+
+
Shares

प्रधानन्यायाधीशको अवकाश साउनमै भएको भन्दै न्यायाधीशले गरे बेञ्च बहिस्कार

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २८ गते १२:३१

२८ फागुन, काठमाडौं । प्रधानन्ययाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेका छन् ।

कान्तिपुर पब्लिकेशन र डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दा पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । इजलासमा न्यायाधीशहरु पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दपिककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।

तर, अवकाश पाइसकेका पराजुलीसँग बसेर मुद्दा नहेर्ने भन्दै राणाले सोमबार इजलाससमेत बहिस्कार गरेका छन् । यससँगै इजलास स्थगित भएको छ ।

सोमबार कान्तिपुर दैनिकको अवहेलनासम्बन्धी मुद्दा पूर्ण इजलासमा बहस पैरवी हुनै लाग्दा न्यायाधीश राणाले आफ्नो तर्फबाट लिखित वक्तव्य पढेर सुनाए । सो वक्तव्यमा प्रधानन्यायाधीश पराजुलीले गत साउनमै उमेर हदका कारण अवकाश प्राप्त गरिसकेको दाबी गरिएको छ ।

आफूहरुले हिजोमात्रै प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेको राणाले बताए । कागजात हेर्दाखेरि पराजुलीले गत साउनमै अवकाश पाइसकेको प्रष्ट भएको राणाले बताए ।

न्यायाधीश राणाले प्रधानन्यायाधीश पराजुलीको जन्ममितका बारेमा चर्चा गर्दै भने- ‘एउटामा जन्ममिति २००९ साल रहेछ, अर्कोमा २०११ देखियो । न्यायपरिषद ऐनको व्यवस्था अनुसार ०७४ साउन २१ गते उहाँ अवकाश हुनुपर्ने हो, अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर मैले न्यायसम्पादन गर्न मिलेन ।’

यसरी उमेर हदका कारण अवकाश पाइसकेको प्रधान न्यायाधीशसँग बसेर आफूले मुद्दाको सुनुवाई नगर्ने भन्दै राणा इजलासबाट समेत बाहिरिएका छन् ।

सर्वोच्च अदालतमा सोमबार देखिएको यस्तो अनौठो घटनाक्रमबारे अधिवक्ता टीकाराम भट्टराईले अनलाइनखबरसँग भने- ‘यो नेपालको न्यायिक इतिहासमै नौलो घटना हो । अब यस्तो अवस्थामा पराजुलीको नेतृत्वमा इजलास बस्छ या बस्दैन, भन्ने प्रश्न उब्जेको छ ।’

प्रधानन्यायाधीश गोपाल पराजुली उमेर सच्याएको विवादमा तानिँदै आएका छन् । उमेर नसच्याएको भए प्रधानन्यायाधीश पराजुलीले गत साउनमा अवकाश पाउने थिए । सच्याइएको भनिएको उमेर अनुसार उनी आगामी बैसाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहन सक्छन् ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको उमेर साउनकै सदर गरेकी थिइन्, जसलाई पराजुलीले उल्ट्याएर बैशाखसम्म कायम गराएको आरोप उनीमाथि लाग्दै आएको छ ।

यो पनि पढ्नुस्

प्रधानन्यायाधीश पराजुलीको विकल्पः राजनीनामा नदिए महाअभियोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?