Comments Add Comment

मुहारमा खुशीयाली ल्याउने महाअभियान


नेपाली जनताको संघर्षबाट निरंकुश जहानियाँ शासनको अन्त्य भई प्रजातन्त्र प्राप्त भएको २००७ साल फागुन ७ गतेको गौरवमय एवं ऐतिहासिक दिनको उपलक्ष्यमा म सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु । २००७ सालको ऐतिहासिक परिवर्तनका लागि जीवन अर्पण गर्ने अमर योद्धाहरु एवं त्यसपछिको विभिन्न समय क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र, न्यायपूर्ण, समृद्ध र समुन्नत नेपाल राष्ट्रको निर्माणका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै लोकतन्त्रात्मक पद्दति, मूल्य मान्यता र आदर्शप्रति समर्पित भई जीवन उत्सर्ग गर्नु हुने प्रजातन्त्र सेनानीहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

विभिन्न कालखण्डमा खोसिएको नेपाली जनताको अधिकारको पुनस्र्थापना, ०४६ एवं २०६२/६३ को दुःख, कष्ट, संघर्ष र बलिदानी आन्दोलन तथा नेपाली जनताले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने प्रेरणा २००७ फागुन ७ बाटै प्राप्त भएको हो ।

आज जनतामा निहीत सार्वभौमसत्ता, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताका प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ ।

तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौं । नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको छ ।

दशकौंदेखिका राज्यका केन्द्रीकृत संरचनाहरुलाई संघीयताको ढाँचामा ७ प्रदेश, ७५३ स्थानीय तह सहितको शासकीय पद्दतिमा ढाल्ने कार्य अगाडि बढेको छ । तीनवटै तहका सरकारहरुले आ–आफ्ना अधिकारका सीमा र सम्वन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको सुरुवात भैसकेको छ । सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत “सुखी नेपाली र समृद्ध नेपाल” को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको छ ।

जनतामा निहीत सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अबको हाम्रो कार्यदिशा हुनेछ । हाम्रो शासकीय मूल्य मान्यता, संविधानले अंगीकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवं बढोत्तरी गर्ने समय आएको छ ।

मुलुकको विकास, प्रगति र समृद्धिको लागि आ–आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न स्वदेश तथा विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई म हार्दिक आह्वान गर्दछु ।

विभिन्न आरोह अवरोध पार गर्दै, प्रतिकुल अवस्थामा तत्कालीन निरंकुश शासकहरु र व्यवस्थालाई परास्त गर्दै हामी आजको दिनसम्म आइपुगेका छौं । हामीले प्राप्त गरेको समय सापेक्ष संविधानको कार्यान्वयन निरपेक्ष विकासबाट सम्भव छैन । अब जनताको चाहनाबमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु हुने उद्घोष पनि म यसै समारोहबाट गर्न चाहन्छु । यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता र सहयोगको हार्दिक आह्वान गर्दछु ।

म सबै राजनीतिक दलहरु र आम नेपाली जनतासँग साझा संकल्प गर्दै राजनीतिक परिवर्तनको युगबाट मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको युगको यात्रा सँगसँगै शुभारम्भ गर्न हातेमालोका लागि अपिल गर्दछु । नेपाली जनताले युगौ देखि साँचेका सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने सुवर्ण अवसर हामीलाई प्राप्त भएको छ । यस अवसरमा प्राप्त ऐतिहासिक अभिभारा पूरा गर्न समयमै स्रोत र साधनलाई परिचालन गरी नेपाल र नेपाली जनताको बृहत्तर हित र समृद्धिका लागि जुट्न म सबैलाई पुनः आव्हान गर्न चाहन्छु ।

अन्तमा, प्रजातन्त्रको सुनौलो उपहार नेपाली जनतालाई प्रदान गर्न प्राण उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति पुनःएकपटक श्रद्धा सुमन प्रकट गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।

(प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment