Comments Add Comment

पौरखी किसानले कमाउँछन् घाँसको बीउ बेचेरै वार्षिक १० लाख

३० फागुन, तेह्रथुम । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् ।

उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् ।

त्यस्तै सपना देखेका थिए लालीगुराँस नगरपालिका–९, सोल्मा सिंजेपुका दिलकुमार लिम्बूले । उनको सपना पूरा हुन सकेन । लाहुरे बन्ने सपना टुटेपछि अहिले ३१ वर्षीय लिम्बूले गाउँमा परिवारसँगै बसेर व्यावसायिक गाइपालन गरिरहेका छन् । ‘याङहिङबाङ गाई फर्म’ का सञ्चालन उनले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरेका छन् ।

२०७२ मा खोलेको उनको गाई फर्ममा अहिले चारवटा उन्नत जातका दुधालु गाई छन् । ‘लाहुरे बन्ने धोकोले उमेरमा पढ्न सकिएन’, उनी भन्छन्, ‘उमेर बितेपछि बुद्धि पलायो, स्वदेशमै बसेर पनि नाम र दाम दुवै कमाउन सकिने रहेछ ।’

उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालनसम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिक गाईपालन गर्ने प्रेरणा मिलेको उनी बताउँछन् । लिम्बूले शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फर्म खोलेका थिए । उनको अलैँची खेती पनि छ ।

गाई फर्मका लागि शुरुमा करिब १० लाख रुपैयाँ लगानी गरेको उनले बताए । ‘फर्म दर्ता गरेपछि कृषि विकास बैंकले रु पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ’ लिम्बूले भने । अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उनी आफैले लगाएका छन् ।

उन्नत जातको घाँसको खेती गाउँमा थोरैको मात्र छ । उनले घाँसको बीउ पनि उत्पादन गर्छन् । उनी भन्छन्, ‘अहिले घाँसको बीउबाट मनग्य आम्दानी हुन थालेको छ ।’

गोरखा, तनहुँ र चितवनसम्म पुगेर उन्नत जातका घाँसको बीउ संकलन गरेको उनले बताए । लिम्बूले संकलन गरेको घाँसको बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले उनकैबाट घाँसको बीउ खरिद गर्छन् । उनको फर्मबाट अहिले दैनिक ४० लिटर दूध बिक्री हुन्छ । दूधबाट मासिक ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको लिम्बुले बताए ।

लिम्बूले उत्पादन गरेको दूध गाउँमा खुलेको तीनजुरे दुग्ध उत्पादक सहकारी संस्थाले खरिद गर्ने गरेको छ । यस वर्ष घाँसको बीउ बेचेर उनले १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । फर्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले उनले गाईफर्मकै आम्दानीबाट किस्तामा २२ लाख रुपैयाँको गाडीसमेत किनेका छन् ।

‘गाडीबाट मासिक रु ७० हजारभन्दा बढी आम्दानी भइरहेको छ’, उनले भने । गाई फर्मदेखि घाँस खेती र दूध ढुवानी गर्न लिम्बू आफैँ खटिन्छन् । गाई फर्म, अलैँची खेती, घाँस र गाडीबाट गरी यस वर्षमात्रै उनले २४ लाखभन्दा बढी आम्दानी गर्छन् । ‘अहिले त राम्रै कमाइ भइरहेको छ, बैंकको ऋण पनि घट्दो क्रममा छ’, लिम्बूले भने  ‘त्यही आम्दानीबाट परिवारको सबै खर्च र घरखर्चसमेत चलाउनुपर्छ ।’

सबै खर्च कटाएर लिम्बूले मासिक एक लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । ‘मिहिनेत गरे स्वदेशमै मनग्य कमाइ गर्न सकिने रहेछ’ लिम्बूले भने । जिल्लामा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाएका लिम्बू अहिले आफ्नो जातिको लोक संस्कृति संरक्षण र उत्थानमा समेत लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment