Comments Add Comment

बामदेवले भने- मैले जबज छाड्न सक्दिनँ, अरुले छाड्ने हुन् कि ?

५ वर्षसम्म एक करोड मान्छेलाई काम, १० वर्षमा समाजवाद स्थापना

२१ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जनताको बहुदलीय जनवाद संसारकै उत्कृष्ट विचार भन्दै पार्टी एकता भए पनि आफूले जबज छाड्न नसक्ने प्रष्ट पारेका छन् ।

१९ वर्षअघि माओवादीबाट मारिएका रुकुमका तत्कालीन एमाले सचिव यदु गौतमको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले जबज छाड्न नसकिने बताएका हुन् ।

सोही मञ्चबाट माओवादी नेता जनार्दन शर्माले एमाले माओवादी पार्टी एकीकरणका अभियानका नेता भनेर सम्बोधन गरे लगत्तै गौतमले जबजको सान्दर्भिकता अझ बढेको बताए ।

गौतमले अहिलेको पार्टी एकीकरणसम्म आउने आधार पनि एमालेले अंगिकार गरेको जबजले नै तयार पारेको दावी गरे । ‘हुन त अहिले माओवाद र जबजलाई छलफलमा लैजाने निर्णय भएको छ’ गौतमले भने, ‘तर म जबज छाड्न सक्दिन । अरुले छाड्ने हुन् कि भन्ने डर पो लागिरहेको छ ।’

रुसमा समाजवाद असफल भएपछि एमालेले अंगिकार गरेको जबज नै संसारको उत्कृष्ट विचार भएको उनको दाबी छ ।

आफूले कहिल्यै माओवाद र माओवादी जनयुद्धलाई समर्थन नगरेको भन्दै गौतमले माओवादीलाई जबजको लाइनमा ल्याउन खोज्दा आफूलाई एमालेभित्रैबाट माओवादीको आरोप लगाइएको स्मरण गरे ।

एमाले र माओवादी एकीकरणका शुत्राधार मानिएका गौतमले केपी ओली र प्रचण्डलाई तयार पार्न निकै मेहनत गरिएको बताए । ९ वर्षदेखि पार्टी एकीकरणका लागि प्रयास गरे पनि प्रचण्ड र ओली दुवै नेता तयार भएपछिमात्र एकता सम्भव भएको सुनाए ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षको निर्वाचनपछि दुई पार्टीवीच सांगठनिक एकीकरण हुने गौतमले बताए ।

एमालेको सफलता नै जबज भएको भन्दै गौतमले माओवादी विस्तारै एमालेको बाटोमा आएको बताए ।

एक करोड मान्छेलाई काम

वाम गठबन्धनको सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामहरुको मस्यौदा गर्न गठित कार्यदलका संयोजक समेत रहेका गौतमले १० वर्षभित्र नेपालमा समाजवाद आइसक्ने दावी गरे ।

उनले अरु देशले ५० वर्षमा गरेको विकास नेपालले १० वर्षभित्र गरिसक्नुपर्ने बाध्यता रहेको समेत बताए । ‘अब ५ वर्षमा नेपालबाट गरीबी हटाउनेछौं । १० वर्षभित्रमा समाजवाद आउनेछ,’ एमाले उपाध्यक्ष गौतमले भने, ‘हामीसँग समय कम छ । अब धमाधम काम सुरु हुन्छ । अबको ५ वर्षसम्म नेपालका एक करोड मान्छेहरु काम गरिरहेका हुनेछन् । देश निर्माणमा सबैले काम पाउनेछन् । अब कोही विदेशिनु पर्ने छैन ।’

यदु स्मृति प्रतिष्ठान र एमाले रुकुम काठमाडौं सम्पर्क मन्चद्धारा आयोजित कार्यक्रममा यदु स्मृति पत्रकारिता पुरस्कार रुकुमका नारायण शाहलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment