Comments Add Comment

साझा बसको नयाँ योजनाः अब चीनमा बनेका ठूला विद्युतीय बस

काठमाडौं महानगरको पनि साथ रहने

१२ फागुन, काठमाडौं । सार्वजनिक यातायातमा अर्को फड्को मार्ने गरी साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारीमा जुटेको छ । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले नै हो । र, अब विद्युतीय सार्वजनिक बस आयातको गृहकार्य थालेको छ ।

त्यसका लागि सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालिएको साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधर बताउँछन् ।

उनका अनुसार अहिले चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट दुई वटा विद्युतीय बस तत्काल ल्याएर सञ्चालन गर्नेबारे छलफल भइरहेको छ । त्यसमा चिनियाँ कम्पनी पनि इच्छुक देखिएको छ । ठोस सहमति जुटेमा साझाले केही महिनाभित्रै विद्युतीय बस भित्र्याउनेछ ।

‘कम्तिमा सन् २०१८भित्र हामी २/४ वटा इलेक्ट्रिक बस ल्याउने योजनामा छौं । तर, लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या छ,’ तुलाधर भन्छन्, ‘तर पनि, विभिन्न विकल्पमा छलफल अगाडि बढेको छ । सरकारले तत्परता देखायो भने नेपाल छिट्टै इलेक्ट्रिक बसको युगमा प्रवेश गर्छ ।’

वातावरणीय दृष्टिले इलेक्ट्रिक बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुवाँरहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययनहरुले देखाएका छन् ।

त्यसैले साझाले निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्ने उद्देश्यका साथ उक्त योजना अगाडि बढाएको हो । साझा यातायायातसँग अहिले काठमाडौं र ललितपुर महानगरपालिकाले सहकार्य गर्दै आएका छन् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य विद्युतीय बसमा जान साझाले देखाएको तत्परतामा आफ्नो पनि साथ रहने बताउँछन् ।

यस वर्ष मात्रै दुई महानगरले बस खरिदका लागि ६ करोड रुपैयाँ साझालाई सहयोग गरेका थिए । साझाले यस वर्ष एउटा सेमीफ्लोर बस ल्याइसकेको छ । थप २४ वटा सिटी बस खरिद प्रक्रिया थालेको छ । चार वटा डिलक्स बस भने तीन महिनाभित्रै आउँदैछन् ।

ती सबै आएपछि साझासँग ७५ वटा बस पुग्नेछन् । तीमध्ये ७१ वटा काठमाडौंभित्र शहरी बसका रुपमा सञ्चालन हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

अर्को आर्थिक वर्षभित्र साझाका बस सय वटा पुर्‍याउने गरी सहयोग गर्न आफूहरु तयार रहेको काठमाडौंका मेयर शाक्य बताउँछन् । ‘हामीले शहरमा साना माइक्रोको विकल्पमा ठूला बसको प्रबर्द्धन गरिरहेका छौं । अब इलेक्ट्रिक बस गुडाउन पनि के गर्न सकिन्छ भने हेर्दैछौं,’ शाक्य भन्छन् ।

प्रदुषणरहित शहरी वातावरणका लागि विद्युतीय बसलाई प्रोत्साहन महानगरको पनि योजनामा रहेको उनी बताउँछन् ।

विद्युतीय बसका लागि सहुलियत ऋण उपलब्ध गराउन साझाले सरकारसँग प्रस्ताव गरेको छ । पेट्रोल र डिजेल बिक्रीमा प्रदुषण करवापत उठिरहेको रकमलाई पनि यसमा लगाउन सकिने साझाको सुझाव छ ।

अहिले प्रदुषण करवापत सरकारले इन्धनमा प्रतिलिटर ५० पैसा संकलन गरिरहेको छ । त्यसवापत कबिर पाँच अर्ब रुपैयाँ सरकारी कोषमा जम्मा भइसकेको छ । खर्च भने हुन सकेको छैन ।

उक्त रकमलाई सरकारले नगरपालिकाहरु मार्फत् लगानी गरेर विद्युतीय बस खरिदमा प्रोत्साहन गर्न सक्ने साझाको सुझाव छ ।

अहिले भीआईपी सुविधासहितको विद्युतीय बसको मूल्य करिब दुई करोड रुपैयाँ पर्छ । शुरुमा महँगो पर्ने भए पनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद् तुलाधर बताउँछन् ।

‘ब्याट्रीमा १२ वर्षसम्मको ग्यारेन्टी पाइन थालेको छ । त्यसैले १०-१२ वर्षसम्म यो बसमा ठूलो खर्च लगाएर मर्मत नै गर्नुपर्दैन,’ तुलाधर भन्छन्, ‘यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुन्छ ।’

विस्तारै मुलुकमा विद्युतमा आत्मनिर्भरतातर्फ बढेको छ । र, पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुनेछ ।

चिनियाँ कम्पनी बीवाईडीका अधिकारीहरु काठमाडौंमा सम्भाव्यता अध्ययन गर्न नेपाल आउँदैछन् । सरकारले सहयोग गरेमा बीवाईडीसँगको सहकार्यमा ३-४ महिनाभित्रै इलेक्ट्रिक बस काठमाडौंमा चलाउन सकिने साझाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment