+
+
Shares

हुम्लामा जडिबुटी संकलन गर्न पुगेका एकको मृत्यु, ९ जना सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको चंखेली गाउँपालिका–२ बागेढुंगा सामुदायिक वनमा कटुको संकलन गरिरहेका मुगुका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको छ।
  • भदौ २८ गते कटुको संकलनका लागि पुगेका १३ जनामध्ये ९ जना सम्पर्कविहीन रहेका छन् भने ३ जना सम्पर्कमा आएका छन्।
  • घटनास्थल उच्च हिमाली र भारी हिमपात भइरहेकाले मुगु र हुम्ला प्रहरीले खोजी तथा उद्धार कार्य अघि बढाएका छन्।

११ असोज, सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडिबुटी संकलन गरिरहेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन् ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए ।

उनका अनुसार भदौ २८ गते १३ जना स्थानीय कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेका थिए ।

उनीहरू त्यहाँ जडिबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्किएका थिए ।

फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अ‍ेखबहादुर रोकाय सम्पर्कविहीन छन् ।

त्यस्तै छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी शेरबहादुर बुढाका अनुसार पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन् ।

स्थानीयका अनुसार मुगुको पाटन क्षेत्रमा जडिबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमाक्षेत्रमा पुगेपछि दुई समूहबीच विवाद तथा झडप भएको थियो । असोज १० गते झडप भएको बताइएको छ ।

मुगुतर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुम्लातर्फको सामुदायिक वन समूहका मानिसले लखेटेको आरोप मुगुका स्थानीयले लगाएका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताए । उनका अनुसार घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको छ ।

‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’

मिनी क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढाएका छन् ।

सम्पर्कविहीनहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?