Comments Add Comment

देउवालाई पौडेलको चार पन्ने चेतावनी ! सोधे-यो कस्तो कुतर्क ?

'मैले भनेको मानेको भए कांग्रेस हार्ने थिएन'

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि गम्भीर प्रश्न उठाएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले लिखितरुपमै आफ्नो धारणा राख्दै देउवामाथि पार्टीलाई उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा पुर्‍याएको आरोप लगाएका छन् ।

पत्रको सुरुमा नै १३ औं महाधिवेशनलगत्तै आफूले भेटेर समूहको संरक्षक होइन, सिंगो कांग्रेसको बन्न आग्रह गरेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, तर, तपाई तयार हुनु भएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं ।’

पार्टीको सबै निकाय, भातृ संगठन अस्तव्यस्त रहेको भन्दै उनले पार्टी सभापति देउवालाई प्रश्न गरेका छन्, ‘तपाईले के गर्नुभयो ? एउटा काम तपाईले गर्नुभयो-आफ्नो गुटको भरणपोषण ।’

अघि भने, ‘हो तपाईको आफ्नो गुट मजवुद बन्यो होला तर, विचरा कांग्रेस झनझन दुर्वल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुठित !’

पौडेलले पार्टी सभापतिमाथि कम्युनिष्टलाई सत्ता सुम्पिएको र कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत जसभन्दा अपजसको भारी बनेको बताएका छन् । उनको प्रश्न छ, ‘समयमै किन नगरेको ?’

देउवाको नेतृत्वमा न पार्टी भल्यो न सरकार भन्दै पौडेलले विधान अनुसार प्रदेश अधिवेशन किन नगरेको, धनुषा जिल्ला कमिटीविहीन किन बनाइयो भन्ने प्रश्न पनि पार्टी सभापतिमाथि उठाएका छन् ।

हारको कारण- कांग्रेस कमजोर हुनु

पौडेलले आम चुनावमा कांग्रेस हार्नुको मुख्य कारण कांग्रेस अत्यन्तै कमजोर हुनु भएको बताएका छन् । कम्युनिष्ट गठबन्धन सहायक कारण मात्र भएको भन्दै उनले भनेका छन्, संघीयताको प्रारम्भीक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, सात मध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन । यसले पुष्टि गर्छ, कांग्रेस हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ ।’

कांग्रेस केन्द्र र प्रदेशमा प्रतिपक्षी भए पनि सरकारका गलत निर्णय सच्याउन दबाव दिने बल कांग्रेससँग नरहेको भन्दै उनले भनेका छन्, त्यस्तो अवस्थामा प्रतिपष निरीह भएर बस्नुपर्ने हुनसम्क्छ हुन्छ ।’

साथै चुनावमा जज्जास्पद हार व्यहोर्दा पनि सभापतिले नैतिक जिम्मेवारी नलिएको भन्दै पौडेलले व्यंग्य गर्दै भनेका छन्, ‘अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नु पर्ने हुन्छ ।’

चुनाव जित्ने कसरी ?

कांग्रेस वरिष्ठ नेता पौडेलले आईजीपी काण्डदेखि महाअभियोग प्रकरणबारे पनि सभापतिको आलोचना गरेका छन् । राजदूत नियुक्तिमा आफ्नो सुुझावलाई उपेक्षा गरेको भन्दै भनेका छन्, आईजीपी काण्डमा त्यस्तै गर्नुभयो, महाअभियोग प्रकरणमा लोकले के भन्ला भन्ने कुरा वास्तै गर्नु भएन ।’

जम्बो मन्त्रिपरिषद् बनाएर चरम वितिृष्णा फैलाएको पौडेलको निष्कर्ष छ । फिर्ता लिन बाध्य हुनु पर्ने नियुक्ति, महाअभियोग जस्ता प्रकरणले कांग्रेसको छवि नै ध्वस्त पारेको भन्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘अनि जनतामा हाम्रो लोकपि्रयता कहाँ पुग्यो ? हामीले चुनाव कसरी जित्नु ?

सार्वजनिक रुपमा विरोध गर्दा पार्टीलाई अप्ठ्यारो पर्छ भनेर चुप लाग्दा आफैंलाई नोक्सानी भएको उनले बताएका छन् ।

पौडेलले प्रतिनिधिसभा चुनाव हारेका थिए ।

वाम गठबन्धन कसरी बन्यो ?

पार्टी सभापति देउवाले ‘प्रचण्डलाई एमाले सरकारबाट छुटाएर ल्याएँ’ भनेर गर्व गरेको भन्दे पौडेलले एमालेसँग मिल्दा के गर्नु भयो भनेर प्रश्न गरेका छन् । प्रचण्डलाई कांग्रेससँगै राख्न आफूले प्रयत्न गरेको र चाहेको भन्दै उनले भनेका छन्, ‘मधेस आधारित दलहरुसँग एकता वार्ता गम्भीर रुपले हुँदै भएन । उनका नेताहरुलाई भने ठाउँ सुरक्षित गरिदिने, हामीले के लियौं ?’

राप्रपासँग गरेको गठबन्धनको औचित्य पुष्टि नभएको मात्र नभई उल्टो परिणाम आएको पौडेलको निष्कर्ष छ ।

पौडेलले पार्टी सभापति देउवालाई भनेको छन्, मैले सुरुमा भने झैं मूल्यांकनबाट चल्न र गुट मास्न तपाई तयार भइदिएको भए सिंगो कांग्रेसको हाईहाई नेता बन्नुहुन्थ्यो । त्यागको उदाहरण प्रस्तुत गरेको भए तपाई र पार्टी दुबैको हित हुन्थ्यो । इतिहास निमार्ण गर्न सक्नुहुन्थ्यो । भोगको गिनिजबुकमा नाम लेखाउन खोज्दा मान्छे कस्तो नजरले हेरेका छन् ?’

यो कस्तो कुर्तक !

पौडेलले हलिकति उदार भएर अरु कुनै नेतालाई प्रधानमन्त्रीको रुपमा अघि सारेको भए कांग्रेसको हालत यस्तो नहुनेदाबी गरेका छन् । तर, सभापतिले यसलाई वेवास्ता गरेको उनको गुनासो छ ।

‘पार्टी हारेको होइन, उम्मेदवार हारेका हुन् ! यो कस्तो कुर्तक ?’ पौडेलले भने, ‘निर्वाचन पार्टीले लड्ने हो, उम्मेदवार त्यसमा प्रति हुन् भन्ने कुरा तपाईलाई हेक्क भएन ।’ सात मध्ये एउटा प्रदेशमा पनि कांग्रेसले खुट्टा राख्ने ठाउँ नपाएको भन्दै उनले प्रश्न गरेका छन्, ‘कस्तो नहारेको कांग्रेस हगि !’

देउवाले कांग्रेस जिल्दाबाद होइन, शेरबहादुर जिन्दाबाद भन्न मात्र सिकाएको पौडेलको आरोप छ ।

संसदीय दलको नेता अरु दिनुस्

पार्टी सभापतिमाथि तीव्र आक्रोस पोखेका पौडेलले संसदीय दलको नेता अरु नेतालाई नै बन्न दिन आग्रह गरेका छन् । आफ्नो स्वार्थका लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा नराख्न आग्रह गर्दै उनले भनेका छन\m पार्टीप्रति चिन्ता छ भने दोहोर्‍याई तेहर्‍याई पद ओगट्न नलाग्नुस् ।’

तत्काल महाधिवेशन बोलाउन माग

चार पन्नामा लिखित धारणा राखेका पौडेलले अब के गर्ने भनेर पनि पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनले महासमिति बैठक बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप विधान बनाउन र १४ औं महाधिवेशनमा तत्काल जान समेत सभापति देउवालाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुस्

‘देउवाले भोगको गिनिसबुकमा नाम लेखाउन खोज्दा…’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment