Comments Add Comment

तेक्वान्दो खेलाडीहरुलाई संयुक्त सम्मानसहित बिदाई

७ फागुन, फुजेरा । छैटौं फुजेरा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८ मा सहभागी ११ जना नेपाली खेलाडीहरुलाई यहाँ क्रियाशील नेपाली सामाजिक संस्थाहरुले संयुक्त बिदाई तथा सम्मान कार्यक्रम गरेका छन् ।

फागुन ४-६ मा आयोजना भएको उक्त प्रतियोगितामा ३३ देशहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल प्रहरीका निमा गुरुङ र सुमित्रा खत्रीले कास्यपदक जितेका छन् ।

खुल्ला प्रतियोगिता भएका कारण ब्यक्तिगत खर्चमा सहभागिता जनाएर नेपालको झन्डा फुजेराको सरकारी रंगशालामा फर्फराउदै पदक समेत हासिल गरेको कदर स्वरुप संयुक्त सम्मान तथा बिदाई गरिएको कार्यक्रमका सभापति कुल क्षेत्रीले जानकारी दिएका छन् ।

नेपाल तेक्वान्दो संघमा आबद्ध विभिन्न क्लब र समुहबाट सहभागी ११ जना खेलाडीहरुलाई अबिर पहिराउदै मायाको चिनोका रुपमा सबैलाई उपहार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य प्रकट गर्दै प्रवासी नेपाली मञ्च फुजेराका अध्यक्ष उत्तम थापाले खेलाडीहरु देशका गहना भएको कारण आफ्नै एरियामा आएका देशको प्रतिनिधि खेलाडीहरुलाई सम्मान गर्नु सबै नेपालीहरुको कर्तव्य भएको प्रतिक्रिया दिएका थिए ।

आफूहरुले रोजगारी गरिरहेको भूमिमा खेल प्रतियोगितामा सहभागी भएर सबै नेपालीहरुको सान बढाएकोमा आभार प्रकट गर्दै नेपाली जनसम्पर्क समिति फुजेराका अध्यक्ष कृष्ण गिरिले यहाँ जागीरको ब्यस्तताका बीच उल्लेख सामाजिक संस्था मिलेर अनुकरणीय कार्यक्रम गर्ने वातावरण बनेकोमा खुशी व्यक्त गरेका थिए ।

खेलाडी सम्मान तथा बिदाई कार्यक्रममा सहभागी सबै सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, ब्यावसायीहरु, खेलाडीहरु र सर्वसाधारण नेपाली श्रमिकहरुलाई आयोजकको तर्फबाट एनआरएनए आरसिसि फुजेराका प्रथम उपाध्यक्ष सेर सुनारले स्वागत गरेका थिए ।

सम्मान तथा बिदाई कार्यक्रमलाई सफल बनाउन सहज वातावरण निर्माण गर्ने एनआर ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक सुजन सापकोटाले फुजेरामा सक्रिय सामाजिक संस्था एकताबद्ध भएर खेलाडीहरुलाई बिदाई गर्न पाउँदा गौरवको अनुभुती भएको बताए ।

उनले सहकार्यका लागि उपयुक्त वातावरण फुजेरामा बनेकोमा कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सक्रिय ब्यक्तीहरुलाई धन्यवाद प्रकट गरे ।

सम्मानित खेलाडीहरुको प्रतिनिधित्व गर्दै टिम म्यानेजर चक्र थापाले फुजेराका नेपालीहरुको एकता र भब्य सम्मानले आफुहरु अत्यन्तै खुशी भएको र खेलको माध्यमबाट देशको नाम उच्च पार्न अझ प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।

सरकारले वास्ता नगरे पनि रोजगारीको सिलसिलामा बिदेशिएका नेपालीहरुले सम्मान गरेकोमा सबै आयोजक संस्थाहरुप्रती आभार व्यक्त गर्दै मुख्य प्रशिक्षक रोसन खानले यो प्रतियोगितामा भाग लिनु मात्रै पनि गौरवको विषय भएको र आगामी सातौ अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा गायक राम सापकोटाले एकएक गित र गजल प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन गराएका थिए ।

फुजेरामा सक्रिय सामाजिक संस्थाहरु एनआरएन, प्रवासी नेपाली मञ्च, नेपाली जनसम्पर्क समिति, स्याङ्जा सहयोग समाज, झापाली समाज, अर्घाखाँची सम्पर्क समितिका क्षेत्रीय पदाधिकारीहरुको उपस्थिति थियो ।

फुजेरामा कार्यरत नेपाली ब्यवसायी संस्थाहरु नमस्ते रेस्टुरेन्ट, नासर सैलुन र फाइभ स्टार लाउन्द्रीले संयुक्त बिदाई तथा सम्मान कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए ।

कार्यक्रममा विशेष अथितिका रुपमा एनआरएन युएईका केन्द्रीय सदस्य सागर लुइँटेल, झापालि समाज फुजेरा क्षेत्रीय समिति सल्लाहकार संयोजक खगेन्द्र कट्वाल उपस्थित थिए ।

एनआरएन फुजेराका सचिव राज न्यौपानेले संचालन गरेको कार्यक्रममा आयोजक संस्थाका रुपमा एनआरएन फुजेराका अध्यक्ष विरेन्द्र खडका लगायतका अन्य पदाधिकारीहरु, प्रवासी नेपाली मञ्चबाट अध्यक्ष उत्तम थापा, सचिब मेघराज कंडेल, जनसम्पर्क समितिबाट अध्यक्ष कृष्ण गिरिका साथमा लक्ष्मण पौडेल, कृष्णप्रसाद पौडेल, झापाली समाजबाट अध्यक्ष काशीनाथ कार्कीका साथमा उपाध्यक्ष गोपाल भण्डारी, सल्लाहकार प्रमुख खगेन्द्र कट्वाल, अर्घाखाँचीबाट अध्यक्ष मुकेश पन्थी सहभागी भएका थिए ।

त्यसरी नै फुजेरामा रहेका नेपाली व्यावसायिक संस्था नमस्ते रेस्टुरेन्टबाट सुजन सापकोटा, फाइभ स्टारबाट राज न्यौपाने र नासर सैलुनबाट सेर सुनारले सहभागिता जनाएर नेपाली खेलाडीहरुलाई संयुक्त रुपमा सम्मान तथा बिदाई गरेका थिए ।

सम्मानित हुने तेक्वान्दो खेलाडीहरुमा मुख्य प्रशिक्षक रोसन खान, प्रशिक्षक राजकुमार पांडे, टिम म्यानेजर चक्र थापा, खेलाडीहरुमा जयदेव पौडेल, बिनोद थापा, दिपेन्द्रबहादुर नेपाली, रिमान महर्जन, निमा गुरुङ, सुमित्रा खत्री र ज्यास्मिन गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment