News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको चंखेली गाउँपालिकास्थित डाँफे आधारभूत विद्यालयमा गत ५ जेठमा आएको बाढीले भवन भत्काएपछि ८० जना विद्यार्थी खुला चौरमा त्रिपाल टाँगेर पढ्न बाध्य छन्।
- विद्यालयका प्रधानाध्यापक बली तामाङले भने, ‘बाढीले कक्षा कोठा क्षतविक्षत बनाएपछि एक हप्तासम्म विद्यार्थीलाई सामुदायिक भवनमा पढायौं । अहिले केही संघसंस्थाको सहयोगमा खुला चौरमा पठनपाठन गराइरहेका छौं ।’
- हिमाली शिक्षा र विकास हेड नेपाल संस्थाले शैक्षिक सामग्री सहयोग गरे पनि सरकारी तवरबाट पुनर्निर्माणमा कुनै सहयोग नपाएको वडाध्यक्ष हर्कधन तामाङले बताए।
१९ साउन, हुम्ला । गत ५ जेठमा हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा रहेको डाँफे आधारभूत विद्यालयमा बाढी पस्यो । बाढीले विद्यालय भवन भत्कायो । कक्षा कोठा क्षतविक्षत भए । त्यसपछि विद्यार्थीहरू खुला चौरमा पढ्न बाध्य भए ।
बाढीले क्षति पुर्याएको विद्यालय अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । विद्यालयका भवनहरू क्षतबिक्षत देखिन्छन् । स्थलगत रिर्पोटिङका क्रममा नेप्का पुग्दा ८० जना विद्यार्थीहरू हातमा कापी–किताब समातेर त्रिपाल लगाइएको चौरमा पढ्दै थिए ।
बाढीले विद्यालयमा क्षति पुर्याएपछि ८० जना बालबालिकाको पठनपाठन प्रभावित भएको डाँफे आधारभूत विद्यालयका प्रधानाध्यापक बली तामाङले तामाङले बताए ।
उनले भने, ‘बाढीले कक्षा कोठा क्षतबिक्षत बनाएपछि एक हप्तासम्म विद्यार्थीलाई सामुदायिक भवनमा पढायौं । अहिले केही संघसंस्थाको सहयोगमा खुला चौरमा त्रिपाल टाँगेर पठनपाठन गराइरहेका छौं ।’
त्यस दिन आएको बाढी अहिलेसम्म पनि सम्झन्छन् विद्यालयका शिक्षक जसन्त ऐडी । ‘राति अचानक बाढी आयो । विद्यालयमा हामी दुई शिक्षक बस्दै आएका थियौं । हाम्रो भागाभाग भयो । मोबाइल पुरियो, नगद बाढीले बगएर लग्यो । केही समयपछि स्थानीयवासीले उद्धार गरेका थिए,’ उनले भने ।
खुला चौरमा अध्ययन गर्दै आएका ८० जना बालबालिकाका लागि हिमाली शिक्षा र विकास हेड नेपाल संस्थाले साढे १४ लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेको प्रधानाध्यापक तामाङले अनलाइनखबरलाई बताए ।
विद्यार्थीहरूलाई पठनपाठनका लागि आफ्नो संस्थाका तर्फबाट सहयोग गरेको हिमाली शिक्षा र विकास हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले जानकारी दिए ।
‘विद्यालयको भवन नहुँदा त्रिपाल, कार्पेट, कुसन, शिक्षकहरूका लागि कुर्सी, कक्षाकोठाका लागि फर्निचर, डेस्क, बेन्च र शिक्षण उपकरणका सामग्रीहरू वितरण गरेका छौं,’ उनले भने ।
सडक सञ्जाल नपुगेकोले खच्चरबाट शैक्षिक सामग्री ढुवानी गरी चंखेली गाउँपालिका–५ को नेप्का गाउँ पुर्याइएको थियो ।
बाढी विद्यालयको भवन भत्काएपछि यहाँका बालबालिकाहरू सामुदायिक भवनमा पठनपाठन गर्न बाध्य भएको र हिमाली शिक्षा र विकास हेड नेपालले सहयोग गरेपछि चौरमा त्रिपाल टाँगेर ८० जना बालबालिकाले अध्ययन गरिरहेको चंखेली गाउँपालिका ५ का वडाध्यक्ष हर्कधन तामाङले बताए ।
बाढीबाट विस्थापित भएको २ महिना बितिसक्दा समेत विद्यालयलाई स्थानीय तह, प्रदेश, संघ सरकारबाट सहयोग नपाएको गुनासो वडाध्यक्ष तामाङको रहेको छ । जेठ ५ गते बाढीले विद्यालयको भवन, खानेपानी, टयाकी, खेतीयोग्य जमिनलगायत लाखौं क्षति पुगेको थियो ।
प्रतिक्रिया 4