२१ फागुन, काठमाडौं । नेप्से परिसूचक सोमबार १२८७ मा आइपुगेको छ । बजार १६.६९ अंकले घटेर यो विन्दुमा आइपुगेको हो । नेप्से एकवर्ष यताकै न्युन विन्दुमा आएको हो । गोरखा पत्रमा सेयर बजारलाई आफुले अनुत्पादक नभनेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई सार्वजनिक भएसँगै सोमबार कारोबार खुलेको केही समय भने बजार बढेको थियो । तर, अन्तिमसम्म कायम रहेन ।
गत वर्षको फागुन ३ गते नेप्से परिसूचक १२ सय ७४ मा रहेकोमा अहिले नेप्से त्यसयताकै न्युन विन्दुमा आएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा सेयर कर्जा प्रति अनुदार देखिएको खबरसँगै गत विहीबार यता बजार उच्चले घटेको मानिएको छ ।
यद्यपी केही समय अघिदेखि बजारमा मारवाडी समुदायले लगानी नगरेको, संस्थागत लगानीकर्ताहरुले सेयर बिक्री गर्न थालेको, बजारमा कर्जा योग्य पुँजी अभावको कारण निक्षेप र कर्जाको व्याजदर वृद्धि भएकोले बजार घटिरहेको थियो । लगानीकर्ताहरुले पुँजी अभावकै कारण बजारमा एक सय रुपैयाँमा पाइने हकप्रद समेत खरिद गर्न सकिरहेका छैनन् ।
बजार उच्च दरले घट्दा बजारमा अंकित मूल्य (एक सय) मूल्यकै हाराहारीमा २३ संस्थाको सेयर कारोबार भइरहेको छ ।
सिभिल बैंक, राँधी जलविद्युत्, सिन्धु विकास, कर्णाली विकास, गुडविल फाइनान्स, दिव्यश्वरी हाइड्रो, पोखरा फाइनान्स, सप्तकोशी विकास, कन्काई विकास, खानी खोला हाइड्रोको सेयर मूल्य एक सयदेखि एक सय ५० हाराहारीमा चलिरहेको छ ।
त्यस्तै, यही मूल्य हाराहारी रहनेमा सिनर्जी फाइनान्स, मञ्जुश्री फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास, गोर्खा फाइनान्स, देव विकास, अरुण हाइड्रो, हाम्रो विकास, नेपाल कम्पयुनिटि डेभलपमेन्ट, नेपाल हाइड्रो पनि हुन् । समस्याग्रस्त खुलापछि कारोबारमा आएको बेस्ट फाइनान्स र नेशनल हाइड्रोपावरको सेयर मूल्य पनि एक सय मुनि छ ।
बजारमा न्युनत्तम मूल्यमा सेयर आएकोले लगानी गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । सोमवार कारोबार मध्यम रहेको छ । ३९ करोड रुपैयाँको सेयर किनबेच भएको हो । व्यापार मुलक र होटेल बाहेक सबै समूहको परिसूचक भने घटेको छ ।
प्रतिक्रिया 4