Comments Add Comment

प्रधानन्यायाधीश पराजुलीले राजीनामा दिँदा राम्रो हुन्छ

 


सर्वोच्च अदालतमा सोमबार दिउँसो १२ बज्न ५ मिनेट बाँकी रहँदा भूकम्पकै झड्काजस्तो गरी इतिहासमै नभएको तरंगपूर्ण घटना भयो ।अदालतका बहालवाला न्यायाधीश चोलेन्द्र समशेर राणाले इजलासबाटै लिखित कागज पढीबाची सुनाए र प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदका कारण अवकाश पाइसकेको दाबी गरे । राणाको दाबीपछि चल्नै लागेको इजलाससमेत एकाएक रोकियो ।

अदालतमा एकाएक यस्तो घटना कसरी भयो ? अब प्रधानन्यायाधीश गोपाल पराजुली पदमा बहाल रहेको मान्ने कि नमान्ने ? यसबारे हामीले कानूनका जानकारलाई सोध्दा तीनवटा विकल्प प्रस्तुत भए । या त अब प्रधानन्यायाधीश पराजुली आफैंले राजीनामा दिनुपर्ने हुन्छ । या चोलेन्द्र बाहेकका अन्य न्यायाधीशहरुले प्रधानन्यायाधीश पराजुलीले अवकाश पाएका छैनन् भनेर निर्णय गर्नुपर्ने हुन्छ । अदालतबाट यी दुबै काम नभएमा संसदको ध्यान आकृष्ट हुन सक्ने विज्ञको भनाइ छ । 

सोमबार अदालतमा अकस्मात भएको सनसनीपूर्ण घटनाबारे हामीले घटनाका ‘चश्मदीप गवाह’ कानूनविद अधिवक्ता टीकाराम भट्टराईसँग संक्षिप्त वार्तालाप गरेका छौंः

न्यायाधीश चोलेन्द्र समशेर राणाले प्रधानन्यायाधीशविरुद्ध आफ्ना कुराहरु राख्दै गर्दा तपाई सर्वोच्च अदालतभित्रै हुनुहुन्थ्यो ?

हो,  म त्यहीँ थिएँ ।

त्यतिबेला अदालतको परिस्थिति कस्तो थियो ?

इजलास ११ बजे बस्नुपर्ने नियमित सेड्युल थियो । हिजो ११ बजे बस्ने भनिएको थियो । तर, आज ११ बजे इजलास बसेन । चोलेन्द्र श्रीमानको आदेश आउँदाखेरि १२ बज्न ५ मिनेट बाँकी थियो ।

सातै जना न्यायाधीशहरु सँगै आउनुपर्नेमा चोलेन्द्र श्रीमान पीएसओका साथ इजलासमा एक्लै आउनुभयो ।
मिडियाको मुद्दा भएको हुनाले इजलासमा मिडियाकर्मी साथीहरुको पनि धेरै उपस्थिति थियो । खचाखच थियो इजलास ।

इजलासमा आएर उहाँले के-के भन्नुभयो ?

एक्लै आएर उहाँले के भन्नुभयो भने हिजो यो इजलास सुरु हुनुहुन्दा अगाडि वहाँ -प्रधानन्यायाधीश गोपाल पराजुली) ले आफ्ना सबै चारित्रिक प्रमाणपत्रहरु, शैक्षिक प्रमाणपत्रहरु हामीलाई देखाउनुभयो । हामी मुद्दा हेर्ने सबैजना न्यायाधीशहरुलाई देखाउनुभयो । त्यसको कपी अध्ययन गर्दाखेरि उहाँको उमेरचाहिँ गत २०७४ साल साउन २१ गते नै ६५ वर्ष पुगिसकेको देखियो । यसरी ६५ वर्ष पुगिसकेको हुनाले र अब उहाँको अवकाश भइसकेको व्यक्तिले प्रधानन्यायाधीशका रुपमा तोकिएको इजलासमा बसेर मुद्दा हेर्न नैतिक र कानूनी रुपले नमिल्ने हुनाले म यो इजलासमा बसेर मुद्दा हेर्न सक्दिनँ । यो मेरो राय हो, बाँकी ६ जना न्यायाधीशहरुले के गर्नुहुन्छ, भनेर उहाँ उठ्नुभो ।

प्रधानन्यायाधीश पराजुलीको अवकाश भइसकेको दाबी गर्दैगर्दा न्यायाधीश राणाले कुनै कानूनी आधारहरु पनि दिनुभयो कि ?

उहाँले एउटा कानूनी आधार दिनुभएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा ३१ मा न्यायाधीशका दुईवटा उमेर देखिएर दुईवटा उमेरमध्ये एक वर्षभन्दा बढीको फरक देखियो भने एक वर्षभित्रको जुन कम उमेर छ, त्यसैलाई मान्न पाइन्छ । एक वर्षभन्दा बढी उमेर फरक छ भनेचाहिँ जुन बढी छ, त्यसैलाई मान्नुपर्छ । यस्तो कानूनी व्यवस्था भएको हुनाले न्याय प्रशासन ऐन २०७३ को दफा ३१ बमोजिम उहाँ (पराजुली) ६५ वर्ष उमेर पूरा भइसकेको देखियो । उहाँको जन्ममिति २००९ साल साउन २१ गते नै देखिएको हुनाले भनेर उहाँले लिखितरुपमा नै त्यो आदेश सुनाउनुभयो ।

 

आफ्ना कुराहरु राखिसकेपछि न्यायाधीश राणा बाहिरिइहाल्नुभयो कि तपाईहरुसँग थप केही कुराकानी पनि गर्नुभयो ?

उहाँले सुरुमा मौखिक सुनाउनुभयो । त्यसपछि हामीले लिखित ल्याउनुभएको रहेछ, श्रीमान लिखितै सुनाउनोस् भनेर अनुरोध गर्‍यौं । त्यसपछि उहाँले लिखितै पढेर सुनाउनुभयो । त्यो पढेर उहाँ जानुभयो ।

न्यायाधीश राणा इजलासबाट हिँडिसकेपछि बाँकी ६ जना न्यायाधीशहरु आएनन् ?

उहाँ गइसकेपछि बाँकी न्यायाधीशहरु आउनुभएन । त्यसपछि इजलास अधिकृतले आएर अब यो इजलास आज बस्दैन भनेर हामीलाई जानकारी गराउनुभयो ।

यो घटनापछि सर्वोच्च अदालतको परिस्थिति कस्तो भयो ? एकदमै अन्यौलपूर्ण देखियो वा सहज ?

नेपालको न्यायिक इतिहासमा यस्तो घटना कहिल्यै पनि घटेको थिएन । त्यसैले एउटा अन्यौलको अवस्था रह्यो । सबैभन्दा ठूलो कुरा त एकजना न्यायाधीशले इजलासमा बसेर प्रधानन्यायाधीशले अवकाश पाइसकेको भन्ने आदेश सुनाइसकेपछि बाँकी न्यायाधीशहरुले अब उहाँलाई प्रधानन्यायाधीश मानेर इजलासमा बस्ने कि नबस्ने ? यो प्रश्न खडा भयो । अब भरे बेलुकासम्म एउटा कुनै नयाँ घटना विकसित होला र त्यसले कुनै एउटा निकास दिन्छ होलाजस्तो लाग्छ मलाई ।

न्यायाधीशले नै त्यसरी इजलासबाटै लिखित सुनाइसकेपछि अब गोपाल पराजुली प्रधानन्यायाधीश रहनुभएन भनेर बुझ्दा हुन्छ ?यसलाई लोकले कसरी बुझ्ने अब ?

कानूनीरुपमा हेर्दाखेरि उहाँको व्यक्तिगत राय हो । अरु न्यायाधीशहरुले यसलाई मान्नुभएको छैन । अब न्यायाधीशहरुले के आदेश गर्नुहुन्छ, त्यो आउनै बाँकी छ । तर, इजलासमै बसेर उहाँले प्रधानन्यायाधीश रिटायर्ड भइसक्नुभयो भनिसकेपछि त इजलासबाट न्यायाधीशले यो आदेश दिन्छ भने प्रधानन्यायाधीश निरन्तर रुपमा रहन त कसरी मिल्ला र ? उहाँमाथि नैतिकमात्रै होइन, अब कानूनी प्रश्न पनि उठ्यो ।

तपाईको विचारमा अदालतमा देखिएको यस्तो समस्याको समाधान अब कसरी होला ?

अब यसको छिनोफानो गर्ने निकाय या त गोपाल पराजुलीजी आफैंले नैतिकरुपमा यस्तो प्रश्न उठेपछि राजीनामा गर्नुपर्‍यो । या अरु न्यायाधीशहरुले होइन, यो चोलेन्द्र समशेर राणाको व्यक्तिगत कुरा हो, उहाँको जन्म मिति बाँकी नै छ र उहाँ रिटायर्ड हुनुभएको छैन भनेर भन्नुपर्‍यो । तर, अरु न्यायाधीशहरुले त्यसो भन्ने सम्भावना म एकदमै कम देख्छु ।

के अब यथास्थितिमा सर्वोच्च अदालत अघि बढ्न नसक्ने स्थिति आएकै हो त ?

उहाँले यत्तिकै रुपमा पेशी तोकि रहनुभयो र अगाडि गइरहनुभयो भने न्यायापालिकालाई हेर्ने संसद छ । संवैधानिक परिषद छ । न्यायपरिषद छ । यी निकायहरुको ध्यान आकृष्ट हुन्छ होलाजस्तो मलाई लाग्छ ।

आज प्रधानन्यायाधीशको बेञ्चमा कान्तिपुर दैनिकको बाहेक अरु पनि त मुद्दा होलान् नि ? प्रधानन्यायाधीशले ती हेर्नुभएन ?

त्यो घटना पछाडि अहिलेसम्म उहाँको इजलास बसेको छैन । अरु न्यायाधीशका इजलासहरु बसिराखेका छन् ।

यो पनि पढ्नुस् 

प्रधानन्यायाधीशको अवकाश साउनमै भएको भन्दै न्यायाधीशले गरे बेञ्च बहिस्कार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment