+
+

एमालेबाट को-को बन्दैछन् मन्त्री ? सपथग्रहणको खबर पर्खिंदै नेताहरु

अर्थ मन्त्रालयमा ईश्वर पोखरेल र प्रदीप ज्ञवालीको दावी यथावत

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते ११:०४

१४ फागुन, काठमाडौं । सोमवार अपरान्ह नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सूचना राष्ट्रपति भवन शीतल निवासमा अनौपचारिकरुपमा पुगिसक्दा पनि एमालेबाट मन्त्री बन्ने प्रवल सम्भावना भएका नेताहरुलाई समेत सपथग्रहणको लागि तयार रहनू भन्ने खबर आएको छैन । सम्भावित मन्त्रीहरु तयारी अवस्थामा छन्,तर पार्टीबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई शेयर गरेका छैनन् ।

जसरी पहिलो चरणमा लालबाबु पण्डित र थममाया थापामगर मन्त्री बने त्यसैगरि कतिपय मन्त्रीहरुको छनौट सरप्राइज ढंगले हुनसक्ने ओली निकट नेताहरु बताउँछन् । एमालेबाट बढीमा ८ जना मन्त्रीले सपथग्रहण गर्नेछन्, जसमध्ये कम्तिमा दुई वा तीन पदाधिकारीसमेत हुनेछन् ।

स्रोतका अनुसार महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्नेछन् । यद्यपी सचिव प्रदिप ज्ञवालीले पनि अर्थमै दावी छाडेका छैनन् । ज्ञवालीलाई प्रधानमन्त्रीले परराष्ट्र मन्त्री बनाउन खोजे पनि उनले अर्थको दावी नछाडेको बालुवाटार सम्बद्ध उच्च स्रोतले जनायो । महासचिव पोखरेल र प्रदीप ज्ञवाली दुवैजना मन्त्री बन्ने भने निश्चित भएको छ ।

अर्का सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईलाई पनि मन्त्री बनाउने सन्दर्भमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतवार परामर्श गरेको स्रोतले जनाएको छ । नेपालले मन्त्री बनाउनुपर्ने भनेर दिएका केही नामप्रति ओली असहमत छन् ।

योगेश भट्टराईलाई सूचना तथा सन्चार प्रविधि मन्त्रालय दिने अनुमान गरिएको छ । एमालेका पदाधिकारीहरुमध्ये अहिलेसम्म मन्त्री नबन्ने योगेशमात्र हुन् । त्यस्तै लगातार तीन पटक सांसद चुनाव जितेका युवा नेता रविन्द्र अधिकारी पनि ओली सरकारको क्याबिनेटमा समेटिने भएका छन् । संसदको विकास समिति सभापति हुँदा गरेको कामको अनुभवका आधारमा उनले भौतिक पूर्वाधार मन्त्रालयको अपेक्षा गरेको बताइन्छ ।

एमालेबाट मन्त्री बन्नेमा पोलिटव्यूरो सदस्य भानुभक्त ढकालको नाममा पनि छलफल भइरहेको छ । त्यस्तै प्रदेश ७ बाट तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाई पराजित गरेर दोस्रो पटक सांसद भएका प्रेम आलेलाई मन्त्री बनाउनेबारे ओली र नेपालबीच परामर्श भएको छ ।

उनलाई मन्त्री बनाउँदा आदिवासी जनजातिको समेत प्रतिनिधित्व हुने भएकाले आलेको सम्भावना बढी छ । त्यस्तै एमालेको सूर्य चिन्ह लिएर जितेका हृदयेश त्रिपाठीलाई पनि मन्त्री बनाउने बारेमा एमाले नेतृत्वमा छलफल भएको छ ।

सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, शेरबहादुर तामाङ, यज्ञराज सुनुवारको नाममा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । उनीहरुमध्येबाट कोको मन्त्री बनाउने भन्ने अन्तिम अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई नै रहेकाले सबै अन्यौलमा छन् । एमालेबाट मन्त्री बन्नेहरुको अन्तिम लिष्ट अहिलेसम्म कसैले पाउन सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

वर्षमानलाई रोक्दै बादल गृहमन्त्री बन्ने पक्का

फोरम सरकारमा आए उपेन्द्र यादव परराष्ट्रमन्त्री !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?