Comments Add Comment

धर्मपथमा बहुतले पार्किङ बनाउँदै काठमाडौं महानगर

तीन कम्पनीले देखाए निर्माणमा चासो


१४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले धर्मपथमा ‘अटोमेटेड मल्टिलेभल पार्किङ’ निर्माणको प्रक्रिया बढाउन लागेको छ । निर्माण कम्पनी छान्न महानगरले मनशायपत्र निकाल्न लागेको छ ।

धर्मपथ क्षेत्रमा अस्तव्यस्त पार्किङ व्यवस्थित गर्ने योजना तयार पारिएको हो । महानगरको सार्वजनिक–निजी साझेदारी विभाग प्रमुख महेश काफ्लेका अनुसार यसको निर्माणका लागि फागुन अन्तिम साता आशयपत्रका लागि सूचना सार्वजनिक गरिनेछ ।

‘त्यसपछि कम्पनीको सर्ट लिस्टिङ गरिनेछ । र, प्राविधिक/आर्थिक क्षमता हेरेर निर्माणको जिम्मा लगाउन सकिन्छ,’ काफ्लेले भने । महानगर आफैं भने त्यसमा लगानी गर्ने सोचमा छैन । निजी कम्पनी छनोट गर्ने र उसैलाई लगानी गर्न लगाउने योजना छ ।

केही वर्ष निर्माण कम्पनी र त्यसपछि महानगरले सञ्चालन गर्ने काफ्लेले जानकारी दिए । छनोटमा परेको कम्पनीको प्रस्तावअनुसार सञ्चालन मोडालिटी तय गर्ने महानगरको तयारी छ । धर्मपथको आफ्नै जग्गामा पार्किङ भवन निर्माण हुनेछ ।

मनशायपत्र जारी गर्नुअघि नै तीन वटा कम्पनीले सम्भाव्यता अध्ययनको रिपोर्ट पेश गर्दै निर्माण गर्न चासो देखाएका छन् । काफ्लेका अनुसार उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिजले चासो देखाएको छ, जसले महानगरलाई सम्भाव्यता अध्ययनको रिपोर्ट बुझाइसकेको छ ।

यस्तै, स्राइन इन्टरप्राइजेज र ह्विल्सले पनि यसमा चासो देखाएको छ । रवि तण्डुकारको उक्त कम्पनीले महानगरलाई ४ माघमा सम्भाव्यता अध्ययनसहितको रिपोर्ट बुझाएको छ ।

सात तलाको पार्किङ भवन बनाउने महानगरको योजना छ, जसको लागत करिब ४८ करोड अनुमानित छ । अढाइ सय चारपांग्रे र डेढ सय मोटरसाइकल अटाउन सक्ने क्षमताको हुनेछ । असन, इन्द्रचोक र वसन्तपुर जानेहरुका लागि त्यो बढी उपयोगी हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment