Comments Add Comment

क्यानवेराको बहुसांस्कृतिक मेलामा नेपाली प्रस्तुति

१२ फेब्रुअरी, क्यानवेरा । अस्ट्रेलियाको सबैभन्दा ठूलो र विविधता झल्कने महोत्सवहरु मध्येको एक मानिने क्यानवेरा बहुसांस्कृतिक मेलामा क्यानवेरास्थित स्थानीय नेपाली कलाकारहरुले नेपाली कला संस्कृति झल्कने प्रस्तुति गर्ने भएका छन् ।

आगामी फेब्रुवरी १६ शुक्रवार देखि १८ आइतवारसम्म क्यानवेराको मुटु सिविकमा आयोजना हुने उक्त मेलामा नेपाली समुदायका तर्फबाट स्थानीय नेपाली संस्था अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका निम्ति शुक्रवार र शनिवार गरी आधाआधा घण्टाको समय निर्धारण गरिएको आयोजकले जनाएको छ ।

अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष जीवन रानाका अनुसार कार्यक्रमको आरम्भमा नेपाली पहिचान झल्कने नेपाली पहिरनमा स्थानीय कलाकारहरुले पाँच मिनेटको फेशन परेड प्रस्तुत गर्ने छन् भने बाँकी समय ५ वटा एकल र सामूहिक नृत्यका निम्ति निर्धारण गरिनेछ ।

स्थानीय नेपाली कलाकारहरुलाई हौसला प्रदान गर्न अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा पनि कार्यक्रममा उपस्थित हुने अनलाइनखबरसँगको कुराकानीमा अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष रानाले बताए ।

२२ वर्ष पुरानो इतिहास बोकेको बहुसांस्कृतिक मेला क्यानवेरामा यस पटक आठ वटा मञ्चमा ३०० भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् भने खानाको स्टल पनि राखिनेछ ।

महोत्सवलाई स्वदेश र बिदेशका गरी लगभग २ लाख जतिले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ l नेपाली प्रस्तुति पहिलो दिन १६ फेब्रुवरी शुक्रवारका दिन साँझ ५ बजे स्टेज ६ मा हुनेछ भने दोश्रो दिन १७ फेब्रुवरी शनिवारका दिन स्टेज १ मा दिउँसो २:१५ मा हुनेछ ।

कार्यक्रमको बिस्तृत जानकारी क्यानवेरा बहुसांस्कृतिक मेलाको आधिकारिक वेब साइटमा गएर पनि लिन सकिने छ । नेपाली र नेपालीको पहिचान गराउन पाउने यस्तो सुखद् अवसरमा उपस्थित भई कलाकारको हौसला बढाउन अध्यक्ष रानाले अस्ट्रेलिया रहेका सबै नेपालीहरुलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment