Comments Add Comment

प्रदेश ५ को सरकारले भन्यो-पूर्वाधार अभावमा काम प्रभावित भयो

२८ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधार अभावका कारण प्रदेश सरकारका काम कारबाही प्रभावित भएको बताएका छन् ।

प्रदेश सभाबाट विश्वासको मत लिएको भोलिपल्ट सोमबार बुटवलमा पत्रकार सम्मलेन गरी मुख्यमन्त्री पोखरेलले पूर्ववर्ती सरकारले आवश्यक तयारीका नगर्दा स्थानीय र प्रदेश सरकारले जटिलताको सामना गर्नुपरेको बताए ।

केन्द्रीय सरकारको अधिनस्त सञ्चालित निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत नआएको र कर्मचारी समायोजन पनि नभएको उनको गुनासो छ ।

मुख्यमन्त्री पोखरेलले बुटवलमा प्रदेश सरकारका लागि आवश्यक भौतिक पूर्वाधार अभाव बताएको बताए ।

‘जिल्ला सदरमुकाम र क्षेत्रीय सदरमुकाम -केन्द्र) रहेका ठाउँमा भएको भए भौतिक पुर्वाधारहरु धेरै हुन्थे । बुटवल दुबै नभएकाले यहाँ सरकारी भवन कम भएका हुन्’ उनले भने, ‘हाम्रो प्राथमिकता सरकारी भवनहरु नै खोजेर प्रयोग गरौं भन्ने हो । ‘

उनका अनुसार बुटवलको बसपार्कमा राखिएको सामाजिक विकास मन्त्रालय, हाटबजार नजिकै रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र यातायात व्यवस्था कार्यालय परिसरमा रहेको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका लागि स्थान उपयुक्त नभएकाले अन्यत्र सार्न ठाउँ खोजी भइरहेको छ ।

श्रम कार्यालयको ६ तले भवन मुख्यमन्त्री कार्यालयकै लागि अपर्याप्त भएकाले त्यहाँ रहेका तीन मन्त्रालयका लागि पनि ठाउन् खोज्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

प्रदेश सरकार सकेसम्म बुटवलमै पुर्वाधारको खोजी गर्न कार्यदल बनाएर काम गरिरहेको बताए ।

प्रदेश राजधानी सार्न खोजिएको हो भन्ने जिज्ञासामा मुख्यमन्त्री पोखरेलले भने, स्थायी राजधानीबारे चर्चाहरु हुनु स्वभाकिक हो तर, यसको निर्णय प्रदेश सभाले गर्ने हो । समय आएपछि सबैको सहमतिका आधारमा विधि र प्रकृयाबाटै हल हुन्छ ।’

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विकास र समृद्धिको मुख्य आधार कृषिका साथै स्थानीय स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग धन्दा र दीर्घकालीन आधार पर्यटन भएको बताए । यिनै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र वजेट बनाउने उनले बताए ।

मुख्यमन्त्री पोखरेलले विकासमा सत्ता पक्ष र प्रतिपक्षमा विभाजित नहुन सबैसँग आग्रह समेत गरे ।

शुन्यबाट काम थालेर अल्पकालीन, मधयकालीन र दीर्घकालीन विकास योजना र कार्यक्रम बनाई प्रदेश ५ लाई मुलुककै नमूना र समृद्ध प्रदेश बनाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment