Comments Add Comment

बार्सिलोना खस्किएसँगै ला लिगाले पायो नयाँ जीवन


१८ फागुन, काठमाडौं । केही हप्ता अगाडिसम्म कसैले भेट्टाउन नसक्ने ठाउँमा देखिएको टिम बार्सिलोना अहिले एकाएक खस्किएको छ ।

पछिल्ला म्याचहरुमा उनीहरुको कमजोर प्रदर्शनका कारण निकटतम प्रतिस्पर्धी एट्लेटिको मड्रिडसँगको अन्तराल आधा कटौती भएको छ ।

अहिले बार्सिलोना र एट्लेटिको मड्रिडबीच ५ अंकको अन्तराल बाँकी छ । यसका अतिरिक्त, डियगो सिमेओनको टोली क्याम्प नोउको अर्को भ्रमणकर्ता हो, जहाँ आइतबार उनीहरु आउनेछन् ।

केही दिनअगाडि मात्रै यो दौड लगभग टुंगोमा पुगेको ठानिएको थियो, तर अहिले यसले नयाँ जीवन पाएको छ ।

एर्नेस्टो भार्भेडेका खेलाडीहरु टिमलाई अब ‘हट फेभरेट’ मान्न सकिँदैन किनकी यसले आफ्नो केही धार गुमाइसकेको छ । २१ वटा म्याचपछि उनीहरु ५७ अंकमा थिए, जुन एथ्लेटिकोको भन्दा ११ बढी हो । तर, त्यसयता उनीहरुले केवल दुईवटा म्याच जिते र तीन वटा म्याच बराबरी खेले ।

क्याटालन क्लबले गिरोनालाई धुलो चटायो र एइबारलाई पनि परास्त गर्‍यो तर, इस्पानियोल, गेटाफे र लास पाल्माससित अंक बाँड्न बाध्य भयो । साथै च्याम्पियन्स लिगमा चेल्सीसँग पनि १-१ को बराबरी खेल्यो ।

सिजनको अत्यन्त महत्वपूर्ण समयमा अंक तालिकाको माथिल्लो भागमा टिमहरुबीचको अन्तराल घटेको छ र एन्टोनी गि्रजम्यान उच्च फर्ममा रहेको अवस्थामा सप्ताहान्तको भिडन्तका लागि ठीक आधारभूमि तयार भएको छ ।

यदि उनले आफ्नो टिमलाई बार्सिलोनामा जित दिलाउन सफल भए शीर्षस्थानको दौड अझै खँदिलो हुन्छ । केवल २ अंकले बार्सिलोना अगाडि रहने छ ।

यसरी ला लिगामा रौनक र भावुकता फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment