+
+

श्रीमान अरुसँग सल्किने हुन् कि भन्ने शंका लाग्छ, म के गरुँ ? 

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ४ गते १०:२२

करुणा मेम, नमस्कार ।

म २९ वर्षकी महिला हुँ । ६ महिना अगाडि मात्र मेरो मागी विवाह भएको छ । यो अवधिममा हाम्रो सम्बन्ध राम्रै छ । २९ वर्षमा महिलाको विवाह हुनु आजभोलि सामान्य नै भए पनि केहीलाई ढिला लाग्न सक्छ । तर म खुसी छु । 

यो कुरा लेख्नुको अर्थ के हो भने  म १९ वर्षको हुँदा मेरो भेट  विदेशी युवासँग भयो र गहिरो सम्बन्ध स्थापित भयो । शुरु शुरुमा उसले मलाई निकै माया गर्दथ्यो । ४ वर्ष पछि उसको अर्को युवतीसँग  यौन सम्बन्ध भएको थाहा पाएँ । यही कारण हाम्रो सम्बन्ध टुट्यो । 

हाल मेरो श्रीमान ३३ वर्षको हुनुहुन्छ र निकै माया गर्नुहुन्छ । हाम्रो सम्बन्ध ठिक छ तर मलाई उहाँले धोका दिनु हुने हो कि भन्ने डर लागिरहन्छ । पहिलेको अनुभवले होला, उहाँको अरु केटीसँग सम्बन्ध स्थापित भएर मलाई छोड्ने त होईन भन्ने लागिरहन्छ ।

कहिलेकाहीँ म यो कुरा गर्छु । यसरी शंका गर्नु राम्रो होइन भनेर रिसाउनु हुन्छ र यस्तो बेला हाम्रो यौनसम्पर्क पनि हुँदैन । उहाँको यो व्यवहारले मेरो मनमा झन् शंका वढेको छ । यो के भएको होला ? – मृदु

आफ्नो श्रीमान्सँग सम्बन्ध राम्रो छँदा छदै भविश्यमा केही नराम्रो हुन्छ कि भनेर सोच्नु आफैमा राम्रो काम होइन । तपाईंको विवाह भएको केवल छ महिना हुँदैछ । यो छोटो समयमै मनमा अविश्वास बोकेर सम्वन्ध अगाडि बढाउन खोज्दा सम्वन्धमा समस्या पैदा अवश्य हुन्छ ।

हो, मनमा कहिलेकाहिँ यस्तो भावना आउन सक्छ तर तपाईमा आएको शंकाले तपाईको श्रीमान्लाई कुनै दबाब हुनु हुदैन । हिजो यस्तो भयो, आज पनि यस्तै हुन्छ भनेर सोच्नु आफैमा समस्या निम्त्याउनु हो ।

थुप्रै संकल्प र प्रणहरुको धागोमा उनिएको एउटा प्रगाढ सम्वन्ध एकाएक चुडिन्छ भने अर्को यस्तै सम्वन्ध कसरी मजवूद बन्न सक्ला ? एकपछि अर्को सम्वन्ध यसरी चुडिदै गएपछि यो एउटा अन्तहीन श्रृंखला कहाँ पुगेर टुंगिएला ? प्रश्न निकै गहिरो लाग्छ । पक्कै पनि यस्तो स्थितिबाट गुजि्रने तपाई एक्लो हुनुहुन्न । सूचनाहरु बटुल्दै जाने हो भने संसारमा थुप्रै यस्तै यस्तै परिस्थितिबाट गुजि्रनेहरुको लामो सूची बनाउन सकिन्छ । एक पटक धोखा खाएकोले अर्को पटक पनि पाउन सक्छ भन्ने तर्कहरु टन् तर सिक्काको अर्को पाटो पनि छ । एउटा धोखाले अर्कोलाई पछ्याइरहने हुँदैन । केही यस्ता असहज सम्वन्धहरु हुन्छन्, जसको परिपक्वता स्थापित भैनसकेको हुन सक्छ र धोखा हुन सक्छ । एउटा धोखाबाट अर्को मजवूद सम्वन्धको गाँठो कसिन पनि सक्छ । विभिन्न समयमा भएका अध्ययन अनुसन्धानहरुले एकपटकको धोखाबाट पाठ सिक्दै नयाँ सम्वन्धहरु मजवूद र दिगो भएको देखाएका छन ।

करूणा कुवँर

तपाईको सन्र्दभको चर्चा गरौ हुनत तपाईले भने अनुसार एक पटक धोका पाएकोले अर्को पटक पनि  धोका हुनसक्छ भन्ने हो तर यो सधै सत्य नहुने भएकोले आफ्नो श्रीमान् यदी तपाईलाई साँच्नै मन परेको हो भने उहाँ सँग सम्बन्ध बढाउनका लागि विश्वासको वातावरण सृजना गर्न आवश्यकता हुन्छ । विश्वासको कमीले कतिपय दम्पतीले डिर्भोस गर्नुपर्ने अवस्था आउँछ । आपसमा माया र भावना साटासाट गर्ने अवसरहरु उपलब्ध हुनुपर्छ । अर्थात सबै किसिमको बैधानिकता हुनुपर्छ । यी सम्पूर्ण कुराहरुको अभावमा मानिसहरुमा केही न केही त्रास, डर वा शंका उपशंकाहरु हुन्छन र यसले गर्दा एकअर्काको भावनालाई वुझ्न कठिन भएको र दुवैले यौन सम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन भएको महशुस हुन सक्दछ ।

तपाईको प्रश्नमा तपाई र तर्पाको श्रीमान् बीच अहिले कुनै अप्ठयारो नभएको बुझिन्छ । त्यसैले एकअर्का सँग कुराकानी, आफ्ना चाहनाहरु अभिब्यक्त गर्ने तौर तरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले कुरा गरेमा यो समस्या त्यति ठूलो हो जस्तो लाग्दैन ।

कसैले एउटा पार्टनर हुँदा हुँदै अर्को पार्टनर बनाउँछ भने त्यसको पछाडी कुनै कारण अवश्य हुन्छ । आखिर एउटा व्यक्तिसँग सम्बन्ध रहँदा रहँदै अरुसँग मानिस किन यौनसम्बन्ध स्थापित गर्छ भन्ने विषयमा विभिन्न अध्ययन भएका छन् । यस्तोमा धेरैजसो एउटा साथीबाट राम्रोसँग यौन व्यवहार पूरा नभएको देखिएको थियो ।

त्यसबाहेक अन्य कारणमा भईरहेको सम्बन्ध सँग विभिन्न किसिमको असन्तुष्टि हो भन्ने देखिएको थियो । यसमा दुईजना विचको भावनात्मक, यौन चाहना वा व्यक्तित्व नमिलेको हुन सक्दछ । यदि बाल्यअवस्थामा भावना वा मायामा अभाव भोग्नु परेको वा आफूले पनि कुनै धोखाको महशुस गरेको छ भने मायाको खोजी गर्ने क्रममा धेरै पार्टनर हुन सक्दछ ।

एकपटक सम्बन्ध तुट्दैमा फेरी भविष्यको सम्बन्ध पनि त्यस्तै हुन्छ भनेर भन्न सकिदैन । वास्तवमा धोखा भन्ने कुरा व्यक्तित्व अनुसार फरक पर्न सक्छ । जस्तै यदी कुनै व्यक्ति स्वअनुसासित छ, अरुको भावनालाई वुझ्न सक्छ र सचेत हुन्छ उसले धोका दिने कम सम्भावना हुन्छ । त्यस्तै गरी जो व्यक्ति यसको ठिक विपरित छ उसले धोका दिने सम्भावना वढि हुन्छ । अर्को अध्ययनका अनुसार कोही व्यक्तिहरु तनाव र चिन्तावाट टाढा रहन पनि अर्को व्यक्ति सँग सम्बन्ध बढाउने गर्दछन् । त्यसैले यहांले शंकावाट सम्बन्धलाई विस्तार गर्नु भन्दा विश्वासका साथ वढाउने हो भने तपाईहरुको दाम्पात्य जीवन सफल र सुन्दर हुन्छ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई  [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?