Comments Add Comment

पर्साका तीन स्थानीय तहका शिक्षकले तलब पाएनन्

२७ फागुन, वीरगञ्ज । १४ वटा स्थानीय तह रहेको पर्साका तीन वटा स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले ४ महिना देखिको तलब पाएका छैनन् ।

वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकाको शिक्षकहरुले तालब नपाएको गुनासो गरेका हुन् ।

दोस्रो चौमासिक निकासा मार्फत पाउनुपर्ने तलब नपाएको शिक्षकहरुको भनाइ छ । तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या भइरहेको उनीहरुले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालयले स्थानीय तहबाटै तलब पाउनुहुन्छ भनेर पन्छने गरेको र स्थानीय तहले निकासा नभएको भनेर पन्छिने गरेको गुनासो उनीहरुको छ । मंसिरदेखि फागुनसम्मको तलब निकासा नभएको हो ।

जिल्ला शिक्षा कार्यालयबाट तलब निकासा गर्दा यस्तो समस्या आउँदैनथ्यो तर अहिले स्थानीय तहमा जान थालेपछि समस्या देखा परेको छ ।

स्थानीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुलाई उपेक्षा गरेको अनुभूति आफूहरुले गरिरहेका शिक्षकहरु बताउँछन् ।

वीरगञ्जको सिर्सियामा रहेको नेपाल राष्ट्रिय प्रावि आदर्श चोकका शिक्षक राजेश तिवारीले ४ महिनादेखि पैसा नपाउँदा घर व्यवहार धान्न मुश्किल भइरहेको बताए । ‘पढाउनका लागि घर बाहिर रहेको छोरालाई पैसा पठाउनु छ, साथीभाइसँग लिएको उधारो तिर्नु छ ।’ उनले भने ‘ तलब नपाएका कारण केहि गर्न सकेको छैन । तनाव भइरहेको छ ।’

नेपाल शिक्षक महासंघ पर्सा शाखाका उपाध्यक्ष रामेश्वर पटेलले चिन्तामुक्त भएर पढाउन नपाएको बताए । ‘शिक्षकहरुले चिन्तामुक्त भएर पढाउन पाउनुपर्ने हो ।’ शिक्षक पटेलले भने ‘चार महिनादेखि तलब नपाएका कारण विभिन्न समस्याले सताइरहेको छ ।’

शिक्षकहरुका अनुसार यी स्थानीय तहले शिक्षकहरुको तलब बाहेक विद्यालय सञ्चालनका लागि आवश्यक खर्च समेत निकासा गर्न सकेको छैन ।

स्थानीय तहमा ‘काम रोक’ धर्ना दिइने

तलब नपाएका तीन वटा तहका शिक्षकहरुले आन्दोलनको घोषणा गरेका छन् । शिक्षकहरुले सोमबारदेखि नै स्थानीय तहको कार्यालयमा ‘काम रोक’ धर्ना दिने भएका छन् ।

विभिन्न दवावमुलक कार्यक्रहरु गर्दा पनि स्थानीय तहले शिक्षकहरुको समस्यालाई गम्भीर रुपमा नलिएकोले आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।

यसअघि हातमा कालोपट्टी बाँधेर काम गर्नुका साथै आधा दिन पढाएर विरोध जनाउँदा पनि स्थानीय तहका प्रमुखहरुले गम्भिर रुपमा नलिएकोले काम रोक धर्नामा बस्ने निर्णय गर्नुपरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए । ‘जिल्ला स्तरीय, एसईई र बाषिर्क परीक्षा नजिकिएकोले विद्यालयमा पठनपाठन रोक्दैनौं तर प्रतिनीधिमुलक रुपमा धर्नामा बसेर स्थानीय तहको कामकाज ठप्प पार्छौ ।’ यादवले भने ।

नेपाल पत्रकार महासंघ पर्सा शाखामा आइतबार पत्रकार सम्मेलन गरेर शिक्षकहरुले तलब निकासा नभएसम्म धर्ना जारी रहने शिक्षकहरुले चेतावनी दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले भने नेपाल सरकारले तलब निकासा नगरेका कारण तलब खुवाउन नसकिएको बताए । ‘माथिबाटै रकम नआएकै कारण तलब खुवाउन नसकिएको हो ।’ उनले भने ‘ स्थानीय तहमा कुनै समस्या छैन ।’

उनले वीरगञ्ज महानगरपालिकाले शिक्षकहरुको समस्यालाई मध्यनजर गरेर होलीमा आन्तरिक स्रोतबाट एक महिनाको तलब खुवाएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment