Comments Add Comment

हत्या गरी कोशीमा फालिएको शव खोज्दै प्रहरी

नेकपा नेताले गरे हत्याको स्वीकार

२७ फागुन, विराटनगर । युवतीको हत्या गरी शव सप्तकोशीमा फालेको घटना सार्वजनिक भएपछि प्रहरी टोली शव खोज्न सप्तकोशीको ब्यारेज केन्द्रित भएको छ ।

मोरङका नेकपा नेता योगेन्द्र गुरुङले गत फागुन १७ गते शुक्रबारदेखि बेपत्ता भएकी २६ बर्षकी रमिला राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेपछि प्रहरी टोली कोशी ब्यारेज केन्द्रित भएको हो ।

दुई दिनयता नेपाल प्रहरीको टोली डुंगासहित कोशी ब्यारेज केन्द्रित भए पनि शव भेटिएको छैन । एकसाता अघि फालिएको शव खोज्ने क्रममा शनिबार एउटा र आइतबार एउटा शव भेटिएको थियो ।

शनिबार सप्तरीसँगको सीमा क्षेत्रमा पुरुषको शव भेटिएको थियो भने आइतबार सुनसरीतर्फ अधबैसे महिलाको शव भेटिएको थियो । तर उक्त शव रमिलाको थिएन ।

हत्याको प्रमाण संकलन गर्ने क्रममा दुई दिन यता इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा प्रहरीले ज्यानको बाजी लगाएर ब्यारेजमा शव खोजिरहेका छन् ।

मोरङ प्रहरी प्रमुख मनोज केसीले पक्राउ परेका योगेन्द्र गुरुङले दिएको बयानका आधारमा सप्तकोशीमा प्रहरी टोलीले शव खोजिरहेको जानकारी दिए ।

बेलवारी नगरपालिका–४ कि राई गत फागुन १७ गतेदेखि बेपत्ता भएकी थिइन् । एकसाता लामो अनुसन्धानका क्रममा प्रेमीसमेत रहेका नेकपाका स्थानीय नेता गुरुङ पक्राउ परेका थिए ।

राईसँग फागुन १७ गते राति विवाद भएपछि हत्या गरी शव कोशी नदीमा फालेको भनी प्रहरीमा बयान दिएका गुरुङ आफै पनि प्रेमिका हराएको भन्दै खोजी गरिरहेका थिए ।

सीसीटीभीले खोल्यो रहस्य

फागुन १७ गतेघरबाट निस्किएकी राई घर नआएपछि १८ गते आफन्तले योगेन्द्रलाई खबर गरेका थिए । १८ गते युवतीको घर पुगेका गुरुङले प्रहरीलाई हुलिया र हराएको निवेदन लेख्न लगाए ।

उनले पनि प्रहरीलाई टेलिफोन गरी खोजी गरिदिन आग्रह गरे । तर आफूमाथि अनुसन्धान केन्द्रित हुन थालेपछि भागेर इलाम पुगे । इलाममै पक्राउ परेका उनले हत्या गरी शव फालेको स्वीकार गरेका हुन् ।

श्रीमानसँग सम्बन्धबिच्छेद गरी बसेकी राई गुरुङसँग नजिक थिइन् । बहिनी हराएको भन्दै रमिलाकी दिदीले टेलिफोन गर्दा गुरुङले फागुन १७ गते राति ११ बजे उनकै घरमा छाडिदिएको बताएका थिए ।

तर ‘सीसीटीभी फुटेज’ हेरेपछि घटनाले बेग्लै मोड लियो । १७ गते राति ११ बजे घर आएको बताएका गुरुङको गाडी राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको सीसीटीभीमा देखियो । गाडीमा शव राखेर सप्तकोशीमा फालेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment