Comments Add Comment

‘प्लान-बी’मा कुलमानः कम बिजुली खपत गर्ने मोटर र पंखा अायात

खरिद-बिक्रीको जिम्मा टेन्डरबाट छानिने कम्पनीलाई


४ फागुन, काठमाडौं । माग व्यवस्थापन गर्न विद्युत् प्राधिकरणले कम ऊर्जा खपत गर्ने पंखा र पानी तान्ने पम्प ल्याउँदैछ । त्यसबाट करिब तीन सय मेगावाट माग घटाउने प्राधिकरणको योजना छ ।

र, उक्त योजनाको नाम दिइएको छ, ‘इनर्जी इफिसिएन्सी प्रोग्राम’ । प्राधिकरणको जिम्मेवारी सम्हालेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् व्यवस्थापन गर्न उक्त कार्यक्रम अगाडि सारेका थिए ।

प्राधिकरण सञ्चालक समितिको १० माघको बैठकले कम विद्युत् खपत गर्ने पंखा र पम्प आयात गराउने निर्णय गरेको थियो । सोहीअनुसार कम्पनी छनोटको प्रक्रिया अगाडि बढाइएको छ । र, ग्लोबल टेन्डरको तयारी भइरहेको छ ।

प्राधिकरणका सञ्चालक चेतराज जोशीका अनुसार छनोटमा पर्ने कम्पनीले वितरण केन्द्रहरुमार्फत् पंखा र मोटर बिक्री गर्नेछन् ।

पहिलो वर्षका लागि दुई लाख पंखा र दुई हजार पम्प ल्याउने योजना छ, प्राधिकरणको । पहिलो वर्षमै करिब तीन सय मेगावाट माग घटाउन सकिने निष्कर्ष कार्यकारी निर्देशक घिसिङको छ ।

पहिलो प्रयासमा ठेस

यसअघि प्राधिकरणले कम विद्युत् खपत गर्ने एलईडी बल्ब ल्याउने योजना बनाएको थियो । तर, त्यसको आलोचना भएपछि कार्यकारी निर्देशक घिसिङ पछाडि हटेका थिए ।

एलईडी बल्ब खरिद योजनाविरुद्ध परेको मुद्दा अहिले पनि सर्वाेच्च अदालतमा विचाराधीन छ । उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो ।

तर, मुद्दा टुंगो लागिसकेकोे छैन । एलईडी बल्ब खरिदमा प्राधिकरण अगाडि बढ्न पनि सकेको छैन । आफैंले ठूलो परिमाणमा बल्ब खरिद गरेर ग्राहकलाई बिक्री गर्ने प्राधिकरणको योजना थियो ।

‘प्लान-बी’मा प्राधिकरण

यसपटक भने पंखा र मोटर खरिद-बिक्री दुवै प्रक्रियामा प्राधिकरण सहभागी हुने छैन । प्रचार-प्रसार र बिक्री स्थलको व्यवस्थापनमा मात्र प्राधिकरणको संलग्नता रहने जोशी बताउँछन् ।

 तीन सय मेगावाट भार घटाउने योजना कार्यान्वयनमा ल्याउन ग्लोबल टेन्डरको तयारी

ग्लोबल टेन्डरमार्फत् तीन वटा कम्पनी चयन गर्ने प्राधिकरणको योजना छ । ‘कम मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने कम्पनी चयन हुनेछ,’ जोशी भन्छन्, ‘ती कम्पनीलाई प्राधिकरणले वितरण केन्द्रमा सामान बिक्री गर्ने ठाउँ उपलब्ध गराइनेछ ।’

विद्युत् खपत घटाउने ‘प्लान-ए’ असफल भएपछि ‘प्लान-बी’मा गएको हो, प्राधिकरण ।

अति भार पर्ने समयमा विद्युत् व्यवस्थापन अहिले पनि कठिन छ । नयाँ ठूला आयोजनाहरुको निर्माण सकिएको छैन । सोही कारण सुख्खायाममा बिजुली व्यवस्थापन चुनौतीपूर्ण छ ।

गर्मीयाममा पंखाको अत्यधिक प्रयोग हुने भएकाले माग धान्न हम्मे पर्छ, प्राधिकरणलाई । कम ऊर्जाबाट चल्ने पंखा ल्याउने योजना बनाउनुको कारण पनि त्यही हो ।

शहर/बजारमा पानी तान्ने पम्पको पनि अत्यधिक प्रयोग हुने गर्छ । सुख्खा र वर्षा दुवै याममा त्यस्ता पम्पको प्रयोग अत्यधिक छ । र, पानी तान्ने मोटर नै कम ऊर्जा खपत गर्ने प्रयोग हुँदा माग व्यवस्थापन सहज हुने कार्यकारी निर्देशक घिसिङको बुझाइ देखिन्छ ।

चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आगामी वर्षको हिउँदसम्ममा सञ्चालनमा आउँदैछ । तर, सुख्खायाममा उक्त आयोजनाबाट एकतिहाइ मात्रै विद्युत् उत्पादन हुन्छ । र, अन्य ठूला आयोजना सञ्चालनमा नआउन्जेल विद्युत् खपत कम गर्ने उपाय खोज्नुको विकल्प पनि प्राधिकरणसामु देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment