Comments Add Comment

मेयर कप महिला भलिबलको उपाधि एपीएफलाई

उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी

१ फागुन, चितवन । प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

मंगलबार चितवनको पटियानीमा सम्पन्न फाइनल खेलमा शिवम् न्यू डायमण्ड एकेडेमी काठमाडौंलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

पहिलो सेटमा प्रतिस्पर्धात्मक २९-२७ को जित हात पारेको एपीएफले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो । उपाधिसँगै एपीएफले २ लाख रूपैयाँ नगद पुरस्कार र दोस्रो भएको न्यू डायमण्डले १ लाख रुपैयाँ पाएको छ ।

तेस्रो स्थान नेपाल पुलिस क्लबले हात पारेको छ । नेपाल आर्मीलाई २५-१६, २५-१९ र २५-२० को सोझो सेटमा पराजित गर्दै पुलिसले ५० हजार रुपैयाँ जितेको छ । नेपाल आर्मीले २५ हजार रुपैयाँ पुरस्कार पायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भएकी छन् । उनले नगद १० हजार रुपैयाँ पाइन् । न्यू डामयण्डकी प्रतिभा माली वेष्ट स्पाइकर र कृपा अधिकारी वेष्ट सर्भर भएकी छन् ।

नेपाल पुलिसकी कमला पुन वेष्ट सेटर, एपीएफकी उषा विष्ट वेष्ट ब्लकर, एपीएफकी मनिषा तामाङ वेष्ट डिफेन्डर र आर्मीकी निरुता ठगुन्ना नयाँ प्रतिभाशाली खेलाडीका रुपमा पुरस्कृत भएका छन् । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।

विजयी टिम र खेलाडीलाई नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

भरतपुर महानगर वडा नम्बर २२ को आयोजनामा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल आयोजना भएको थियो । बंगलादेशको इफ्टा र भारतको हरियाणा पुलिस क्लबसहित प्रतियोगितामा ७ वटा टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment