Comments Add Comment

बुद्धप्रेमी धिरजको त्यो कलेज विद्रोह

काठमाडौं । पप गायनमा सक्रिय धिरज राईलाई शान्तिका दुत भगवान गौतम बुद्धप्रति विशेष आस्था छ । तर, एउटा कुराले उनलाई च्वास्स घोच्छ ।

सांगीतिक कार्यक्रमको सिलसिलामा विश्वका धेरै मुलुक घुमेका धिरजले महसुस गरेका छन्, वौद्ध धर्म मान्ने धेरैलाई गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने थाहा छैन ।

धिरज भन्छन् ‘अमेरिका, जापानलगायत विश्वका धेरै कलेजमा अहिले पनि वुद्ध भारतमा जन्मेका हुन् भनेर पढाई हुन्छ ।’

त्यसो त उनले ‘बुर्द्ध बर्न इन नेपाल…’ भनेर अंग्रेजी भाषामा गीत पनि गाएका छन् । ‘बुद्ध वर्न इन नेपाल वल्ड टुर’ अन्तर्गत २१ मुलकमा विशेष कार्यक्रम गरे । कोरियाबाट सुरु भएको उक्त कार्यक्रम हङकङमा सकिएको थियो ।

कलेजमा गरेको विद्रोह

सन २००६ मा स्नातकोत्तर अध्ययनका लागि आरआर कलेजमा भर्ना भएका थिए ।

सिभिल इन्जिनीयरसमेत रहेका राईले आरआरमा अंग्रेजी साहित्य अध्ययन गरेका थिए । जब स्नातकोत्तर दोस्रो वर्ष अध्ययन सुरु गरे, चाल्र्स भ्यान्डोनले लेखेका ‘हिस्ट्री अफ नलेज’ पुस्तक पढे । १०० पूणर्ाकको उक्त किताबमा बुद्धको जन्म भारतमा भएको उल्लेख थियो ।

धिरजले कलेजमै आपत्ति जनाए ‘बुद्ध भारतमा जन्मेका हुन् भनेर केको आधारमा हामीलाई पठाउदै हुनुहुन्छ म पास हुनका लागि बुद्ध भारतमा जन्मेका हुन् भनेर लेख्न सक्दिन ।’

कलेजका शिक्षकहरुले धिरजलाई राम्रो मानेनन् । राजनीति गर्न खोजेको आरोप लगाए । कति शिक्षकले हाकाहाकी भने, ‘तिमीले हामीलाई सिकाउनु पर्दैन । हामी त्यसै प्राध्यापक भएका होइनौं । पढेरै आएका हौं ।’ १५ वर्षदेखि नेपालमा उक्त पुस्तक पढाईदै आएको रहेछ ।

धिरजले किचकिच गर्न छाडेनन् । प्राध्यापकहरुले पनि सिधै भने ‘पढ्न मन छैन, राजनीति गर्ने हो भने टुडिखेलमा जाउ ।’

अन्तिममा कलेजले उनलाई हाजिर गर्नै दिएन ।

त्यसपछि धिरजले स्नातकोत्तर अध्ययनरत अन्य कलेजका विद्यार्थीहरुसँग पनि छलफल गरे ।

धिरज भन्छन् ‘७ महिनाको छलफलपछि हामीले ७ हजारको हस्ताक्षर गरेर टियुमा बुझायौं । त्यसपछि उक्त किताव कोर्सबाट हट्यो ।’

दुतावासको विज्ञप्ती

नेपालको पाठ्यक्रमबाट हटाए पनि विभिन्न मुलुकमा बन्ने फिल्म एवं सिरियलमा बुद्ध भारतमै जन्मेको सन्देश दिने क्रम जारी थियो । यी क्रममा भारतीय टेलिभिजन जिटिभीले ‘बुद्ध’ भन्ने एउटा सिरियल बनायो । उक्त सिरियलमा बुद्ध भारतमै जन्मेको उल्लेख थियो ।

धिरज लगायत युवाहरु जम्मा भए र काठमाडौको वसन्तपुरमा ‘र्‍याली निकाले, ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दै । तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज  रेग्मीलाई ज्ञापनपत्र पनि बुझाए । तर, सरकारले औपचारिक धारणा सार्वजनिक गरेन । बरु काठमाडौस्थित भारतीय दुतावासले बुद्ध भारतमै जन्मेका हुन् भनेर विज्ञप्ती निकाल्यो ।

अहिले बुद्ध नेपालमा जन्मेको सन्देश फैलाउन टुँडिखेलमा वृहद कार्यक्रम आयोजना हुन लागेको छ । यस कार्यक्रमले यो सन्देश विश्वसम्म पुर्‍याउनेमा धिरज आशावादी छन् । उनी आयोजक संस्था विश्व कीतिमानी परिषद नेपालका सद्भावना दुत पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment