Comments Add Comment

बस्ती खाली गर्न जनप्रतिनिधिले दबाव दिएको सुकुम्बासीको आरोप

४ चैत, कैलाली । कैलालीको गोदावरी नगरपालिका ७ हरैयास्थित पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ सुकुम्बासीले कब्जा गरी बसीराखेको ३५ विगाहा जग्गा खाली गर्न जनप्रतिनिधिले दबाव दिन थालेको आरोप लागेको छ ।

कैलाली निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधि सभामा निर्वाचित माओवादी सांसद लेखराज भट्टले जग्गा खाली गर्न दबाव दिएको सुकुम्बासी शिविरका अध्यक्ष सञ्जु चौधरीले आरोप लगाए ।

यद्यपि माओवादी केन्द्र प्रदेश नम्बर ७ ले भने यो आरोपको खण्डन गरेको छ ।

२०६३ सालमा माओवादीले नै सुकुम्बासीहरुलाई सो जग्गामा बसाएको थियो । त्यसको नेतृत्व नेता भट्टले गरेका थिए ।

चौधरीले भने, ‘पहिले हाम्रो उचित व्यवस्थापन गर्नुस् अनि मात्रै खाली गर्छौं भन्दा भट्टले तिमीहरुको व्यवस्थापन भैहाल्छ पहिला जग्गा खाली गर भनेर दबाव दिए ।’

जग्गा खाली गर्न नेता भट्टले माओवादी केन्द्रका जिल्ला सदस्य गौरी जोशीलाई निर्देशन दिएको चौधरीको दावी छ । अध्यक्ष चौधरीले भने, ‘गौरी जोशी आएर हामीलाई पटक-पटक जग्गा खाली गर्न भनेका छन् ।’

करिब ४० करोड रुपैयाँमा किनबेच

गत महिना उक्त जग्गा पोखराको सौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग प्रालि र प्रालिका तीन जना सदस्यका नाममा मालपोत कार्यालय कैलालीबाट नामसारी भएको छ ।

मालपोत कार्यालयको अभिलेखअनुसार ३९ करोड ८ लाख ८४ लाख रुपैयाँमा उक्त जग्गा पास भएको छ । तर, स्थानीयबासी करिब ६० करोड रुपैयाँमा किनबेच भएको दावी गर्दछन् ।

सबिना मल्ल शाहको नाममा रहेको ७ बिघा १३ कठ्ठा जग्गा सौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग प्रालिको नाममा नामसारी भएको छ । उक्त जग्गा १६ करोड २० लाख ८४ हजार रुपैयाँमा कारोबार भएको मालपोत कार्यालयले जनाएको छ । मल्ल जग्गा धनी रणबहादुर शाहकी श्रीमती हुन् ।

यस्तै शाहको नाममा रहेको १८.७३ कठ्ठा जग्गा ७ करोड ८० लाखमा कारोबार भएर नामसारी भएको मालपोत कार्यालयले जनाएको छ । सुदर्शन कुमार मल्लको नाममा रहेको जग्गा सिल्मिया बसेलको नाममा, अम्बिका शाहको नाममा रहेको जग्गा भावना बसेलको नाममा र अरुणकुमार हमालको नाममा रहेको जग्गा सुपि्रया बसेलको नाममा नामसारी भएको देखिन्छ ।

मालपोत कार्यालयका अनुसार सुदर्शनको नाममा रहेको ८८.५९ कठ्ठा जग्गा ७ करोड रुपैयाँमा, अम्बिकाको नाममा रहेको ९० कठ्ठा ८ करोड १० लाख रुपैयाँमा र अरुणका नाममा रहेको ८१.४९ कठ्ठा जग्गा ७ करोड रुपैयाँमा कारोबार भएको छ । सिल्मिया, भावना र सुपि्रया सौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग प्रालिका सदस्य हुन् ।

तर, जिल्लामा हुने सबैखाले राजनीतिक आन्दोलनमा आफूहरु सहभागी भए पनि तिनै नेताहरुले उठिबास लगाउन खोजेको गुनासो सुकुम्बासीहरुको छ ।

‘आफ्नो स्वार्थको लागि पार्टीको झण्डा बोकाउनेदेखि जुलुश आन्दोलनमा सहभागि गराए,’ सुकुम्बासी शिविरकी धर्मादेवी जोराले भनिन्, ‘अहिले राति राति आएर जग्गा खाली गर भनेर धम्की दिन्छन् । उठिबास लाउनु थियो भने पहिले नै हामीलाई जंगलमै छोडेको भए हुन्थ्यो ।’

माओवादीको स्पष्टीकरण

माओवादी प्रदेश नम्बर ७ का प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ले भने, ‘हिजो विद्रोही भूमिकामा रहँदा वस्ती बसाइएकोले जग्गा सधैंको लागि कब्जा गर्न नसकिने भए पनि सुकुम्बासी परिवारको बन्दोबस्त नहुँदासम्म सुकुम्बासीलाई बेघर बनाउन नहुनेमा हाम्रो पार्टी र मा. लेखराज भट्ट प्रतिवद्ध हुनुहुन्छ ।’

सुकुम्बासी परिवारलाई समस्यामा पार्ने गरी पार्टीका कुनै नेताले दबाव दिएको र भूमिका खेलेको पाइए छानविन गरी कारवाही गर्ने चेतावनी पनि माओवादी सात नम्बर प्रदेशले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment