Comments Add Comment

प्रधानमन्त्रीमा आलोपालो, अध्यक्षता पालैपालो !

महाधिवेशनपछि जबजको नाम फेरिन सक्ने

फाइल फोटो

७ फागुन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ५ वर्ष आलोपालो प्रंधानमन्त्री चलाउने भद्र सहमति भएको छ । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका छन् ।

प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एगि्रमेन्ट’ का रुपमा मात्रै लिइने शीर्ष नेतृत्वमा सहमति भएको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

सोमबार बिहान प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टु वान’ वार्तापछि पार्टी एकताको विषय टुंगो लागेको हो । यसअघि आइतबार दुई नेतावीच करिब ५ घण्टा छलफल भएको थियो ।

दुई नेतावीच पार्टी एकताको मोडालिटीमा सहमति भएसकेकाले आजै साँझ बालुवाटारमा बस्ने एकता संयोजन समितिको बैठकले यसलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुने बताइएको छ ।

प्रधानमन्त्रीमा आलोपालोः नभन्ने, तर गर्ने !

केपी ओली र प्रचण्डवीच नेतृत्वका विषयमा सहमति भएको खबर आएपछि हामीले एमाले उपाध्यक्ष वामदेव गौतमसँग सम्पर्क गरेर सोध्यौं- प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ?

पार्टी एक भइसकेपछि को प्रधानमन्त्री बन्ने, को मन्त्री बन्ने भन्ने पार्टीले नै टुंगो लगाउँछ । अहिले एकता संयोजन समितिले केपी ओलीलाई सरकारमा पठाउने निर्णय गरेको छ – वामदेव गाैतम

जवाफमा एमाले नेता गौतमले धेरै कुरा गर्दा बिग्रने बताए । तर, उनले प्रधानमन्त्रीमा आलोपालोमा गर्ने सहमति भएको होइन भन्न सकेनन् । नेता गौतमको जवाफ अलिकति घुमाउरो पाराको थियो ।

‘पार्टी एक भइसकेपछि को प्रधानमन्त्री बन्ने, को मन्त्री बन्ने भन्ने कुराको टुंगो पार्टीले लगाउँछ’ नेता गौतमले अनलाइनखबरसँग भने, ‘अहिले एकता संयोजन समितिले केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय गरेको छ, भोलि एकीकृत पार्टीले यसबारेमा कुनै पनि निर्णय गर्न सक्छ, त्यो सामान्य कुरा हो ।’

सरकारको नेतृत्वबारे पार्टीले गर्ने निर्णयलाई आलोपालोका रुपमा बुझ्न नहुने एमाले उपाध्यक्ष गौतमको भनाइ छ ।

यसैवीच, प्रत्येक वर्षको फागुन ७ गते हुने साइकल दौड प्रतियोगितामा भाग लिन रौतहट पुगेका पूर्वप्रधानमन्त्री एवं एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री आलोपालो गर्ने विषय सार्वजनिक रुपमा भन्नु राम्रो नहुने प्रतिक्रिया दिएका छन् ।

यस्तो कुरा बाहिर बोल्नुहुँदैन, एउटै पार्टी भएपछि केको आलोपालो ? आलोपालो प्रधानमन्त्री बन्यो भने ब्युरोक्रेसीले मान्छ ?- माधवकुमार नेपाल

एमाले नेता नेपालले रौतहटबाट भने- ‘यस्तो कुराहरु बाहिर बोल्नु हुँदैन, पालैपालोको गीत गाउने बेला होइन ।’

एउटै पार्टी भइसकेपछि प्रधानमन्त्रीमा आलोपालोको सवालै नउठ्ने तर्क गर्दै एमाले नेता नेपालले अगाडि भने- ‘एउटै पार्टी भएपछि केको आलोपालो ? आलोपालो प्रधानमन्त्री बन्यो भने ब्युरोक्रेसीले मान्छ ?’

तर, माअाेवादी पक्षले भने अालोपालो प्रधानमन्त्रीकाे कुरा सहमतिपत्रमै उल्लेख गर्न जाेड गरिरहेकाे स्रोतले बतायाे ।

पार्टीको नाम नेकपा, अध्यक्षतामा आलोपालो

एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको नामबाट फुको हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्ने शीर्ष तहमा सहमति गरेका छन् ।

पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा मोटामोटी सहमति भएको भनिए पनि यसबारे अझै अन्तिम टुंगो लागिसकेको छैन र यसबारे एकता संयोजन समितिले राँटो मेट्ने नेताहरुको भनाइ छ ।

एउटा बैठकमा एकजना अध्यक्ष सिनियर हुने र अर्को बैठकमा अर्को अध्यक्ष सिनियर हुने गरी दुबैले पालैपालो अध्यक्षता गर्ने प्रारम्भिक सहमति भएको बताइएको छ

अध्यक्षबारे ओली र प्रचण्डवीच भएको लामो छलफलमा पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति भएको स्रोतले बतायो । एउटा बैठकमा एकजना अध्यक्ष सिनियर हुने र अर्को बैठकमा अर्को अध्यक्ष सिनियर हुने गरी दुबै अध्यक्षता गर्ने प्रारम्भिक सहमति भएको बताइएको छ ।

पार्टी अध्यक्षमा दुबैको समान स्टाटस रहनेमा सहमति भएकाले दुबैलाई को-चेयरम्यान -सहअध्यक्ष) भन्न सकिने सहमति भएको तर दुबैलाई नै अध्यक्ष नै बन्न पनि सकिने स्रोतले बतायो ।

बैठकमा आलोपालो अध्यक्षता गर्न दुबै नेताहरु सहमति भए पनि पार्टीका तर्फबाट हुने पत्राचारमा प्रचण्डको हस्ताक्षर चलाउने कि ओलीको भन्ने अझै अलमल रहेको स्रोतले बतायो ।

पार्टीका दुईजना सहअध्यक्ष रहने प्रचलन अन्तरराष्ट्रिय रुपमा पनि रहेको पाइन्छ । नेपालमै पनि विवेकशील पार्टी र साझा पार्टीवीच एकता हुँदा उज्जल थापा र रविन्द्र मिश्र दुबै सहसंयोजक थिए । तर, पनि असहज भएको भन्दै रविन्द्र मिश्रलाई संयोजक बनाइएको थियो ।

जबज र माओवाद के हुन्छ ?

पार्टी एकताको गाँठोका रुपमा रहेका वैचारिक- राजनीतिक प्रश्नहरु आगामी महाधिवेशनसम्म बहसका रुपमा लैजान दुबै नेताहरुवीच सहमति भएको स्रोतल बतायो ।

‘जबज र माओवादलाई आगामी महाधिवशेनसम्म छलफलमा लगेर टुंग्याइने छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘जबजको सारवस्तुमा माओवादी पनि सहमत छ, यसको नाम के राख्ने भन्नेमात्र बहसको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment