+
+

प्रदेश ४ः मन्त्रिपरिषदलाई आज पूर्णता दिने कसरत

अमृत सुवेदी अमृत सुवेदी
२०७४ फागुन २७ गते ९:५३
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

२७ फागुन, पोखरा । प्रदेश ४ को मन्त्रिपरिषदलाई पूर्णता दिने अन्तिम कसरत थालिएको छ । आकांक्षी धेरै भएपछि लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रिपरिषद पूर्तिका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तिम कसरत गरिरहेका हुन् । फागुन ४ गते मन्त्रिपरिषद गठन भएको थियो ।

सोमबार राष्ट्रपति निर्वाचनमा काठमाडौं जानुअघि नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीका छलफल मुख्यमन्त्री गुरुङले छलफल चलाएका छन् । आकांक्षी बढी भएकै कारण समस्या भएको मुख्यमन्त्री गुरुङ बताउँछन् । ‘सबैको चित्त बुझ्ने गरी, सबैको सहमतिमा मन्त्रीको टुंगो लगाउँछौं,’ मुख्यमन्त्री पृथ्वीसुब्बाले भने, ‘आजभोलिमै मन्त्रीको नाम टुंगो लागेको जानकारी पाउनु हुनेछ ।’

तर, आजै मन्त्रीको टुंगो लागाउने तयारी भइरहेको स्रोतले बताएको छ । मुख्यमन्त्री गुरुङले आकांक्षीसँग वान टु वान छलफलसमेत गरेका छन् । ‘औपचारिक रुपमा छलफलभन्दा पनि आकांक्षीसँग भेटघाट गर्ने, छलफल गर्ने काम भइरहेको छ । आजै मन्त्रीको टुंगो टुंगो लाग्न सक्छ, भोलिसम्म लम्बिन पनि सक्छ,’ एमाले सांसद तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले भने ।

मुख्यमन्त्री गुरुङले शनिबार रातिसम्मै मन्त्रीका आकांक्षीसँग छलफल गरेका थिए । आज पनि थप छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने तयारीमा छन् उनी ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका थिए । शुक्रबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिएसँगै शनिबारदेखि मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।

आकांक्षी बढी भएकै कारण र समावेसी बनाएर मन्त्री छान्न मुख्यमन्त्री गुरुङलाई सकस परेको एक एमाले नेताले जानकारी दिए । ‘पार्टीभित्रैका गुट पनि मिलाउनुपर्नेछ । समावेसी र सक्षम पनि हेनुपर्नेछ,’ मन्त्रीको आकांक्षीसमेत रहेका एक सांसदले भने, ‘सबैको सल्लाहमा सबैको चित्त बुझाएर सक्षम र राम्रो व्यक्तिलाई छान्नुहुनेछ भन्ने आशा छ ।’

७ मन्त्रालयमध्ये अब ३ मन्त्रालयको टुंगो लगाउन बाँकी छ । ३ मन्त्रीमा ६/७ जना आकांक्षी छन् । त्यसमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने पर्यटनमन्त्री बस्नेतले बताए ।

एक मन्त्रालय महिलाले पाउने पक्का भएपछि २ मन्त्रालयमा सांसद विकास लम्साल, चन्द्रमोहन गौचन, रोशन गाहामगर, कृष्ण थापामध्येको बढी सम्भावना रहेको स्रोत बताउँछ । एक मन्त्रालयमा नरदेवी पुन, मित्रकुमारी सुवेदी गुरुङ, प्रभा कोइरालालगायत आकांक्षी छन् ।

कास्कीबाट एकजना मन्त्री जसरी पनि बनाउनुपर्ने दबाव छ । मुस्ताङ, म्याग्दी र अन्य जिल्लाका सांसदले भेग मिलाउनुपर्ने दबाव दिइरहेका छन् । एमालेका २७ जना नै सांसदको सहमति जुटाएर नाम टुंगो लाग्ने एमाले सांसद तथा मन्त्री बस्नेतले बताए ।

प्रदेश ४ मा सभामुखसहित २ मन्त्रालय माओवादीको भागमा परेको छ भने मुख्यमन्त्रीसहित ५ मन्त्रालय एमालेको भागमा परेको छ । फागुन ४ मा एमालेबाट एकमात्र नाम टुंगो लागेर सांसद रामशरण बस्नेत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिएका थिए । माओवादीका २ सांसदको मन्त्रीमा टुंगो लागेपछि ४ गते बेलुका नै शपथ लिएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा माओवादीबाट सांसद बनेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?