२ फागुन, काठमाडौं । देउवा सरकारले आजै राजिनामा दिने खबरको आडमा बुधवार सेयर बजार परिसूचक नेप्से बढेको छ ।
कारोबार सुरुभएदेखि घट्ने क्रममा रहेको बजार समाचार आएसँगै करिब दुई बजेबाट उकालो लाग्न थाल्यो ।
‘आजको बजारको वृद्धिमा नितान्त राजनीतिक कारण छ,’ नेपाल सेयरलगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने । बजार राजनीतिक कारणले बढेको भएपनि सरकारबाट आधिकारिक धारणा नआउदासम्म बजारको वृद्धि टिकाउ नहुने उनको भनाई छ ।
‘सरकारले बजारलाई कसरी हेर्छ भन्ने सार्वजनिक हुन जरुरी छ, यसले बजारमा लगानीकर्ताको मनोविज्ञान बढाउछ,’ उनको कथन छ । त्यस्तै, सरकारले पुँजी बजार बिकासको लागि सहजीकरण गर्नुपर्ने तर्क पनि उनको छ ।
हाल राष्ट्र बैंकले बैंकहरुलाई प्राथमिक पुँजीको आधारमा सेयर कर्जामा ४० प्रतिशतमात्र लगानी गर्न सक्ने व्यवस्था गरेकोले यसमा संशोधन गर्नुपर्ने, यसरी जारी हुने कर्जा भुक्तानीमा समस्या आएमा बैंकहरुले यसको लागि एक सय ५० प्रतिशतसम्म जोखिम भारित व्यवस्था गर्नुपर्ने व्यवस्थालाई पनि सुधार गर्नुपर्ने संघको तर्क छ ।
यसअघि बैंकहरुले प्राथमिक पुँजीको शत प्रतिशतसम्म कर्जा दिन सक्ने र जोखिमको रुपमा शतप्रतिशत प्रावधान राखे पुग्ने व्यवस्था गरेको थियो । त्यस्तै, हाल सेयर धितोको मूल्यको ५० प्रतिशत बराबरमात्र कर्जा दिन सकिने व्यवस्थामा समेत अध्ययन गरेर राष्ट्र बैंकले स्वेत पत्र जारी गर्नुपर्ने संघको धारणा छ ।
सरकारले यस्ता नीतिमा ध्यान नदिने हो भने तत्कालको वृद्धि टिकाउ नहुने र यसको लाभा ठुला लगानीकर्ताहरुले मात्र लिन भ्याउने उनको जिकिर छ ।
१३ सय ७६ सम्मको न्युन बिन्दुबाट बढ्न थालेको नेप्से परिसूचक बुधवार १३ सय ८८ बिन्दुसम्म पुग्यो । कारोबार रकम बढेर ३८ करोड पुगेको छ । एक सय ५५ कम्पनीको सेयर कारोबार भएकोमा तीन समूहको परिसूचक मात्र घटेको छ ।
प्रतिक्रिया 4