Comments Add Comment

यी अभागी पूर्वसांसद, जसलाई थ्रेसहोल्डले थला पार्‍यो !

विनोद चौधरीदेखि कुमार खड्कासम्म भाग्यमानीको सूचीमा

१ फागुन, काठमाडौं । थ्रेसहोल्डको व्यवस्थाले अहिले प्रतिनिधिसभा र प्रदेशसभामा दलहरुको संख्या निकै कम भएको छ । पहिलो र दोस्रो संविधानसभामा २५/३० हजार भोट ल्याएर सांसद बनेकाहरुले यसपटक ठूलो दलको साहारा लिएर फेरि जनप्रतिनिधि चुनिने आकांक्षा राखेका थिए । तीमध्ये केही सफल भए भने कतिपय असफल बनेका छन् ।

थ्रेसहोल्डको व्यवस्था नहुँदा पहिलो संविधानसभामा २५ र दोस्रोमा ३२ वटासम्म दल पुगेका थिए । तर, समानुपातिक पद्दतिबाट सांसद चयन हुन खसेको कुल सदर मतको ३ प्रतिशत ल्याउनैपर्ने कानुनी व्यवस्था गरेपछि केही बाठा पूर्वसांसदहरु ठूलो दलको छहारीमा पुगेका थिए । कोही पार्टी नै प्रवेश गरे भने केहीले तालमेल मात्र गरे । संविधानसभामा सांसद चुनिएका र पटक-पटक मन्त्री भएकाहरु पनि यसपटक सांसद बन्न सकेनन् ।

सांसद बन्न नसकेका ४ अभागी :

विगतमा सानो पार्टीको नेता भएर फाइदा उठाउनेहरु यसपालि चिप्लिएका छन्, जो यस्ता छन् :

एकनाथ ढकाल

नेपाल परिवार दल खोलेर पहिलो संविधानसभा चुनावमा करिब २४ हजार भोट पाएर सभासद बनेका एकनाथ ढकाल सहकारी तथा गरिबी निवारण मन्त्री पनि बने ।

दोस्रो संविधानसभामा २ सिट पाएको उनको पार्टीबाट उनी फेरि सभासद बने र शान्ति तथा पुनर्निर्माण मन्त्रीसमेत भए । यसपटक थ्रेसहोल्डको व्यवस्था आएपछि उनले एक्लै चुनाव लड्ने हिम्मत गर्न सकेनन् । ढकालले चुनावअघि एमालेसँग सहकार्य गरे र एमालेको समानुपातिक सूचीमा पर्न सफल भए ।

ढकाल एमालेेको खस आर्य पुरुषतर्फको क्लस्टरमा पाँचौं नम्बरमा परेका थिए । तर एमालेको खस आर्य क्लस्टरबाट जम्मा एकजना सांसदमात्र चुनिएपछि ढकालको तेस्रो पटक बानेश्वर प्रवेश गर्ने सपना तुहियो ।

प्रेमबहादुुर सिंह

पहिले एमालेबाट राजनीति गरेका प्रेमबहादुर सिंह ०६४ र ०७० सालको संविधानसभामा समाजवादी जनता पार्टीका तर्फबाट सांसद भए । उनी एक पटक कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भए भने एक पटक खानेपानी तथा सरसफाइ मन्त्री ।

थ्रेसहोल्डको व्यवस्था आएपछि सिंह यसपटक माओवादी केन्द्रसँग तालमेल गरेर उसको समानुपातिक सूचीमा पर्न सफल भए । माओवादीले उनलाई पिछडिएको क्षेत्र क्लस्टरको पहिलो नम्बरमा नै राखेको थियो । तर, माओवादीले समानुपातिकमा १ जनामात्र पुरुष पठाउने पाउने भएपछि उनी सांसद बन्न सकेनन् ।

लोकमणि ढकाल

०७० सालको संविधानसभा निर्वाचनमा जनजागरण पार्टीबाट संविधानसभा सदस्य बनेका लोकमणि ढकाल जनजागरण पार्टीबाट १ सिटे सांसद थिए । थ्रेसहोल्डबाट जोगिन उनी पनि माओवादी केन्द्रको छहारीमा पुगे ।

माओवादी केन्द्रले उनलाई खस आर्य पुरुषको क्लस्टरमा आफ्ना दुई नेता हितराज पाण्डे, मणि थापापछि तेस्रो स्थानमा राख्यो । अन्तत उनी माओवादी सूचीबाट समानुपातिक सांसद बन्न सकेनन् ।

अइन्द्रसुन्दर नेम्वाङ

दोस्रो संविधानसभामा नेकपा मालेले ५ सिट पाउँदा सभासद चुनिएका अइन्द्रसुन्दर नेम्वाङले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुने केही समयअघि पार्टी छाडेर नेकपा एमाले प्रवेश गरे । उनी एमालेको समानुपातिक सूचीमा अटाए पनि । उनी एमालेको आदिवासी जनजाति पुरुष क्लस्टरमा चौथो नम्बरमा लिस्टमा परेका थिए । तर सांसद छानिने बेला यो क्लस्टरबाट विजय सुब्बामात्र छानिए ।

यी हुन् ५ भाग्यमानी !

पार्टी फेरेर भए पनि यसपटक सांसद बन्न सफल केही भाग्यमानी नेता पनि छन् । दलहरुले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाए पनि आयोगले घोषणा गरिसकेको छैन ।

विनोद चौधरी

०६४ सालमा नेकपा एमालेबाट सभासद चयन भएका विनोद चौधरी यसपटक नेपाली कांग्रेसबाट सांसदको सिफारिसमा परेका छन् । उनी प्रतिनिधिसभा चुनाव हुनुभन्दा केही समयअघि कांग्रेस प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसको आर्थिक समृद्धि उपसमितिमा संयोजकसमेत भएका छन् । पार्टी फेरेर भए पनि सांसद बन्न सफल उनी भाग्यमानी उद्यमी बनेका छन् ।

गंगा चौधरी सत्गौवा

दाङकी गंगा चौधरी सत्गौवा थरुहट तराई पार्टीको तर्फबाट दोस्रो संविधानसभामा समानुपातिक सांसद थिइन् । पछि उनलाई पार्टीले कारबाही गरेपछि थारुहट तराई लोकतान्त्रिक पार्टीको नाममा अर्को पार्टी दर्ताको प्रयास गरे पनि असफल भइन् ।

उनी संसद सदस्य हुँदैमा नयाँ शक्ति पार्टीमा प्रवेश गरिन् । यसवर्षको निर्वाचनमा उनी प्रतनिधिसभा समानुपातिकतर्फ नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दुबैको सूचीमा परिन् । अन्तत उनलाई एमालेले सांसद बनायो ।

मोती दुगड

०६४ सालमा नेपाल सदभावना पार्टी आनन्दीदेवीबाट सांसद बन्न सफल ब्यापारी मोती दुगड यसपटक नेकपा एमालेबाट सांसद बन्न सफल भए । पहिलो संविधानसभामा सद्भावना आनन्दीदेवीबाट चयन भए पनि २०७० सालसम्म उनले त्यो पार्टी छाडिसकेका थिए ।

त्यतिबेला आफ्नै अध्यक्षतामा नवनेपाल निर्माण पार्टी गठन गरेर संविधानसभा चुनावमा भाग लिए पनि उनको पार्टीले जम्मा ४ हजार मत भन्दा पाउन सकेनन् । अन्तत उनले संसद सदस्य हुने भोक एमाले प्रवेश गरेर मेटाए ।

एमालेले यसपटक संसदमा ५ जना पुरुष पठाउन पाउनेमा एकजना उनी पनि भाग्यमानी ठहरिए । उनी एमालेको समानुपातिक सूचीमा मधेसी क्लस्टरबाट पहिलो नम्बरमै थिए ।

सूर्यबहादुर केसी

०६४ सालमा राप्रपाबाट सांसद बनेका सूर्यबहादुर केसी यसपटक पार्टी फेरेरै भए पनि सांसद बने । पोखराका उद्योगपति उनी नेपाली कांग्रेसको खस आर्य पुरुष क्लस्टरको पाँचौ नम्बरमा परेका थिए । निर्वाचन आयोगमा समानुपातिकतर्फको सांसदको नामावली बुझाउँदा कांग्रेसले उनको पनि नाम बुझाएको छ ।

कुमार खड्का

आदिवासी जनजाति आन्दोलन चलेका बेला क्षेत्री समाज नेपालको नामबाट आन्दोलन गरेका कुमार खड्काले दोस्रो संविधानसभा निर्वाचनमा अखण्ड नेपाल पार्टीबाट समानुपातिक निर्वाचन पद्धतिमा चुनाव लडे । उनको पार्टीले एक सिट पायो, जसमा आफै छानिए ।

माओवादीले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग मिलेर सरकार बनाउँदा उनी महिला बालबालिका तथा समाजकल्याण मन्त्री पनि बन्न सफल भए । थ्रेसहोल्डका कारण उनी पनि ठूलो रुखको छहारी लाग्न पुगे । कांग्रेसले प्रतिनिधिसभा नराखे पनि प्रदेशसभा ४ को समानुपातिक सूचीमा राख्यो । त्यहाँबाट उनी प्रदेशसभा सांसद छानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment