि मुटुमा पेसमेकर लगाइएको छ वा शरीरमा कुनै बेला न्युरो स्टिमुलेटर लगाइएको छ भने भुलेर पनि एमआरआई नगरौं ।

त्यसो त, एमआरआई गर्दा सुनको गहना प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् । तर, सुनमा फलाम वा चाँदी मिसावट गरिएको छ भने जोखिम अधिक हुन्छ ।

के हुन्छ एमआरआई मेसिनमा ?

एमआरआई स्क्यानर एक प्रकारको सिलिन्डरयुक्त मेसिन हो, जुन दुवैतर्फबाट खुला हुन्छ । उक्त मेसिनद्वारा जाँच गराउने व्यक्ति मोटराइज्ड बेडमा सुत्छ र उक्त मेसिनभित्र जान्छ ।

कुनै विशेष अवस्थामा शरीरको टाउको, छातीलगायत अंगमा फ्रेम राखिने गर्छ । त्यस्ता फ्रेममा यस्तो रिसिभर हुन्छ, जसले स्क्यानको दौरान शरीरमा जानसक्ने सिग्नललाई नियन्त्रित गर्छ । र, उच्चगुणस्तरको तस्बिर लिन मद्दत पुग्छ ।

स्क्यानका क्रममा धेरैपटक ठूलो आवाज आउँछ, जुन विद्युतीय करेन्टले उत्पन्न गराउँछ । त्यसैले, उक्त ध्वनीबाट बचाउन एमआरआई गर्दा हेडफोन दिइन्छ ।

एमआरआई मेसिन कति सुरक्षित ?

एमआरआई एक दुःखाईरहित प्रक्रिया हो । यसमा बेहोस पार्ने औषधि आवश्यक हुँदैन । केही मानिसलाई एमआरआई मेसिनभित्र सास फुल्ने र सास फेर्न समस्या हुने गर्छ । त्यसलाई चिकित्सकीय भाषामा ‘क्लस्ट्रोफोबिया’ भनिन्छ ।

यदि एमआरआईको दौरान कसैलाई यस्तो समस्या भएमा सहायकसित सहयोग लिन सकिन्छ ।

कतिबेला खतरनाक ?

शरीरको जाँचका लागि निर्माण गरिएको यो मेसिनबाट कतिपय अवस्थामा ज्यानै जाने जोखिमसमेत हुने गर्छ । एमआरआई गराउने व्यक्तिको शरीरमा धातुका वस्तु भए/नभएको सुनिश्चित गर्नुको कारण पनि यही हो ।

शरीरभित्र कुनै धातुयुक्त वस्तु भएमा त्यो खतरनाक हुनसक्छ । किनकि, एमआरआईमा भएको म्याग्नेटले धातुलाई आफूतिर तानेर गम्भीर दुर्घटना निम्त्याउन सक्छ ।

यसबाहेक, मेडिकेसन वा निकोटिन प्याच लगाएर स्क्यान कक्षमा जानु उपयुक्त मानिँदैन । किनकि, त्यसमा आल्मुनियमको केही अंश हुन्छ र मेसिन चलिरहँदा त्यस्ता प्याच तातो भई मानिस जल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?