Comments Add Comment

प्रेस रिभ्यूः एकीकृत पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय, केन्द्र र प्रदेशमा आयोग


२३ फागुन, काठमाडौं । आज बुधबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विभिन्न विषय परेका छन् । पत्रपत्रिकाहरुले आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विषय उठाएका भए पनि पहिलो पृष्ठमा छापिएका अधिकांश समाचार राजनीतिसँग सम्बन्धित छन् ।

एमालेले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको विषयलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले छापेका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा आकांक्षा देखाएपछि एमालेले स्थायी कमिटी बैठक बोलाएको थियो । मंगलबार अबेरसम्म बसेको बैठकले विद्यालाई नै राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी स्वदेश फर्किए पनि भ्रमणको चर्चा सेलाएको छैन । आजका केही पत्रपत्रिकाहरुले अब्बासीले गरेको नेपाल भ्रमणले पार्ने नाफा–नोक्सानको हिसाब किताब निकालेका छन् ।

साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा मंगलबार अपराह्न निधन भएको खबरले पनि पत्रपत्रिकाहरुमा ठाउँ पाएको छ । पत्रपत्रिकाहरुले उनको मृत्युको समाचारसँगै व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका छन् ।

आठ महिनामा विकास खर्च २३ प्रतिशत मात्रै भएकोलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ फोरमले सरकारमा सहभागी हुने निर्णय गरेसँगै केपी ओली नेतृत्वको सरकारले दुईतिहाइ समर्थन पाएको समाचार अन्नपूर्णमा छ ।

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्याउने निर्णय गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समूह भण्डारीलाई नै दोहोर्याउने पक्षमा थियो भने एमाले पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति उम्मेदवारमा दाबी गरेपछि निर्णय गर्न कठिन भएको थियो । भण्डारी र खनालको पक्षमा स्थायी समितिमा लगभग बराबरीजस्तै सदस्य उभिएका थिए । त्यसैले नेताहरु मध्यरातसम्म बैठकमा थिए ।

नयाँ पत्रिकाले जस्तै राजधानी दैनिकले पनि ‘भण्डारी नै राष्ट्रपतिको उम्मेदवार’ शीर्षक दिएर समाचार लेखेको छ ।

एकीकृत पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय, केन्द्र र प्रदेशमा आयोग

एमाले र माओवादी केन्द्रको एकतापछिको एकीकृत पार्टीले केन्द्र प्रदेश हुँदै वडाभन्दा तलसम्मै सांगठनिक संरचना निर्माण गर्ने भएका छन् । एकीकृत पार्टीको केन्द्रमा ३ वटा आयोग रहनेछ भने प्रदेशमा पनि आयोग गठनको प्रतिवेदन तय भएको छ ।

दुई ठूला पार्टीको एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय सदस्य ३०१ जनाको रहने भएको छ । एमाले र माओवादी केन्द्रले एकताको विषय टुंग्याउन प्रतिवेदन लेखनका लागि गठन गरेको कार्यदलमा ३०१ सदस्यीय केन्द्रीय सदस्य, ९९ जनाको पोलिटब्युरो र २३ सदस्यीय स्थायी समिति सदस्य रहनेगरी छलफल चलेको छ ।

आठ महिनामा विकास खर्च २३ प्रतिशत


सरकारले बुधबार चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दैछ । आर्थिक वर्षको ६ महिना बितेपछि हुने मध्यावधि समीक्षा राजनीतिक संक्रमणका कारण आठौं महिनाको अन्तिममा पुगेको हो ।

नयाँ पत्रिका दैनिकका अनुसार ८ महिनामा विकास खर्च मात्रै २३ प्रतिशत भएको छ । विकास खर्च ७७ अर्ब मात्रै हुँदा साधारण खर्च ३ खर्ब ८१ अर्ब भएको छ ।

प्रधानमन्त्रीकै जिल्ला खुला दिसामुक्त हुन सकेन

प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापा अझै खुला दिसामुक्त क्षेत्र घोषणा हुन सकेको छैन ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह झापामा सबैभन्दा बढी शौचालन बन्न बाँकी छ । १२ हजार १ सय ४८ घरधुरी रहेको गौरादहमा अझै तीन हजार सुरक्षित शौचालय बन्न बाँकी छ ।

अध्यागमनमा सेटिङ गर्ने ३ कर्मचारी निलम्बित

भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एअरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ।

नेपाल एअरलाइन्सका कर्मचारीहरूको मिलेमतो र आर्थिक सेटिङमा भारतीयलाई प्रस्थान अनुमति दिने विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नइन्द्रकुमार पौडेललाई समेत अध्यागमन विभागले फिर्ता बोलाएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

पौडेलको अध्यागमनका अन्य कर्मचारीहरूसँगको कनेक्सनबारे समेत अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । नेपाल एअरलाइन्सका कर्मचारीहरू विजय अधिकारी, घनश्याम चौधरी र हरि साहु सुनारलाई निलम्बन गरिएको हो। नेपाल एअरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउने प्रकरणमा संलग्न आफ्ना तीन कर्मचारी निलम्बनमा परेको पुष्टि गरे।

नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि

त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरेको भेटिएपछि कीर्तिपुर नगरपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ ।

नेपाल समाचारपत्रका अनुसार त्रिविले हालसम्म निर्माण गरेको कुनै पनि भवनको नक्सापास गरेको छैन ।

नक्सापास नगरी धमाधम भवन निर्माण गर्न थालेपछि कीर्तिपुर नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउन लागेको छ । त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले त्रिविमा हालसम्म निर्माण गरिएको कुनै पनि भवनको नक्सापास नगरेको स्पष्ट पारे ।

र, यो पनि– विद्युत्त उत्पादन गृहछेउकै बस्ती सोलार र टुकीको भरमा

लमजुङको मध्यमस्र्याङ्दी जलविद्युत्त आयोजनाबाट ७० मेगावाट क्षमताको विद्युत्त उत्पादन भइरहेको छ । तर उत्पादन गृह छेउवकै बासिन्दा भने सोलार र टुकीको भरमा छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार, ६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युत्तको आसमा बसेका भोटेओडारमा बसाइँ सरेर आएका परिवारले अझै विद्युत्त पाएका छैनन् ।

नेपाल विद्युत्त प्राधिकरण र लमजुङ विद्युत्त उपभोक्ता संस्थाले विद्युत्त विस्तारमा चासो नदेखाएकाले सेवाबाट वञ्चित भएको स्थानीयको गुनासो छ । वर्षौंदेखि विद्युत्तका लागि संघर्ष गरे पनि सुनुवाइ नभएपछि स्थानीय निराश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment