Comments Add Comment

प्रधानमन्त्रीमा पालो प्रणाली लगाउनु हुँदैन : माधव नेपाल

७ फागुन, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।

पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् ।

‘एउटै पार्टी भए पछि के को पालो पालो ? आलोपालो प्रधानमन्त्री बन्यो भन्ने ब्यूरोक्रेसीले कुरा मान्छ ?’ सोमबार रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले भने ‘त्यस्तो सहमति भएको हो भने त्यो मलाइ थाहा छैन । यस्तो कुराहरु बाहिर बोल्नु हुदैन, पालैपालोको गीत गाउने बेला होइन ।’

बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने उनले बताएका छन् ।

नेता नेपालले पार्टी एकीकरण पछि दुई जना अध्यक्ष बन्ने अवस्था आए पनि दुवै जनालाई सहअध्यक्ष राख्न सकिने धारणा राखे । अन्य देशमा यस्तो अभ्याससमेत रहेको बताउदै उनले दुवै जनालाई अवधि तोकेर पार्टी सञ्चालनको जिम्मा दिन सकिने बताए ।

नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने नेता नेपालले बताए ।

स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रौतहटमा पार्टीले व्यहोरेको हारको आफूहरुले समीक्षा गरिरहेको बताउँदै उनले पार्टीलाई थप बलियो बनाउन आवश्यक काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment