Comments Add Comment

संसद सचिवालयले बोलायो पाँच दलको संयुक्त बैठक

२० फागुन, काठमाडौं । संसद सचिवालयले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग संयुक्त छलफल गर्दैछ । सोमबार संघीय संसदको पहिलो बैठक बस्नुअघि आइतबार बिहान १० बजे राष्ट्रिय मान्यताप्राप्त पाँच दलका नेताहरुसँग छलफल गर्न लागिएको हो ।

प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले पहिलो बैठकको कार्यसूची तयारीका लागि राष्ट्रिय मान्यताप्राप्त पाँच दलसँग छलफल गर्न लागिएको जानकारी दिए ।

संसदको कार्यसञ्चालन नियमावली नबनुन्जेलका लागि अन्तरिम कार्यविधिको मस्यौदाबारे र बैठकको कार्यसूचीबारे जानकारी दिनका लागि पाँच दलको बैठक बोलाइएको डा. गौतमले बताए ।

बैठकमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष चयनबारे पनि छलफल हुने बताइएको छ ।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यक्ष र उपाध्यक्ष तथा सभामुख र उपसभामुख फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment