Comments Add Comment

महिलाहरुलाई प्रलोभनमा पारी ४० लाख ठग्ने कविता पक्राउ

पीडित महिलाहरू ।

१ चैत, वीरगञ्ज । विभिन्न प्रलोभनमा पारी लाखौं रकम ठगी गरी फरार भएकी कविता वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका-१० घर भई हाल वीरगञ्ज महानगरपालिका-१४ चिनी मिल आवास क्षेत्रमा बस्दै आएकी वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनका श्रीमान प्रल्हाद भक्त वाग्ले वीरगञ्ज चिनी कारखनाका कानुनी सल्लाहकार हुँदा पाएको क्वाटरमा उनी बस्दै आएकी थिइन् ।

उनले आवास क्षेत्रमा नै बसोबास गर्दै आएका विशेष गरी महिलाहरुलाई प्रभाव र प्रलोभनमा पारेर ४० लाख भन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ ।

ठगीमा परेका महिलाहरु र महानगरी प्रहरी वृत्त महाराजगञ्जको सहयोगमा वाग्लेलाई फागुन २९ गते काठमाडौंको महाराजगञ्ज क्षेत्रबाटै पक्राउ गरिएको थियो ।

त्यसको भोलिपल्टै वीरगञ्ज झिकाएर वाग्ले विरुद्ध ठगी मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘ठगी कति भएको छ ? भन्ने जानकारी छैन । जाहेरी आउने क्रम जारी छ ।’ उनले भने ‘ अहिले ठगीमा परेकाहरु मध्ये एकदमै थोरैले मात्रै उजुरी दिएका छन् ।’

आकर्षक व्याज दिने, पैसा घरमा राखेर बढ्दैन, ब्याजमा लगाउनुपर्छ भनेर प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुसँग लाखौं रकम लिएकी कविता वाग्ले फागुन १० गते फरार भएकी थिइन् ।

कविता सम्पर्कबिहीन भएपछि उनलाई रकम दिनेहरु चिन्तामा परेका थिए ।

श्रीमानलाई समेत जानकारी नदिइ वाग्लेलाई रकम दिएका महिलाहरुको घरमा किचलो चलिरहेको छ ।

कविताले पहिला घरमा सासुलाई रिझाउने र त्यसपछि बुहारीहरुलाई पनि फकाएर उनले रकम लिने गरेको खुलासा भएको छ ।

वाग्लेले वीरगञ्जमा बसोबास गर्दै विभिन्न पेशा व्यवसाय, रोजगारी मजदुरी गर्दै आएको दर्जनौं व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट लाखौं रकम लिएर फरार भएको आरोप पीडितहरुले लगाएका छन् ।

यसरी ठगीनेमा ९० प्रतिशत महिलाहरु रहेका छन् । बाग्लेले महिलाहरुको समूहमा बसेर विना धितो जमानीमा दर्जनौं बैंक तथा वित्तीय संस्थाहरुबाटसमेत रकम लिएको बुझिएको छ । उनले १ करोड भन्दा बढीको ठगी गरेको अनुमान गरिएको छ ।

शुरुमा सबैसँग राम्रो सम्बन्ध बनाउने र लिएको रकम तोकिएको समयमै बुझाउने कविता वाग्ले फागुन १० गतेदेखि सम्पर्क बिहिन भएको पीडितहरु बताउँछन् ।

कतिपयसँग बैंक मार्फत रकम दिएको भौचरहरु भएपनि अधिकांशसँग विश्वासमा परेर रकम दिएको हुँदा कुनै किसिमको कागजपत्र छैन ।
वर्षर्ाैदेखिसँगै बस्दै आएकोले विश्वासमा परेर रकम दिएको पीडित कञ्चन कोइरालाले बताइन् । ‘घरका पुरुष सदस्य नभएको समयमा घरमा जाने र महिलाहरुसँग विभिन्न दुखेसो गरेर प्रभावमा पार्ने उनको बानी रहेछ । पहिला थाहा भएन, अहिले पो थाहा पायौं ।’ उनले भनिन्, ‘शुरु शुरुमा लिएको रकम दिने गरेकी थिइन्, यसपटक सम्पर्कबिहीन भएकी छन् ।’

कविता वाग्लेले आफ्नो साढे तीन लाख लिएको बताउने गोमा सुब्बाले प्रभावमा परेर रकम दिएको बताइन् । ‘विभिन्न समस्या लिएर आउने गर्थिन, रोई कराई गरेर रकम लिएरै जाने उनको बानी थियो ।’ उनले भनिन् । ‘फेरि भनेका समयमा फिर्ता पनि ल्याएर दिने भएकोले विश्वासमा परियो । यसपटक नराम्रोसँग धोका भयो ।’

आफ्नो जमानीमा बैंकबाट समेत रकम दिलाएको बताउने उनी बैंकले ऋण तिर्न ताकेता गरिरहेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment