Comments Add Comment

रमिला हत्या प्रकरण : २६ दिनपछि कोशीमा भेटियो शव

१३ चैत, विराटनगर । मोरङको बेलबारीबाट बेपत्ता भएकी रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

रमिला फागुन १७ गते शुक्रबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको हत्या आरोपमा पक्राउ परेका नेकपा मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा रमिलाको शव खोजिरहेको थियो । तर, भेटाउन सकेको थिएन ।

मोरङका प्रहरी प्रमुख मनोज केसीले शव शंकास्पद भएकाले पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइको बताए । ‘कोशी नदीमा शव भेटिएपछि पोष्टमार्टमका लागि पठाउँदैछौं,’ उनले भने ।

गुरुङले गत फागुन १७ गते शुक्रवार मध्यरातमा २६ वर्षीया राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेपछि प्रहरीले कोशी ब्यारेज केन्द्रित भएर शवको खोजी गरेको थियो । प्रहरीका अनुसार रमिला गुरुङकी प्रेमिका हुन् ।

रमिला बेपत्ता भएको उजुरी आएपछि अनुसन्धानका क्रममा प्रहरीले फागुन २४ गते गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । गुरुङले रमिलाको हत्या गरेको स्वीकार गरेपनि शव नभेटिएकोले उनलाई अपहरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो ।

गुरुङले रमिलाको हत्या गरेर बा१५च ७९१६ नम्बरको आफ्नै कारमा राखेर शव कोशी ब्यारेज पुर्‍याएर फालेको बताएका थिए ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले गुरुङको बयानसँग मिल्दो जुल्दो अवस्थामै शव कोशी नदीमा भेटिएको बताए ।

उनका अनुसार गुरुङले बयानमा भने जस्तै बोरामा भेटिएको शव हातखुट्टा बाँधेको अवस्थामा कोशी ब्यारेजको सप्तरीतर्फको ५२ नम्बर ढोकामा भेटिएको हो ।

राई र गुरुङ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । मादक पदार्थ सेवन गर्दा विवाद भएपछि रमिलाको हत्या गरेको गुरुङले बयान दिएका छन् ।

रमिला बेपत्ता भएपछि गुरुङ्कै सल्लाहमा आफन्तले प्रहरीलाई खबर गरेर खोजीका लागि आग्रह गरेका थिए ।

सीसीटिभीले खुल्यो रहस्य

फागुन १७ गतेघरबाट निस्किएकी रमिला घर नआएपछि १८ गते आफन्तले योगेन्द्रलाई खबर गरेका थिए ।

१८ गते रमिलाको घर पुगेका गुरुङले प्रहरीलाई हुलिया र हराएको निवेदन लेख्न लगाए । उनले पनि प्रहरीलाई टेलिफोन गरी खोजी गरिदिन आग्रह गरे । तर, आफूमाथि अनुसन्धान केन्दि्रत हुन थालेपछि गुरुङ भागेर इलाम पुगे । पक्राउ परेपछि भने उनले हत्या गरेको स्वीकार गरे ।

श्रीमानसँग सम्बन्ध बिच्छेद गरी बसेकी रमिला गुरुङसँग नजिकिएकी थिइन् । रमिलाकी दिदीले गुरुङलाई टेलिफोन गरेर बहिनी हराएको भन्दा उनले फागुन १७ गते राति ११ बजे घरमै छाडिदिएको बताउका थिए ।

तर, ‘सीसीटिभी फुटेज’ हेरेपछि घटनाले बेग्लै मोड लियो । १७ गते राति ११ बजे घर आएको बताएका गुरुङको गाडी राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको सीसी क्यामेरामा देखियो ।

आफै हत्या गरी खोजे जस्तो गर्ने गुरुङको संलग्नता सीसीटिभी फुटेज विश्लेश्णका आधारमा खुलेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment