Comments Add Comment

भोजपुरमा दुई वर्षपछि पुनः शल्यक्रियाबाट प्रसुती सेवा सुरु

२२ फागुन भोजपुर । जिल्लामा दुई वर्षदेखि अघि बन्द भएको शल्यक्रियाबाट प्रसुती गराउने सेवा पुनः सञ्चालनमा आएको छ । यो सँगै सहज रुपमा प्रसुती हुन नसकेर प्रसव पीडामा रहेका महिलाहरुको आकस्मिक रुपमा अप्रेशन गरी डेलिभरी गराउन सकिने चिकित्सकहरुले बताएका छन् ।

सेवा पुनः सञ्चालनमा आएसँगै भोजपुर सदरमुकामकी १८ वर्षीय चन्द्रकला तामाङ्गको सफल शल्यक्रियाबाट प्रसुती गराइएको छ ।
आकस्मिक प्रसुती सेवा सञ्चालनका लागि उपकरणहरु हुँदाहुँदै पनि आवश्यक पर्ने जनशक्तिको अभावमा सेवा विचमा अवरुद्ध भएको थियो ।

जिल्ला अस्पताल भोजपुरका डाक्टर पुजन विकले एड्भान्स एसबीए तालिम पाएसँगै उनी लगायतको स्वास्थ्यकर्मीहरुको टोलीले शल्यक्रियाबाट डेलिभरी सेवा शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय, भोजपुरले जनाएको छ ।

जिल्लाको एक मात्र भोजपुर अस्पतालमा प्रसुती गराउन आउने महिलाहरुमध्ये ५ देखि १० प्रतिशतको शल्यक्रियाबाट प्रसुती गराउनुपर्ने तथ्यांक रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णवहादुर मिजारले बताएका छन् ।

त्यस्ता महिलाहरुलाई रिफर गरेर सुविधा सम्पन्न ठाउँमा पठाउँदा भनेको बेला जहाज नआउने, गाडी बाटो सहज नभएको र खर्चिलो समेत हुने हुँदा कतिपय महिलाको अकालमा ज्यानसमेत जाने गरेको छ ।

भोजपुरमा डाक्टर त्रिभुवनचन्द्र झाले शल्यक्रिया सेवा शुरु गरेका थिए । हाल उनी जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख छन् ।

हाल प्रसुती भवनको पुनःनिर्माण गरी आकस्मिक प्रसुती सेवालाई निरन्तरता दिइएको हो । वानहर्ट वोल्र्ड वाइडले प्रसुती भवनको पुनर्निर्माणमा सहयोग गरेको थियो । पुनर्निर्माणको लागि जिल्ला अस्पतालको २० र वानहर्टको ८० प्रतिशत गरि ९ लाख ९४ हजार रुपैयाँ खर्च गरिएको छ ।

दुर्गम ठाउँमा डेलिभरी गराउन जोखिममा परेका महिलाहरुलाई लक्षित गरी शल्यक्रिया सेवा पुनः शुरु गरिएकोमा स्थानीय र सरोकारवालाहरुले प्रशंसा गरेपनि यसको निरन्तरतामा भने सबैले खबरदारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment