Comments Add Comment

४५ प्रतिशत प्रतिफलले पनि उकासिएनन् लगानीकर्ता, बजार वर्षकै न्यून

२९ माघ, काठमाडौं । बैंक अफ काठमाण्डूले हालसम्म लाभांश सार्वजनिक गरेको छैन्, तर बैंकबाट लगभग २८ प्रतिशत बराबर बोनस आउने आँकलन बजारमा भइसकेको छ । बैंकलाई आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एक अर्ब ७६ करोड रुपैयाँ आवश्यक पर्छ ।

बैंकले संस्थापक सेयर बोलकबोलमा बिक्री गरेर पुँजी जुटाइसकेको छ भने लाभांश लगभग पक्का देखिएको छ । तर, बजारमा भने मूल्य हरेक दिन घट्दो क्रममा छ । सोमबार पनि बैंकको मूल्य एक रुपैयाँले घट्यो ।

अर्को बैंक एनएमबिले पनि लगभग २३ प्रतिशत बोनस दिएमा मात्रै तोकिएको पुँजी पुर्याउन सक्छ । तर, घट्दो क्रममा रहेको बैंकको सेयर मूल्य सोमबार थप आठ रुपैयाँले घट्यो ।

‘बजार घट्न रोकिएको छैन भने बैंक अफ काठमाण्डूको यसपटकको दोस्रो त्रैमासिक वित्तीय विवरण पनि खासै राम्रो आएन । सेयर किन्न म सुझाव दिन्न,’ एक ब्रोकरले भने । बैंकको नाफा आठ प्रतिशतले घटेर ५५ करोडमा सीमित भएको छ ।

बैंकहरूको वित्तीय विवरण आशातीत नहुनु, बैंकिङ प्रणालीमा कर्जा दिन पुँजी अभाव हुनु लगायतको कारण बजार ओरालो लाग्न रोकिएको छैन । यही कारण कतिपयको लाभांश समायोजन र वितरणपछि हालको मूल्यले लगानीकर्ता घाटामा रहेका छन् ।

६ महिनाअघि बजारमा पाँच कम्पनीको सेयर किनेका लगानीकर्ताहरूले अहिलेको मूल्यमा कम्तीमा १० देखि २१ प्रतिशतसम्म नोक्सानमा नै रहेका छन् । प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नागबेली लघुवित्त विकास बैंक र ओरियण्टल होटेलका लगानीकर्तालाई अहिलेको मूल्यमा यस्तो नोक्सान देखिन्छ ।

बजार नबढ्दासम्म वा अर्को वर्ष राम्रो लाभांश प्राप्त नगर्दासम्म नाफामा आउन नसकिने भएकोले पनि हाल उच्च लाभांश पाउने सम्भावनाका संस्थामा समेत लगानीकर्ता आकर्षित हुन सकेका छैनन् ।

चुक्तापुँजी वृद्धिको आडमा मात्र बढेको कम्पनीमा वर्षौंसम्म पनि मुनाफा हुन नसकेको देखिएको छ ।

‘एउटा उदाहरण दिन्छु, ग्लोबल आइएमइ बैंकको २०७१ मा सेयर किनेकाहरू अझै पनि नोक्सानमा नै छन्, त्यसैले पुँजी पुगेको कम्पनीमा तत्काल मूल्य बढेन भने घाटा हुने सम्भावना छ,’ एक लगानीकर्ताले भने ।

उनले २०७१ साल असोजमा ग्लोबल आइएमइको सेयर प्रतिकित्ताको ६ सय ४४ रुपैयाँको दरमा किनेका रहेछन् । कम्पनीले त्यसयता ७० प्रतिशत बराबरको बोनस दिइसकेको छ । १ सय कित्ता किनेका थिए भने उनको साथमा अहिले बोनसको कारण १ सय ९० कित्ता सेयर हुन्छ । त्यतिखेर ६४ हजार रुपैयाँ लगानी गरेका उनी अझै करीव ३ हजार रुपैयाँ नोक्सानमा छन् । नगद लाभांशले त्यो पूर्ति गर्ने अवस्था छैन भने त्यसमा लागत र बोनसमा लाग्ने पुँजीगत लाभकर पनि जोडिएको छैन ।

यही कारण हाल अधिकांश बैंकको चुक्तापुँजी राष्ट्र बैंकले तोके बराबर पुगेकोले पनि धेरै लगानीकर्ताहरू लगानी बढाइ हाल्न इक्छुक छैनन् ।

नेपाली लगानीकर्ताहरू कम्पनीको अवस्था हेर्ने भन्दा लाभांशमुखी हुँदा तथा छिटो प्रतिफलको आशा राख्ने भएकाले पनि यस्तो समस्या देखिएको विश्लेषकहरू बताउछन् । मूख्य रुपमा आगामी दिनमा बैंकहरूले कतिको दरमा लाभांश दिन्छन, दिन्छन् वा दिदैनन् भन्ने सोचले पनि बजार बढ्न नसकेको उनीहरूको भनाइ छ ।

हुनत बजारमा सबै सेयरमा उत्तिकै उतार चढाव नहुने भएकोले यीनै उदाहरणले मात्र प्रतिफल तय हुने अवस्था पनि छैन । कतिपय संस्थाको अवस्था थप सबल बनिरहेकोले भोलिका दिनमा तिनको मूल्यमा हुने उच्च वृद्धिले प्रतिफल पनि उच्च हुने विश्लेषकहरू बताउछन ।

बजार सोमबार भने पाँच अंकले घटेपछि बजार लगभग एक वर्षयताकै न्यून बिन्दुमा आएको छ । नेप्से सोमवार १३ सय ७९ बिन्दुसम्म ओर्लियो । २०७३ चैत ४ गते यताकै न्यून बिन्दुमा नेप्से आएको हो ।

कारोबार रकम पनि घटेर २४ करोड रुपैयाँमा सीमित भएको छ । विकास बैंक र अन्यबाहेक सबै समूहको परिसूचक घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment