Comments Add Comment

भारतबाट नरुचाइएका केपी ओलीलाई सुझाव

आज म विधिवत कम्युनिस्ट आन्दोलमा प्रवेश गरेको ४० वर्ष भयो । कम्युनिस्ट आन्दोलनमा प्रवेश भएको ३८ वर्षपछि कमरेड केपी ओली २५ असोज ०७२ मा प्रधानमन्त्री बन्नु भयो । उहाँ नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रीको जिम्मेवारी प्राप्त गरें ।

कमरेड केपी ओलीको सरकारलाई आफैं गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अविश्वासको प्रस्ताव राखेका थिए । उक्त प्रस्तावले उठाएका प्रश्नहरुमाथि १९ साउन ०७३ मा रोस्ट्रममा उभिएर केपी ओलीले प्रत्युत्तर दिँदै गरेको तस्बिर अहिले मेरो मानसपटलमा फिल्मी शैलीमा आउँदै-जाँदै गर्छ ।

प्रत्युत्तर दिँदै गर्दा उहाँको सौम्य व्यक्तित्व, अटल, दृढ निष्चय, अविचलित अडान, राष्ट्र र जनताप्रतिको जिम्मेवारीवोधको भावना, राष्ट्रको सार्वभौमिकता, अखण्डताप्रतिको सम्मान, राष्ट्रप्रतिको चट्टानी अडान, स्वाभिमान, नेपाली जनताप्रति अटल विश्वास, लोकतन्त्र र मानवअधिकारप्रतिको सम्मान, नेपाल र नेपालीबीच एकता, सद्भाव र नेपाली जनताको ओठमा हाँसो तथा विभेद र विपन्नताबाट राष्ट्रलाई मुक्ति प्रदान गर्ने अठोटको सारगर्भित अभिव्यक्ति मेरा अगाडि ताजै छन् ।

राजीनामापछि नयाँ सरकार बन्ने संवैधानिक अड्चनलाई समेत बाधाअडकाउ फुकाऊमार्फत् संवैधानिक तवरले नयाँ सरकार बन्ने मार्ग प्रशस्त गर्दै राजीनामा दिने व्यक्तित्व आज पुनः नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ ।

यसबीचमा विपक्षी दलको नेता र नेकपा एमालेको अध्यक्षको हैसियतले संविधानको रक्षा र कार्यान्वयनमा स्पष्ट अडान राख्नु भयो । अनुचित समयमा गरिने संविधान संशोधनको मुद्दालाई सदनमार्फत् असफल गराउनु भयो ।

संवैधानिक संकटको अन्त्य, स्थिर र स्थायी सरकारको निर्माण, राष्ट्रिय एकता र अखण्डताको रक्षा, स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्रसहितको समृद्ध नेपाल बनाउने अठोटसहित संयुक्त वामपन्थी गठबन्धन बनाई एउटै घोषणापत्रमार्फत् निर्वाचन लडेर दुई सय ७५ सिटको प्रतिनिधि सभामा एक सय ८४ सिट जितेर बहुमतको समर्थनसहित पुनः ४१औं प्रधानमन्त्री बन्नुभएको छ ।

नेपाली जनताले केपी ओलीलाई भारतीय नाकाबन्दी र अनुचित दबाबको अस्त्रलाई निकम्मा सावित गर्ने, नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षक, पहरेदार तथा नेपाल र नेपालीको स्वाभिमानको प्रतिकका रुपमा सम्झेका छन् ।

आफ्नो भावनाको प्रवक्ता ठानेका छन् । सुगौली सन्धि र भारतसँग भएको १९५० को कथित शान्ति र मैत्री सन्धि तथा विभिन्न कालखण्डमा भएका वाणिज्य, व्यापार सन्धिहरुले नेपाल भूपरिवेष्ठित राष्ट्र नभएर भारतवेष्ठित राष्ट्र बनाइएको थियो । चीन भ्रमणका क्रममा चीनसँग व्यापार, पारवहन सम्झौता गरेर भूपरिवेष्ठित राष्ट्रले पाउने निर्वाध अधिकार स्थापना गर्ने राष्ट्रवादी व्यक्तित्वका रुपमा चिनिनु भएकोछ ।

नेपालमा संविधान बनाउन नदिने षडयन्त्रलाई परास्त गर्ने, हिमाल, पहाड, तराईको अन्तरसम्बन्ध र अन्तरनिर्भरताबाट अलग गर्न चाहने तत्वलाई पराजित गर्दै सामाजिक सद्भाव र एकतालाई जोगाइराख्ने योद्धाका रुपमा स्थापित हुनुभयो ।

पराईको एजेनडामा संविधान संशोधन गर्ने गराउने । नागरिकतामार्फत् आदिवासी नेपालीलाई आफ्नै देशमा अल्पसंख्यक बनाउने । अंगीकृत नागरिकलाई राष्ट्रको बागडोर बुझाउने । नेपाली भाषा र भाषीलाई कमजोर बनाउने । सिमानाको हेरफेर गर्ने प्रावधानसहित सदनमा पेश भएको देशद्रोही संविधान संशोधनको मुद्दालाई सदनबाट असफल बनाउने व्यक्तित्व केपी ओली तीन करोड नेपाली जनताको ढुकढुकी बनेर आएका छन् ।

अपवादलाई छाडेर ००७ सालको परिवर्तनदेखि लगातार दक्षिणी छिमेकीको खटन र इशारामा चल्ने प्रधानमन्त्रीहरु नेपालले बेहोर्दै आएको थियो । हरेक पटक प्रधानमन्त्री फेरिँदा भारतीय निम्तोको अपेक्षा राख्दै सत्तासिन हुने राष्ट्रिय परम्परा नै बनेको छ ।

आज केपी ओली प्रधानमन्त्री भइरहँदा भारतीय अनुमोदन लिन भारत धाउने सामन्ती संस्कृतिको अन्त्य गर्न आँट पनि उहाँले राख्ने विश्वास स्वाभिमानी नेपाली जनताले गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेका बेला नेपालको अर्थतन्त्र अत्यन्त धरापमा छ । तत्कालीन देउवा सरकारले यो सरकारलाई आर्थिक बोझ हुने धेरै निर्णय गरेको छ । आर्थिक सूचकांक ओरालो लागेको छ । राष्ट्रिय ढुकुटी रित्तो छ । व्यापार घाटा अतुलनीय छ । महँगीको इनिडकेटर बढेको छ । बेरोजगार युवाको संख्या वृद्धि भएको छ ।

श्रमशक्ति दिनानुदिन विदेश पलायन भएको छ । अर्थतन्त्रमा अहिले पनि सामन्ती शोषण र दलाल नोकरशाही पुँजीवादीको वर्चश्वमा कायम छ । व्यवहार त दलाल पुँजीपति र कमिसनखोरका कारण नेपालको राजनीतिक नेतृत्व प्रभावित छ । सरकार र मन्त्रीलाई यसले लतार्ने उत्तिकै सम्भावना छ । कर्मचारीतन्त्र बासी, मनोबल गिरेको, पहलकदमी नलिने असहयोगी छ । कानुन, नियमावली र निर्देशनलाई सिरानमा राखेर काम अड्काउन खप्पिस छ ।

नेपालको प्रशासन, अर्थतन्त्र र परराष्ट्र नीति सेटिङमा चलेको छ । देशका विद्यमान यी बेथितिहरुलाई अन्त्य गरेर आमुल परिवर्तन ल्याउने चुनौति तपाईसँग छ । यसका भुक्तमान स्वयम् तपाईं हुनुहुन्छ ।

वैदेशिक सहायता, वित्तीय संस्थाले दिने ऋण अनुदान प्रायोजित छ । उनीहरुको निहित स्वार्थ, शर्तमाथि शर्त थपेर सम्झौता गर्ने कर्मचारीतन्त्रमा उनीहरुको छुट्टै सेटिङ हुन्छ । वार्ता र सम्झौता गर्न जाँदा तयारी नगरी जाने । दाताले जे भन्छ त्यसैमा सही गर्ने । त्यसबाट कर्मचारीले आफ्नो स्वार्थ पूरा गर्ने संस्कृति हाबी छ ।

अझ भारत सम्बन्धमा गरिने सम्झौता आदिजस्ता विषयमा त कर्मचारीतन्त्र उनीहरुकै प्रवक्ता बन्ने प्रवृत्ति नेपालको प्रशासनमा छ । यसबाट मुलुकलाई मुक्त गर्ने आशा र विश्वास तपाईंसँग जनताले गरेका छन् ।

सार्वजनिक खरिद ऐन, पुँजीपति, दाता, ठेकेदार र कर्मचारीतन्त्रलाई बलियो बनाउने किसिमको छ । सरकारको हात बाँध्ने काम ऐनले गरेको छ । शीघ्र विकासका लागि यसको तत्कालै संशोधन गरिनुपर्छ । आजसम्म राष्ट्रिय गौरवका आयोजना वा अन्य दातृ निकायको सहयोगमा बनेका अर्थात् सरकारी बजेटमा निर्माण भएका आयोजना, ठेकेदार, दाता, कन्सल्टटेन्ट र आयोजना प्रमुखको मिलेमतोमा काम नहुने, ढिला सुस्ती हुने, अतिरिक्त रकम माग गर्ने प्रचलन छ ।

एउटै अयोजनामा धेरै ठेकेदार हुने अनि समन्वयको अभावमा काम समयमा नहुनेजस्ता क्रोनिक रोग नेपालको विकासका बाधक हुन् । यसको सुधार र परिवर्तन चुनौतिपूर्ण छ । यसको अतिरिक्त कुनै पनि आयोजनाको गुणस्तरीय स्टिमेट र डिजाइन नहुने हचुवा ठेक्का लगाउने अनि डिजाइन परिवर्तन गर्नेजस्ता बदनियतपूर्ण कार्य नेपालको विकासमा बाधक छन् ।

यसको गुणस्तर सुधार, मूल्यांकन, अनुगमन, विकासमा सुशासन र भ्रष्टाचारमुक्त विकास आयोजना बनाउन चुनौतिको सम्बोधन तपाईंसँग जनताले गरेका छन् ।

भूकम्प पुनर्निर्माण अझै हाम्रो चुनौति हो । स्पष्ट नीति कार्यान्वयनमा देखिएको अस्पष्टता, ढिलासुस्ती, पटक-पटक फेरिने कार्यकारिणी, दाताको असहयोगमुखी रवैया, ऐन र नियमावलीको झण्झट, व्यक्तिगत घर निर्माणमा दिइने अनुदानको कागजी र प्राविधिक प्रक्रिया नै आवास र सार्वजनिक भवन निर्माणमा बाधक छ । यसमा पुनर्विचार गरी छिटो छरितो र पारदर्शी योजना बनाई अगाडि बढ्ने जनताको अपेक्षा हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्झौता, पक्ष राष्ट्र भएका सन्धि सम्झौताले सिर्जित थप दायित्व पूरा गर्ने अभिभारा सरकारमा हुनु स्वाभाविकै हो । त्यस्ता कतिपय दायित्व नेपालका आप\mना साधन स्रोत र जनशक्तिले धान्न नसकिने खालका पनि छन् ।

त्यसको कार्यान्वयन एक जटिल चुनौति हो । नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउने विषय भएकाले त्यसको सम्बोधन गर्नु जरुरी छ । दिगो विकास लक्ष्य २०१५-२०३०, जलवायु परिवर्तनसम्बन्धी दस्तावेजहरुलाई सम्बोधन गर्नु जरुरी छ ।

त्यसबाट नेपाली जनताको न्यूनतम जीवनमा समेत परिवर्तन ल्याउन सक्छौं । यसको सम्बोधनका लागि विशेष व्यवस्थासहितको संयन्त्र बनाउने र कार्यान्वयन गर्ने अपेक्षा अन्तर्राष्ट्रिय जगतको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति, मुलुकको गरिबी, विपन्नता, पछाडि पारिएका समूदाय, महिला, दलित, पिछडा वर्ग, आदिवासी, जनजाति सबैको अधिकार र पहिचानको रक्षा, जगेर्ना र उसको अत्यावश्यक आधारभूत विषय गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा तपाईं नेतृत्वको सरकारले प्रत्याभूति दिनेछ ।

निर्वाध लोकतान्त्रिक अधिकारको प्रयोग हुनेछ । सामुदायिक हित, प्रेस स्वतन्त्रता सहज ढंगले उपयोग हुनेछ । मानवीय श्रद्धा र संवेदनशीलताको जगेर्ना हुने विश्वास तपाईंसँग छ । तपाईंको नेतृत्वको सरकारमा कोही भोका नांगा, शिक्षा, स्वास्थ्य र आवासको आधारभूत सेवाबाट वञ्चित हुने छैनन् । संविधानले प्रत्याभूति गरेका मौलिक हक जनताले निर्वाध रुपमा उपभोग गर्न पाउने छन् ।

नेपाल सार्वभौमसत्ता सम्पन्न अखण्ड राष्ट्र हो । तर पनि, यो अझै औपनिवेशिक थिचोमिचो र विस्तारवादी शोषणबाट मुक्त छैन । आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक शोषण जरासम्म विषझैं फैलिएको छ ।

नेपाललाई दबाबमा राख्ने, घेराबन्दी गर्ने, नाकाबन्दी गर्ने, फकाउने र धम्क्याउने, एक्ल्याउने गतिविधि दक्षिणको छिमेकीबाट तपाईंले भोग्नु भएकै हो । उनीहरुको भनाइमा तपाईं नरुचाइएको व्यक्ति हो । तपाईंले अपार जनसमर्थन प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा राष्ट्रवादी जनपक्षीय राजनेताको छवि बनेको छ । यसलाई कायम राख्न अझ उज्वल राष्ट्रिय नक्षत्रका रुपमा राष्ट्रको छवि बनाउने र मुलुकको छवि र ख्याति जन-जनसम्म पुर्‍याउने अवसर तपाईंको काँधमा छ ।

हिजो संयुक्त वाम गठबन्धनले तयार गरी जनताको बीचमा सार्वजनिक गरेको चुनावी घोषणापत्र र त्यसमा प्राप्त जनअनुमोदन नै हाम्रो मार्गदर्शन हो । यी मार्गदर्शन पूरा हुने अपेक्षा राष्ट्रले लिएको छ । यी मुद्दाको सम्बोधन र कार्यान्वयन तपाईंको जिम्मेवारी हो । ती जिम्मेवारी पूरा गर्न तपाईंको सफलता राष्ट्र, जनता र पार्टी सबैको सफलता हो । यी नै विश्लेषणको साथ तपाईंको कायकालमा मुलुकले आर्थिक समृद्धि र राष्ट्रिय समृद्धि प्राप्त गर्न सकोस् । यही अपेक्षा, बधाई, शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment