Comments Add Comment

उत्तरी गोरखामा आकस्मिक हेलिकप्टर उद्धार सेवा सञ्चालन

उपचारका लागि महँगो रकम तिरेर चार्टर गर्नुपर्ने बाध्यता हट्यो

८ माघ, गोरखा । सडक सञ्जाल नपुगेको गोरखाको उत्तरी क्षेत्रलाई लक्षित गरी आकस्मिक हेलिकप्टर उद्धार सेवा सञ्चालन गरिएको छ ।

जिल्लाको दुर्गम हिमाली भेगका स्थानीयहरुलाइ आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ सेवा सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सेवा संचालन भएसँगै आकस्मिक उपचारका लागी महँगो रकम तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने स्थानीयहरुको बाध्यता हटेको छ ।

‘सडक सञ्जाल समेत नपुगेको उत्तरी गोरखामा आकस्मिक स्वास्थ्य सेवा नपाएर वर्षेनी बिरामीहरुको अकालमै ज्यान गइराखेको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुलीले भने, ‘आपतकालिन स्वास्थ्य सेवा दिनकै लागी यो सेवा सञ्चालन गरिएको हो ।’

हेलिकप्टर मार्फत सेवा दिए वापत लागतको २५ प्रतिशत खर्च बिरामीले तिर्नुपर्ने छ । उद्धार गरिएका बिरामीलाई नेपाल मेडिसिटी अस्पताल काठमाडौंबाट इमरजेन्सी उपचार सेवा निःशुल्क प्रदान गरिने पराजुलीले बताए ।

‘इमरजेन्सी वार्डमा बिरामीलाइ दिइने उपचार सेवा निशुल्क हुनेछ त्यस पछिका उपचार बिधिहरु बिरामी स्वंयमले गर्नुपर्ने छ,’ उनले भने ।
सेवा दिने हेलिकप्टरमा मेडिकल बेड, अक्सिजन लगायतका प्राथमिक उपचार किटको व्यवस्था हुने उनले बताए ।

आवश्यकता अनुसार स्टाफ नर्सको पनि व्यवस्था गरिने पराजुलीको भनाइ छ । गाप सामुदायिक जागरण समाज सँगको साझेदारीमा माउण्टेन चाइल्ड आईएनसीले उक्त सेवा सञ्चालन गरेको हो ।

जनस्वास्थ्य कार्यालयले भने आवश्यक निरिक्षण र अनुगमन गर्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक पराजुलीले बताए । ‘सेवा पाउनुपर्ने बिरामीले सेवा पाएका छन् की छैनन्, हेलिको दुरुपयोग भए नभएको हामी अनुगमन गर्छौ,’ उनले भने ।

हाल चुमनुव्री गाउँपालिकाको चार वटा वडामा यो सेवा संचालन हुदै आएको छ । सामा, ल्हो, गाप र बिहीमा सेवा संचालन हुदै आएको गाप सामुदायिक जागरण समाजका अध्यक्ष निमा दोर्जे लामाले बताए ।

सेवा लिनका लागि नुव्री उपत्यकामा सञ्चालित हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु सँग जुनसुकै बेला सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको लामाले जानकारी दिए ।

सडक सञ्जालको पहुँच नभएको उत्तरी गोरखाका सुत्केरी महिलाहरुको आकस्मिक उपचारका लागी नेपाल सरकारले निशुल्क रुपमा हेलिकप्टर चार्टर गर्दै आएपनि अन्य बिरामीले भने उपचारका लागी महँगो रकम तिरेर हेलि चार्टर गर्न बाध्य छन् ।

उक्त सेवा संचालन भएसँगै उत्तरी क्षेत्रका बिरामीहरुलाइ आकस्मिक स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

हाल चुमनुव्री गाउँपालिकाको चार वटा वडामा संचालन भइरहेको उक्त सेवा चुम्चेत र छेकम्पारमा पनि संचालन गर्न पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment