Comments Add Comment

सिनो र ढल बिसर्जनस्थल बन्यो नारायणी, वागमतीजस्तै बन्ने चिन्ता

१४ फागुन, चितवन । ‘फोहर र फोहरीलाई सफा बनाउने पानी नै फोहर भएपछि कस्तो अवस्था आउला ?’ वातावरणको क्षेत्रमा चासो राख्ने ‘वे गु्रप’का सदस्य जोन कँडेल सोमबार विहान नारायणी नदी किनारमा चिन्ता व्यक्त गर्दै भने ।

पछिल्लो समयमा नारायणगढ नजिक बगिरहेको नारायणी नदी तीव्र गतिमा प्रदुषित बन्दै गएको छ । प्रदुषित नारायणीलाई सफा गर्न भन्दै केही युवा साथीहरुसहित कँडेल विहानै नदी किनारमा आएका थिए । स्थानीय व्यापारीसमेत रहेका चन्दन अग्रवालको नेतृत्वमा अर्को समूहसमेत सरसफाईमा जुट्यो । विभिन्न कलेजका विद्यार्थी स्थानीयवासिन्दाहरु सरसफाइमा सहभागी भए । उनै अग्रवालले नारायणी नदीमा बढेको प्रदुषणसहितका तस्वीर फेसवुकमा पोष्ट गरेपछि स्वतस्फूर्त रुपमा युवाहरु नदी सरसफाइको अभियानमा आउन थालेका छन् ।

‘सबैको ध्यान केन्दि्रत भएको छ,’ अग्रवालले भने, ‘नदी किनार क्षेत्रबाट आजपनि एक ट्याक्टर फोहर निकालिएको छ ।’

‘हामी त सानै वच्चैदेखि यहि नदीको पानी खाएर हुर्किएको हो । तर आज यति धेरै प्रदुषित भएको देख्दा दुःख लाग्छ ।’ अग्रवालले भने ।
उनले थपे, ‘मैले जस्तै मेरा भोलिका सन्ततीले पनि यो पवित्र नदीको पानी पिउन पाउनुपर्दछ, नारायणीलाई बाग्मती जस्तो प्रदुषित बन्न दिनुहुँदैन ।’

नारायणगढ बजार आडको करिब दुई किलोमिटर नदी किनार क्षेत्रमा पछिल्लो समय मान्छेको जमघट हुने क्रम बढेको छ । मान्छे बढे स ँगै फोहर पनि बढेको छ ।

नदी किनार क्षेत्रको सफाइका लागि स्थानीय टोल विकास संस्थाले पनि पहल गर्दै आएपनि त्यो प्रयाप्त भएको छैन । पछिल्लो समय टोल विकास संस्था पनि सुस्ताएका छन् । सो क्षेत्रमा पाँचवटा टोल विकास संस्था छन् ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले नदी किनारको संरक्षण र सरसफाई देवघाटबाट नै शुरु गर्नुपर्ने बताउँछन् ।

नारायणी नदीमा नारायणगढ क्षेत्रका ढल सीधै लगेर मिसाउने गरिएको छ । महानगरपालिकाले ढलको ‘ट्रिटमेन्ट’ गरेर नदीमा मिसाउने भनेपनि सीधै नदीमा ढल मिसाउने गरेको सरसफाइ अभियन्ताको दुःखेसो छ ।

नारायणगढको पोखरा बसपार्कदेखि पुल्चोकभन्दा तलको तटीय क्षेत्रमा जथाभावी मरेका पशु, मासुजन्य अन्य फोहर, प्लास्टिक फालेको देखिन्छ । कतिपय नदी किनारामा घर बनाएका व्यापारीहरुले निर्माण सामाग्रीहरु जथाभावी रुपमा फाल्ने र थुपार्ने गर्दा पनि नदी किनार क्षेत्र थप प्रदुषित बनेको छ ।नदीमा धार्मिक कर्ममा जाने र लुगा धुने धोवीहरुले समेत नदीलाई उत्तिकै फोहर बनाइरहेका छन् । नदी किनारको चौरमा मनपर्दि ढंगले राखिएको ठेला र तिनमा गरिने व्यापारका कारणले समेत प्रदुषण बढाएको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले यहि अवस्था कायम रहे नारायणी नदी बाग्मती नदी जस्तै प्रदुषित हुने दिन धेरै टाढा नरहेको बताउँछन् ।

ढल प्रशोधन केन्द्र पनि नदी किनारमा नै छ । तर प्रशोधनबिना नै फोहोर पानी सीधै नदीमा मिसाइएको बताउँछन्, अध्यक्ष प्रधान ।

भरतपुर महानगरपालिकाको समेत बेवास्ताको सिकार भएको नदीमा स्थानीय युवाहरुले सरसफाई गरेर संरक्षण गर्ने अभियान चलाएपछि महानगरपालिका पदाधिकारी पनि नदी किनारमा पुगे । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह, प्रशासकीय अधिकृत प्रेमराज जोशी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेल र वडाध्यक्षहरु नदी सरसफाई अभियानमा जुटे ।

मेयर भएको ६ महिनाभन्दा बढी समय भैसकेपनि रेणु पहिलोपटक नारायणी नदीमा पुगेर यसको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । नदीको सरसफाई र संरक्षणमा महानगरपालिकाले केही गर्न नसकेको मेयर दाहाल र प्रशासकीय अधिकृत जोशी स्वीकार गर्दछन् । मेयर दाहालले नदी किनारको अनुगमनपछि भनिन्, ‘अवस्था विकराल रहेछ ।’

सुधार्ने प्रतिवद्धता

तीव्र गतिमा प्रदुषणको चपेटामा पर्दै गएको नारायणी नदीको संरक्षणमा महानगरपालिकाले ठोस कदम चाल्ने दावी पदाधिकारीहरुले गरेका छन् । महानगरपालिकाकी मेयर दाहालले नदीको संरक्षणका लागि ठोस कदम चाल्ने बताइन् । ‘अब छिट्टै उद्योग वाणिज्य संघसहित सरोकारवालाहरुको बैठक राख्छौं,’ दाहालले भनिन्, ‘तत्कालका लागि केही कदम उठाउँछौं, दीर्घकालका यसलाई मनोरम पर्यटकीयस्थलका रुपमा विकास गर्ने गुरुयोजना तयार गर्छौं ।’

महानगरका प्रशासकीय अधिकृत प्रेमराज जोशी विगतमा जनप्रतिनिधि नभएका कारणले नदीको संरक्षणमा काम गर्न नसकिएको बताउँछन् । उनले खुल्ला ढल जथाभावी ढंगले नदीमा मिसाउनेहरुलाई कारवाही गर्ने पनि बताए । जोशीले १५ दिनभित्र नै नदी किनारमा देखिने गरी महानगरपालिको केही काम गर्ने प्रतिवद्धता जनाए । ‘कर नतिर्ने तर फोहर जथाभावी फाल्नेहरुलाई अब महानगरपालिकाले छाड्दैन,’ प्रमुख प्रशासकिय अधिकृत जोशीले भने ।

महानगर र उवासंघको पैसा मोह

आर्थिक उपार्जनका लागि नारायणी नदीको सम्भावना र यसको भविश्यका बारेमा उद्योग वाणिज्य संघ चितवन र महानगरपालिका दुवैलाई राम्रोसँग जानकारी छ । नदी किनार क्षेत्रको संरक्षणको जिम्मा लिएर त्यहाँबाट राम्रो आम्दानीसमेत गर्न सकिने भएकाले महानगरपालिका आफैंले कामको जिम्मा लिने वा उद्योग वाणिज्य संघलाई दिने भन्नेमा द्विविधामा छ । जग्गाको स्वामित्व महानगरका छ । महानगरको स्वामित्व भएकाले उवासंघलाई दिन नसकिने पत्र यसअघि महानगरले पठाएको थियो ।

उद्योग वाणिज्य संघ चितवनले नदी किनार क्षेत्रमा केही लगानीसमेत गरिसकेको छ । सो क्षेत्रमा माटो फिलिङ, सोलार बत्ती जडान, वेटिङ चेयर राख्ने लगायतका काम उद्योग वाणिज्य संघको पहलमा स्थानीय निकायको समेत सहभागितामा गरिएको छ ।

महानगरपालिकासँग नदी किनारको व्यवस्थापन र सरसफाइसहित जिम्माको माग उद्योग वाणिज्य संघको छ । तर महानगरले काम गर्ने स्वीकृति दिएको छैन । ‘महानगरले न हामीलाई काम गर्न दिएको छ न आफैंले गर्छ,’ अध्यक्ष प्रधानले भने, ‘यही कारण नदीको यो दुरावस्था आयो ।’

नदी व्यवस्थापनका लागि संघको कोषमा ८० लाख रुपैयाँ जम्मा भएको छ । तर पैसा हुँदाहुँदै पनि काम गर्न नपाएको गुनासो उवासंघको छ ।

यता, महानगरपालिकाकी मेयर रेणु दाहाल उद्योग वाणिज्य संघको प्रस्ताव सकारात्मक भएको बताउँछिन् । यसलाई महानगरपालिकाले स्वागत गरेको उनको भनाइ छ । यस बिषयमा छिट्टै टुंगो लगाउने मेयर दाहालले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment