Comments Add Comment

कांग्रेसमा देउवा थप शक्तिशाली, शंकाको घेरामा शशांक


२१ फागुन, काठमाडौं । कांग्रेसमा नेतृत्व परिर्वतनको माग भइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चयन भएका छन् । यसले देउवालाई थप बलियो बनाएको छ भने नेतृत्व परिर्वतन पक्षधरलाई धक्का लागेको छ ।

दलको चुनावमा देउवालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिएका थिए । दलको नेता देउवा हुने प्रष्ट थियो तर, सिंहले कति मत पाउँछन् भन्ने विषयलाई अर्थपूर्ण मानिएको थियो ।

प्रतिनिधिसभाका ६३ सांसदमध्ये ४४ जनाले देउवालाई भोट दिए भने सिंहले १९ मत मात्र पाएका छन् । दलको चुनावमा देउवा रामचन्द्र पौडेल समूहका सांसदहरुलाई समेत आफ्नो पक्षमा पार्न सफल देखिएको नेताहरुले बताएका छन् ।

यसले देउवालाई थप बलियो बनाएको छ । देउवा निकट सांसद मीन विश्वकर्मा भन्छन्, ‘नेतृत्व परिर्वतनको कुरा बाहिर जति भए पनि उहाँहरुको संगठनमा पकड थिएन र पार्टीमा अहिले पनि देउवाको नेतृत्व आवश्यक छ भन्ने सन्देश दिएको छ ।’

मिनेन्द्र रिजालले गुट फेरे !

देउवाविरुद्ध सिंहलाई उम्मेदवार बनाउँदै गर्दा पौडेल समूहले १९ देखि २७ भोटको हिसाब निकालेका थिए । पौडेल समूहका १९, कृष्ण सिटौला समूहका तीन र खुमबहादुर खड्का समूहका ५ सांसद सांसद छन् । देउवा समूहमा पनि केही असन्तुष्ट थिए ।

तर, सिंहले १९ भोट मात्र पाए । सिटौला समूहका तीन सांसदमध्ये गगन थापा खुलेर प्रकाशमान सिंहको पक्षमा लागेका थिए । भीमसेनदास प्रधानले प्रकाशमान सिंहलाई भोट दिएनन् भने उमाकान्त चौधरीलाई अन्तिमसम्म सिंहको पक्षमा तान्ने प्रयास भएको थियो ।

पौडेल समूहका एक नेताका अनुसार हार पक्का भए पनि सिंहले पाएको मत कम हो । पौडेल समूहमा रहेका केही नेताले देउवालाई भोट दिएको बुझिएको छ ।

पौडेल समूहका एक नेताका अनुसार हार पक्का भए पनि सिंहले पाएको मत कम हो । पौडेल समूहमा रहेका केही नेताले देउवालाई भोट दिएको बुझिएको छ ।

पछिल्लो समय मिनेन्द्र रिजाल देउवासँग नजिक भएका छन् । उनलाई प्रमुख सचेतक बनाउने देउवाको तयारी छ । एक समय देउवा निकट रहेका उनी सुशील कोइराला हुँदा यता आए । १३ औं

महाधिवेशनमा पनि उनी पौडेल समूहमै थिए ।

यस्तै पौडेल समूहका नारायण खड्का, प्रमोद यादवलगायतले पनि देउवालाई भोट दिएको अनुमान छ ।

शंकाको घेरामा शशांक

प्रकाशमान सिंह निकटवर्तीहरुले महामन्त्री शशांक कोइरालासमेत शंकाको घेरामा रहेको बताउँछन् ।

पौडेल समूहबाट महामन्त्री जिते पनि सभापति देउवासँग मिलेको आरोप उनीमाथि लाग्दै आएको छ । चुनावपछि कांग्रेसमा नेतृत्व परिर्वतनको माग गरेपछि कोइरालाले बोलेका छैनन् ।

दलको नेताको चुनावमा पनि उनले प्रकाशमानलाई खुलेर समर्थन गरेको नदेखिएको एक सांसदले बताए । उनले अघि भने, ‘महामन्त्रीले दलको नेतामा देउवासँग लड्न आँट गरेनन् । अब प्रकाशमानले उनलाई किन आफ्नो नेता मान्ने ?’

महामन्त्री कोइराला निकट नेताहरुले पनि दलको नेतामा दाबी नगर्नु र आफ्नो समूहमा अविश्वास बढ्नुले पार्टी नेतृत्वमा उनको दाबेदारीलाई मजोर बनाउने विश्लेषण गरेका छन् ।

‘दासहरुको भेलाले युद्ध जित्न सकिन्न’

दलको नेतामा पार्टी सभापति देउवा नै चयन भएपछि केन्द्रीय सदस्य चन्द्र भण्डारीले कडा टिप्पणी गरेका छन् ।

‘विभेदपूर्वक समानुपातिकको भीड जम्मा गरेर आफूलाई भोट हलाउनु ठुलो कुरा होइन । ठुलो कुरा उहाँको नेतृत्वमा पार्टी कुन स्थानमा छ भन्ने हो’ नेतृत्व परिर्वतनको अभियान चलाउने ६ भाइमध्येका एक भण्डारीले भनेका छन्, ‘महत्वपूर्ण सवाल दासहरुको भेलाले युद्ध जित्न सकिँदैन ।’

दलको नेतामा पार्टी सभापति देउवा नै चयन भएपछि केन्द्रीय सदस्य चन्द्र भण्डारीले कडा टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘ दासहरुको भेलाले युद्ध जित्न सकिँदैन ।’

छ भाइका अर्का सदस्य गगन थापाले पनि नेतृत्व परिर्वतनको अठोटबाट पछि नहट्ने बताएका छन् । ‘हामीले सुरुमा नेतृत्व परिर्वतन गर्न अनुरोध गर्‍यो, भोटबाट पनि सकेनौं’ सांसद थापाले अनलाइनखबरसँग भने, ‘यसले हामीलाई पक्कै धक्का छ तर, नेतृत्व परिर्वतनको अठोटबाट थाक्छौं भन्ने होइन, लागिरहन्छौं ।’

गच्छदारलाई उपनेता बनाउनुको अर्थ

संसदीय दलको नेता चुनिएलगतै देउवाले विजयकुमार गच्छदारलाई उपनेता बनाएका छन् ।

कांग्रेस छाडेर फोरम हुँदै फोरम लोकतान्त्रिक बनाएका गच्छदार चुनाव अघि मात्र कांग्रेसमा फर्किएका थिए । उनलाई सहादबहार मन्त्रीका रुपमा समेत लिने गरिन्छ । जनतामा लोकपि्रय छवि बनाउन नसकेका गच्छदारलाई उपनेता बनाएर देउवाले नेतृत्व परिर्वतनको मागलाई सुन्न पनि तयार नरहेको सन्देश दिएका छन् ।

यद्यपि देउवा समूहका नेता मीन विश्वकर्मा भने त्यसलाई मान्न तयार छैनन् । उनले भने, ‘लोकप्रियता हेरेर निर्णय गर्न हामी अहिले कुनै आम चुनाव लड्दैछैनौं । संगठन सुदृढिकरण आवश्यक छ र त्यसका लागि उहाँ उपयुक्त र सक्षम हुनुहुन्छ ।’

कांग्रेसमा हुँदा पनि महत्वपूर्ण जिम्मेवारी निभाएको, समन्वयकारी भूमिका खेल्न सक्ने चतुर नेता भएको र पार्टी नै बिलय गरेर आएकाले उपनेता बनाएको उनको दाबी छ ।

देउवा समूहले हप्ता/दश दिनमै पार्टीका पदाधिकारी तथा अरु पदमा नियुक्ति हुने बताएको छ । सभापतिले सबैलाई समेट्न प्रयाग गर्ने तर, आफूलाई सहयोगी हुने नेतालाई उपसभाति, महामन्त्री, सहमहामन्त्री लगायतमा नियुक्त गरिने निकटवर्तीहरु बताउँछन् ।

नारायण खड्काले भने-म गुटमा छैन

कांग्रेस नेता डा.नारायण खड्काले आफू कांग्रेसभित्र कुनै गुटमा नरहेको र गुटको नाममा आँखा चिम्लेर भोट हाल्नुपर्छ भन्ने मान्यता पनि नराख्ने प्रतिक्रिया दिएका छन् ।

रामचन्द्र पौडेल पक्षका भनिएका खड्काले देउवालाई भोट दिएको भनी प्रचार भएपछि खड्काले आफूले विवेक प्रयोग गरेको बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै खड्काले भने ‘मलाई फलानो गुटको भनेर प्रमाणित गर्ने अधिकार कसैलाई छैन । मलाई गुटमा लगेर मिसाउने काम भएको छ । तर अरुले कल्पना गरेर राखेको गुटमा म छैन । दलको नेता भनेको कस्तो हुनुपर्छ भन्ने विवेक प्रयोग गरेको हुँ । गुटकै कारण माथि आएकाहरुले गुट हेरेर भोट हाल्लान, तर म बाध्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment