Comments Add Comment

विपिन कार्कीको भाउः शून्यदेखि १७ लाखसम्म

आचार्यदेखि नाकासम्मको यात्रा

भर्सेटाइल अभिनेता विपिन कार्की आफ्ना हरेक फिल्ममा नयाँ प्रयोग गर्छन् । त्यसैले त एकथरी दर्शकवृत्तमा उनका फिल्मको तीव्र प्रतिक्षा रहन्छ । आगामी फिल्ममा कस्तो अवतारमा प्रस्तुत होलान् भन्ने जिज्ञासा हुन्छ ।

बिपिनको नयाँ फिल्म ‘नाका’ दर्शकमाझ छ । र, यो फिल्मबाट उनले आफ्ना ती दर्शकहरुलाई निराश बनाएका छैनन् । फिल्मको ‘गोल्डी’ क्यारेक्टरलाई दर्शकले मात्र होइन, समिक्षकले पनि निकै मन पराएका छन् ।

बिपिन दंगदास छन् । ‘मैले सोचेभन्दा पनि धेरै राम्रो रेस्पोन्स पाइरहेको छु,’ उनले भने । उनले विभिन्न हलमा पुगेर दर्शकसँगै फिल्म हेरे पनि । तर दर्शकले उनलाई चिनेनन् । चिनुन् पनि कसरी, हरेक फिल्ममा उनको हुलिया अर्कै हुन्छ ।

आफूलाई नचिने पनि फिल्मको पर्दामा ‘गोल्डी’ देखिनासाथ दर्शकले सिटी फुकेको देखेर उनी प्रसन्न भए । भन्छन्, ‘मैले फिल्मका लागि गरेको मिहिनेत खेर गएन भन्ने लाग्छ ।’

आफ्ना हरेक फिल्मका लागि विपिन अति मिहिनेत गर्छन् । गोल्डीका लागि पनि गरेका थिए । यो फिल्ममा उनको लुक्स नै ‘डेन्जर’ छ । ड्रेसअपदेखि हेयरस्टाइलसम्म । आवाज पनि युनिक । फिल्मको ट्रेलर आएदेखि नै उनको लुक्सको चर्चा सुरु भएको थियो ।

फिल्म फ्लोरमा जानुभन्दा ६ महिना अगाडि उनी सिमा नाकामा गएर १ महिना बसेका थिए, त्यहाँको जनजिवन अध्ययन गर्न । तर, सुटिङको अघिल्लो दिन मात्र आफ्नो हेयरस्टाइल चेन्ज गरेको र आखिभौं खौरिएको उनी बताउँछन् । उनी सुटिङ चलुञ्जेल हरेक दिन आफ्नो कपाल र आँखिभौं खौरिन्थे ।

स्वर चेन्ज गर्न पनि उनले निकै मिहिनेत गरे । बाथरुममा पस्दादेखि बाटोमा हिँड्दासम्म उनी यो स्वरमा डाइलग घोकिरहन्थे ।

आचार्यदेखि नाकासम्म
बिपिनले खेलेको पहिलो फिल्म थियो ‘आचार्य’ । खेलेको के भन्नु देखिएको । गायक भक्तराज आचार्यको उक्त बायोपिकमा फिल्ममा उनको केवल एउटा सिन थियो । भक्तराजलाई एउटा समुहले कुट्ने एक मिनेटको दृष्यमा उनी झुलुक्क देखिएका थिए ।

विपिनको दोस्रो फिल्म थियो, लुट । निश्चल बस्नेत निर्देशित यो फिल्ममा दौडने र लखेट्ने रोल पाएका थिए । ३-४ वटा सीन थियो । फिल्म सुपरहिट भयो, तर उनलाई कसैले नोटिस गरेनन् ।

त्यसपछि उनले फटाफट तान्डव, सुन्तली, लुट कालो पोथी, छड्के, पशुपति प्रसाद, लुट २ र जात्रामा काम गरे । पहिलोपटक उनी छड्केमा नोटिस भएका थिए । फिल्म राम्रो नचले पनि उनीको अभिनयले राम्रै चर्चा पायो ।

बिपिनको करिअरमा टर्निङ प्वाइन्टका रुपमा आयो ‘पशुपति प्रसाद’ । दिपेन्द्र के खनाल निर्देशित यस चलचित्रमा उनी नेगेटिभ क्यारेक्टरमा थिए । तर, उनको ‘भष्मे डन’ क्यारेक्टर हिट भयो र बाहिर यही नामबाट प्रख्यात भए ।

त्यसपछि आयो जात्रा । पहिलो पटक कुनै फिल्ममा उनी प्रमुख भूमिकामा देखिएका थिए । यो फिल्मले समिक्षकबाट मात्र होइन, दर्शकबाट पनि राम्रो साथ पायो । फणिन्द्र तिमिल्सिनाको रोलमा उनले गरेको अभिनयले धेरैलाई कायल बनायो । फिल्मको व्यवसायिक सफलताबाट यो पनि प्रमाणित भयो कि उनी दर्शकलाई हलसम्म बटुल्न पनि सक्षम छन् । अनि त उनलाई अफरहरुको ओइरो लाग्न थाल्यो ।

सफलताको खुड्किलो उक्लिएसँगै विपिनको बजार भाउ पनि उकालो लागिरहेको छ । पहिलो फिल्म आचार्यमा एक झलक देखिँदा उनले कुनै पारिश्रमिक पाएका थिएनन् । पहिलोपटक लुटमा उनले ५ हजार पारिश्रमिक लिए ।

क्रमशः उनको रेट बढ्दै गयो र पछिल्लो पटक फिल्म फनफनीका लागि १७ लाख पारिश्रमिक लिएर उनी चर्चामा आए । यद्यपि उनी यसलाई ठूला विषय ठान्दैनन् ।
‘समयको माग र आफ्नो जिम्मेवारीका आधारमा पारिश्रमिक बढाएको हुँ,’ उनी भन्छन्, ‘यसमाथि धेरै चर्चा गरिरहनु आवश्यक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment