Comments Add Comment

शिव-पार्वती र सती सावित्रीको भेलेन्टाइन

सन् तेस्रो शताब्दीका सैनिक सेवामा रहेका एक व्यक्तिको नाम पादरी सेन्ट भेलेन्टाइन हो । उनले तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिकहरुलाई प्रेमिकासित गरिने प्रेम र विवाहलाई कडा रुपमा गरिएको निषेधाज्ञालाई खुल्ला विरोध गरे । सम्राट्ले सैनिकहरुले पे्रम र विवाह गर्नु भनेको धर्म विरुद्ध हो भन्ने मान्यताका विरुद्ध भेलेन्टाएनले सार्वजनिक स्थानमा सेनाहरुको विवाह गराए ।

यही कारण इशाको २०७० फेब्रुवरी १४ का दिन भेलेन्टाइनलाई मृत्युदण्ड दिएको घटनासित भेलेन्टाइन र वा प्रेम दिवसका रुपमा नेपालमा पनि सुरु भएको देखिन्छ । तर, नेपालीहरुलाई नै संसारको सर्व प्राचीन पूर्वीय सभ्यता,धर्म र संस्कृतिमा निहित उदात्त तथा उन्नत चेतको सर्वप्रचीन प्रेम वा प्रणयलाई कत्ति पनि नबुझेको देखिन्छ र ती पश्चिमा संस्कृतिका पछि लहैलहैमा लागेर आफ्नो मौलिक पक्ष भुल्दै गएको विषयचाहिँ धेरै चिन्ताको विषय हो ।

वैदिक सनातन धर्म र संस्कृति तथा सभ्यतामा यो संसारले नै अनुकरण र अनुशरण गर्नु पर्ने प्रेमका अद्भूत पक्षहरु विद्यमान छन् । सर्वभूतेषु आत्मवत् अर्थात् सम्पूर्ण प्राणी जगत्लाई आफ्नू आत्मा सरह मान वा माया गर, उपनिषद्मा वनस्पतिमा पनि प्राणतत्व हुन्छ भनिएको छ, जसलाई विज्ञानले धेरै पछि प्रमाणित गर्‍यो । द्यौ शान्ति…आदि मन्त्रोच्चारण गरेर यो धर्ती,यो आकाश,जल,जमिन तथा समग्र पर्यावरण प्रतिको अद्भूत पे्रम पूर्वीय संस्कृति र सभ्यताका आधार ग्रन्थहरुमा सगर्व उल्लेख गरिएको छ ।

सती सावित्रीले आफ्ना मृत पतिलाई यमराजसित जुधेर र खोसेर ल्याएको प्रशंग रहेको छ । ५ हज्जार वर्ष पुरानो संस्कृति र सभ्यता संसारको सर्व प्राचीन सभ्यता हो । पश्चिमा सभ्यता, संस्कृति, धर्म र परम्पराको इतिहास २५ सय वर्षअघि भन्दा बढी जाँदैन ।

अनुसन्धानबाट यही पुष्टि भएको छ । संसारमा सबैभन्दा पुरानो धर्म, संस्कृति र समृद्ध परम्परा हुँदाहुँदै पनि हामी नै यसबाट राम्ररी परिचित छैनौं कि भनेजस्तो छ ।

हामी हाम्रै संस्कृति र सभ्यताका उदात्त पक्ष र प्रसंगहरुलाई समयमै चिरिहेका छैनौँ । यस समृद्ध संस्कृतिलाई धर्मका नाममा कि हामीले पूजा गर्न मात्र जान्यौँ कि लुकाएर राख्यौँ अनि अनेक खालका आडम्बरी प्रवृत्तिका कारण उपेक्षा जस्तै गरेर राख्यौँ ।

मातृ देवो भवः अर्थात् आमालाई देवता सरह मान वा सम्मान गर भनिएको छ । यो उदात्त चेतना संसारमा सबैभन्दा पहिलो पूर्वीय सभ्यतामा उल्लेख भएको हो ।

तर, अहिले पनि हामी पूर्वीय संस्कृतिभन्दा धेरै पछिको मदर्स डे भनेपछि हत्ते हालिरहेका छौँ । शिव र पार्वतीको विवाह वा प्रेमलाई संसारकै उदाहरणीय सर्व प्राचीन भनिन्छ, तर हामी पश्चिमा भेलेन्टाइनका पछि आँखा चिम्लेर लागिपरेका छौँ ।

संस्कृति कुनै पनि देशको महत्वपूर्ण मौलिक गुदीदार पक्ष हो, यही कुनै पनि देशको मूल परिचय हो । मानवका जन्मदेखिका सबै संस्कारहरु देश,जाति,भूगोल र विश्वासका आधारमा अनेक हुन्छन् । तिनमा रहेका सकारात्मक पक्षहरुको जगेर्ना गर्दै तिनलाई समयानुकूल परिष्कार र परिमार्जन गर्दै जानुपर्छ । तर, संस्कृतिका नाममा सबै र सधैँ पश्चिमा संस्कृतिको अन्धदास हुनुहुँदैन ।

विवाह नर–नारी वा युवा–युवतीबीचको प्रणय हो । यो मानव संस्कृतिको अत्यन्त महत्वपूर्ण र सामान्यतया अपरिहार्य पक्ष पनि हो । यसखालको प्रक्रिया समग्र जीव, जीवन तथा जगतको नैसर्गिक पक्ष हो ।

यसलाई मानव संस्कृतिभित्रको अत्यन्त महत्वपूर्ण संस्कार विधिअन्तर्गत राखिन्छ । आदिम अवस्थादेखि हालसम्मको यो मानव सभ्यतामा विवाहसम्बन्धी अनेक पद्दतिहरु स्थापित, परिमार्जित तथा पुनर्निर्मित तथा विकसित हुँदै गएको पाइन्छ ।

दास प्रथा, सामन्ती, पुँजिवादी र समाजवादी आदि हरेक चरणहरुमा विवाहसम्बन्धी मान्यताहरु अनेक देखिन्छन् । पूर्वीय वा वैदिक सनातन वा हिन्दू धर्म र संस्कृतिले पनि विवाह सम्बन्धमा आआफ्नै खालका आदर्शहरु स्थापित गरेको देखिन्छ ।

विगत कालमा जे जस्ता सामाजिक सांस्कृतिक अवस्था थिए, त्यहीअनुसार विवाहसम्बन्धी मान्यता स्थापित र विकसित बने । तिनलाई धारे हात लगाएर सराप्नु भन्दा त्यस कालखण्डको त्यो सामाजिक चेतनाअनुसार निर्मित संस्कार र संस्कृतिको समीक्षा गर्दै अबको दुनियाँमा यसमा के कस्ता सुधार र परिमार्जन गर्नुपर्छ भन्ने कुराचाहिँ सबैभन्दा अहं सवाल हो ।

हिन्दू संस्कार अनुसार गरिएका गरिएका विवाह परम्परामा पनि सकारात्मक पक्ष रहेको देखिन्छ । तिनलाई समग्र निषेध गर्ने अद्वन्द्ववादी तरिका किमार्थ अपनाउनु हुँदैन । निषेधको निषेधले पनि सकारात्मक पक्षको संरक्षण र सम्बर्धन गरेर समुन्नत अवस्थातिरको यात्रा सुरु गर्नुपर्छ भन्छ ।

पत्नीलाई अर्धाङ्गिनी भन्नु, दुई आत्माको मिलन भन्नु, अर्धनारीश्वर जस्ता सकारलाई स्वीकार पनि गर्नुपर्छ । जतिखेर एकनिष्ठ विवाह प्रचलनमा आएको थियो त्यहीबेला दास प्रथा प्रचलनमा थियो । तथापि सुन्दर दासीहरु प्रायः स्वामी पुरुषका सम्पत्ति मानिन्थे । यति लामो अन्तरालमा पनि एकनिष्ठ वा एकपत्नी विवाहमा अहिले पनि विगतको विसङ्गति अझै विद्यमान छ । मुखले एकनिष्ठ भन्ने, अनि यसैका आधारमा पतिव्रता धर्मको वकालत गर्ने तर पत्नीव्रताको कुरै नउठाउने प्रवृत्ति रहेको छ । यस विवाहलाई मातृसत्ताको पराजय र पितृ सत्ताको विजयका रुपमा पनि हेर्ने गरिएको छ ।

तर, समयको परिवर्तनसितै सामन्ती तथा पुँजिवादी समाजका कारण अनेकखालका असमानता, अन्याय, अनाधिकारहरुलाई घटाउँदै र हटाउँदै गएको देखिन्छ । यसका लागि पहिलो विषय महिला र पुरुषका बीच विद्यमान असमानता हटाउने शिक्षाको कुरा थियो । माक्र्सवादी दृष्टिकोणका आधारमा यसखालका अनेक असमानताहरु हटाउँदै जाने वैचारिक सैद्धान्तिक उद्घोष सुरु हुन थाल्यो ।

यही विचार र मान्यताले समाजमा प्रभाव फैलाउँदै गयो । यसमा समाजवादी सोचका महिलाहरु समानताको हकका लागि संघर्षरत हुनाको परिणाम अहिले महिलाहरुले नेपालमा नै पनि पुरुषसरह समान अधिकार पाउने अवस्था सुरु भएको देखिन्छ ।

यसैका प्रभाव, प्रेरणा वैचारिक प्रहारबाट बालविवाह, अनमेल विवाह, बहुविवाह लगायत अनेक खालका असमानता र चरम विभेदहरु घट्तै छन् र क्रमशः हट्ने अवस्थामा रहेको देखिन्छ । तर, पनि नेपालमा अहिले पनि १८ औँ शताब्दीका अवशेषहरु पनि विद्यमान छन् भने पुरुषसरह पूर्ण समानताको अवस्था पनि सुरु हुन थालेको देखिन्छ ।

कुनै पनि समाजलाई आमूल परिवर्तन गर्ने मूलभूत पक्ष संस्कृति हो । समाज परिवर्तनसँगै तदनुसार स्वस्थ्य,समुन्नत,समानतावादी र वैज्ञानिक संस्कृतिको आरम्भ र विकास नगरी कुनै पनि समाज समग्रमा परिवर्तित हुन सक्तैन ।

कम्युनिष्टहरुले भनेझैँ समाजको उपरि संरचनामा मात्र परिवर्तन भएर हुँदैन । यसको आधारभूत संरचनामा पनि बदलाव अपरिहार्य हुन्छ । सामन्तवादी सांस्कृतिक अवशेषमा रमाएर संघीय लोकतन्त्रिक गणतन्त्र सुदृढ हुन सक्तैन ।

त्यस्तै पश्चिमा पुँजीवादी साम्राज्यवादी विकृतिमा रमाएर उन्नत, सुखी र समृद्ध समाज किमार्थ निर्माण हुनसक्तैन । मनका मैलाहरुले समाजलाई आन्तरिक रुपमा सुकिलो बनाउन सक्तैनन् ।

खोटी मन, मस्तिष्क, चिन्तन र चरित्रबाट सग्लो र सुन्दर समाज निर्माण हुनै सक्तैन । त्यसैले समाजको गुणात्मक फड्को मार्ने विवाह जस्ता समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्कृति र संस्कार जस्ता विषयहरु सर्वोपरि महत्वको विषय हो ।

हामी नेपाली समाजमा छौँ । विवाहसम्बन्धी मान्यता परिवर्तन गर्दा समाजमा कलात्मक हस्तक्ष्ोपका साथ मात्र गर्नुपर्छ । अनि सकेसम्म सबैको अपनत्व बोध हुने गरी र सबैको प्रत्यक्ष वा परोक्ष समर्थन हुने गरी गर्दा आम मानिसको मानसिकता तदनुसार बन्न सक्छ र रुपान्तरण अझ सहज हुन्छ ।

त्यसैले अहिले समाजवादी देशहरुमा सरकारको सम्बन्धित निकायमा गएर विवाह दर्ता वा रजिष्ट्रेसन गर्ने चलन व्यापक देखिन्छ । तर त्यसपछि पनि केही न केही अन्य पारिवारिक वा सामजिक मैत्री खालका भेटघाट, चिया नास्ता तथा भोजहरु होलान् नै ।

नेपालमा पनि परम्परालाई पूरै निषेध गरेर विवाहको परिपाटी अपनाउने कि तिनका रहेका सकारात्मक पक्षहरुलाई ग्रहण गर्दै कलात्मक हस्तक्ष्ोप गरेर अघि बढ्ने भन्ने अहं सवाल पनि देखिन्छ । समाजभन्दा धेरै अघि बढ्दा पनि एक्लो हुने डर अनि समाजभन्दा धेरै पछि हुँदा पनि एक्लो हुने डर देखिन्छ । तर, समाजसित हातेमालो गर्दै अझ समाजलाई पनि साथै लिएर अघि बढियो भने सांस्कृतिक रुपान्तरणमा सहज हुने र यसमा सफल हुन सकिने देखिन्छ ।

नेपाली विवाह परिपाटीमा केही सुधार परिमार्जन वा आमूल परिवर्तन गर्ने प्रक्रियाहरु धेरै अघि सुरु नभएका होइनन् । तर, आम र अधीक जनसमुदायले स्वीकार्ने खालको विवाह परम्पराका लागि सम्वन्धित सरोकारका विषय, विधा, क्षेत्र र विज्ञ क्षेत्रहरुले गम्भीर अध्ययन गरेर साझा बिन्दु पहिल्याउनु जाति हुन्छ ।

विवाह दुई जन, परिवार, मनोविज्ञान, सामाजिक र सांस्कृति र आर्थिक भौतिक अवस्थाका बीचको मिलन हो । मन मिलेपछि उपर्युक्त विषयले प्रभाव पार्दैन पनि भनिन्छ ।

तर, धेरै कुराहरु विचारेर मात्र विवाहको सम्बन्ध स्थापित गर्दा अनावश्यक समस्याहरु नआउन सक्छन् । विवाहका नाममा अनावश्यक र अतिवादी आम गतिविधि र कर्महरुलाई सकेसम्म संक्षिप्त र सरल गर्ने पर्छ । अझ यस्ता कुराहरु समाजका अगुवाहरुबाट नै सुरु गर्नु समाजका लागि शिक्षाप्रद पनि हुन्छ ।

पानी र बानी माथिबाट नै आउँछ । हामी बिग्रिएको चाहिँ हामा अगुवाहरुले बेठीक व्यवहार गरेका कारण नै हो । बहुजातीय, बहुसांस्कृतिक नेपालमा विवाहका विषयमा केही न केही फरकहरु हुन्छन् । तर, यो एउटा खुसीको संस्कार हो ।

त्यसैले सानो नै भए पनि प्रतिनिधिमूलक समाजलाई साक्षी राखेर स्वस्थ्य, सरल, शिष्ट मनोरञ्जनका साथ बर बधू, दुई परिवारका बीच परिचय, प्रण वा प्रतिज्ञासहित स्वल्पाहारसहित विवाह गर्नु र त्यसलाई स्थानीय राजकीय निकायमा विधिवत् दर्ता गर्नु अहिलेको उचित विवाहको अस्थायी समाधान हुनसक्छ ।

शिव र पार्वतीलाई वैदिक सनातन संस्कृति, सभ्यता र धर्मका दुई भिन्न तर एकीकृत बिम्बका रुपमा लिइन्छ । यस लेखमा चाहिँ दुवैलाई वर र बधुका बिम्बका रुपमा लिइएको छ । शिव र पार्वतीको प्रेम र विवाहको बहुआयामिक अर्थ आशय र सन्दर्भ निहित रहेको छ ।

शिव र पार्वतीले पनि विवाहको सुखद् अवसरमा आफ्ना निकटतम नन्दीभृङ्गी लगायतलाई त्यस बेलाको स्वल्पाहार अवश्यै गराए होलान् । यस खुसियालीमा केही न केही रामरमिता पनि भए होलान् ।

सुखका बेला हाँसो, उमङ्ग र खुसी अनि दुःखका बेला रोदन, शोक र अवसाद मानवीय नैसर्गिक स्वाभाव हो । नयाँ सांस्कृतिक सार प्रवाह गर्न पनि केही न केही सामाजिक र सास्कृतिक गतिविधि अपरिहार्य हुन्छ । सामन्तवादले आफ्नो वर्गीय हितको सांस्कृतिक मान्यतालाई मानवीय हर गतिविधिसित जोड्छ ।

खाँदा औसानी हालेर मन्त्रोच्चारण गर्छ गराउँछ । बिहान सखारै उठ्ता कराग्रे वसते लक्ष्मी …..श्लोक पढाउने संस्कार विकसित गरेको छ । समगमा र सारमा भाग्यवाद र पुर्पुरोवादमा अभ्यस्त बनाउँछ ।

नवसंस्कृतिका संवाहकहरुले अनेक जात, धर्म, भूगोल, संस्कृति र समुदायका समग्र नेपालीलाई जोड्ने नवीन खालको अभ्यासका साथ नवीन संस्कार समाजमा प्रवाहित गर्न सके मात्रै विवाह सम्बन्धी युगान्तकारी पक्षहरु प्रभावकारी हुनेछन् ।

यसखालका वैवाहिक परम्परालाई विकसित गर्न सकियो भने तमाम नेपालीका बीचको एकता जैविक एकताका रुपमा स्थापित भएर एकताको जगैदेखि बलशाली हुने छ । यसलाई व्यवहारमा उतार्न कठिन भए पनि असम्भव चाहिँ छैन ।

हिमाल, पहाड र तराई मधेसका नाममा हामीहामीमा हरतरहले फाटो ल्याउने प्रवृत्ति विरुद्धको यो एउटा अत्यन्त शक्तिशाली काम र कदम हुने निश्चित छ ।

आजको जस्तो हाम्रो सामाजिक, सांस्कृतिक तथा जातीय सम्प्रदायिक समाजमा शिव र पार्वतीको विवाहको महान् अर्थ निहित छ । यो विवाह भिन्न संस्कृति, जाति, धर्म, नश्ल र समुदायका बीचको जैविक एकताको प्रतीक हो ।

यसखालको गौरवशाली पक्ष र प्रसंगलाई बिर्सिएर भेलेन्टाइनका पछि आँखा चिम्लँदै दगुर्ने नेपाली समाजका प्रतिनिधि पात्रहरुलाई सम्झाउन जरुरी छ ।

उनीहरुलाई समेत आवद्ध गरेर हामीले आधुनिक विवाहको उपक्रमलाई व्यापक बनाउन सक्यौँ भने सुनमा सुगन्ध हुने देखिन्छ । यस्ता कामले नेपालीहरुका बीच अनेकतामा एकता, आत्मीयता तथा परस्पर घनिष्ट मैत्री सम्बन्ध स्थापित र सुदृढ बनाउने देखिन्छ ।

(लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment