Comments Add Comment

दर्शकको मायाले फिल्ममा फर्किने शक्ति दियोः श्वेता खड्का

‘हुन त उहाँलाई कुन पल नै मैले बिर्सिन सकेकी छु र,’ भावुक मुद्रामा अभिनेत्री श्वेता खड्काले भनिन्, ‘तर, हिजोआज उहाँको अभाव झन् बेसी महसुस गर्दैछु ।’

उनको कुरा गर्दै थिइन् स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको । साढे तीन वर्षअघि विवाहलगत्तै श्वेता पतिवियोगमा परेकी थिइन् । सो दुखान्तपछि निकै विक्षिप्त बनेकी उनलाई सामान्य अवस्थामा आउन लामो समय लाग्यो ।

यो बीचमा उनलाई फ्यानहरुले सोध्ने एउटै प्रश्न हुन्थ्यो, अब तपाईं कहिले फिल्ममा फर्किने ? उनलाई जवाफ दिन गाह्रो थियो ।

‘त्यतिबेला मलाई फेरि पहिलेजस्तै फिल्ममा अभिनय गर्न सकुँला र जस्तो लागेको थियो,’ श्वेता भन्छिन्, ‘तर, दर्शकहरुको मायाले मलाई शक्ति दियो ।’

साढे तीन वर्षको अन्तरालपछि श्वेता फिल्ममा फर्किएकी छिन् । उनको कमब्याक फिल्म ‘कान्छी’ आजबाट देशभरका हलहरुमा चढेको छ । त्यसैले यतिबेला उनले पति श्रीकृष्णलाई अति मिस गरिरहेकी छिन् ।

यसअघि श्वेता श्रीकृष्णसँग मिलेर ‘कोहीनुर’ निर्माण गरेकी थिइन् । सो फिल्म प्रदर्शनको छेकोमा श्रीकृष्णको मृत्यू भयो । उनको निधनपछि फिल्म हेर्न दर्शकहरु ओइरिए । तत्कालिन समयमा फिल्मले व्यापारको नयाँ किर्तिमान कायम गरेको थियो ।

अहिले कान्छी निर्माण गर्दा भने श्वेता एक्लै थिइन् । सबैतिर आफैं दौडिनुपर्‍यो उनले । पैसाको जोहोदेखि पब्लिसिटीसम्ममा ।

श्वेता सम्झिन्छिन्, ‘त्यसबेला फिल्म निर्माणको सबै जिम्मेवारी उहाँले सम्हाल्नुहुन्थ्यो, म सहयोगी मात्र थिएँ । उहाँको त्यो मिहिनेत र जुझारुपन सम्झेर प्रेरणा लिइरहेकी छु ।’

फिल्मको ट्रेलर र गीत–संगीतले पाएको प्रतिक्रियाबाट श्वेता उत्साहित छिन् । ‘चरी चट्ट परी भुरुरु’ बोलको गीतले यूट्यूवमा एक करोडभन्दा बढि भ्यूज पाएको छ ।

फिल्म निर्माणमा झण्डै २ करोड लगानी भएको उनले जानकारी दिइन् ।

‘हामीले मेकिङमा कुनै पनि सम्झौता गरेका छैनौं, त्यसैले लगानी उच्च हुन पुग्यो,’ श्वेताले भनिन् ।

उनलाई आफ्नो लगानी डुब्ला भन्ने डर छैन । किनकी कान्छीले ओभरसिज राइट, डिजिटल राइट र ब्रान्ड पार्टनरबाटै ठूलो रकम उठाइसकेको छ ।

कान्छीमा दर्शकले के नयाँ पाउँछन् भन्ने प्रश्नमा श्वेता भन्छिन्, ‘यो असाधारण विषयबस्तुमा बनेको अभूतपूर्व फिल्म होइन । हाम्रै गाउँले जनजिवनको वास्तविकतामा आधारित फिल्म हो । हामीले दर्शकको मनोरञ्जनका लागि फिल्म बनाएका हौं । मनोरञ्जनका साथमा यसले सामाजिक सन्देश पनि दिनेछ ।’

चलचित्रका केही कुराहरु आफूहरुले सेक्रेट राखेको र दर्शकहरु हलमा हेरेपछि मात्रै थाहा हुने भनेर पनि उनले लोभ देखाइन् ।

फिल्मसँगै श्वेताका अन्य व्यवसायहरु पनि छन् । हामी सोध्यौ, अरु व्यवसाय र फिल्म निर्माणमा के फरक पाउनुहुन्छ ?

उनले जवाफ दिइन्, ‘अरु व्यवसायबाट पैसा मात्रै कमाइन्छ । फिल्मबाट दर्शकको माया पनि कमाइन्छ । तर फिल्म निर्माण अरु व्यवसायभन्दा धेरै नै चुनौतिपूर्ण छ ।’

के कान्छीले कोहिनुरको इतिहास दोहो¥याउला त भन्ने प्रश्नमा श्वेताले इमान्दार जवाफ दिइन् ।

उनले भनिन्, ‘कोहिनुर फिल्म चल्दाको सिचुयसन अर्कै थियो । अहिले त्यस्तो छैन । तर, पनि कान्छी हेर्न दर्शकहरु हलसम्म आउनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

श्वेताले दर्शकलाई आफू हिम्मत गरेर अगाडि बढेको भन्दै साथ दिन दर्शकलाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment