Comments Add Comment

डाक्टरले जाँड खुवाए, काकाले भकुरे !

मनोज गजुरेलको पहिलो अनुभव

फाइल फोटो

पहिलो प्लेन यात्रा

क्याम्पस पढ्दै गर्दा पहिलोपटक प्लेनमा काठमाडौंबाट विराटनगर गएको थिएँ । कस्मिक एयरको जहाज थियो । पहिलोचोटि प्लेन चढ्दा मलाई ठूलो कोक्रोमा हल्लाएको जस्तो लागेको थियो ।

खासै डर लागेन । इन्टरनेसनल फ्लाइट चाहिँ पहिलोपटक सन् १९९८ सालमा नेपाल एयरलाइन्सको जहाजमा गरेँ । कार्यक्रमका लागि हङकङ गएको थिएँ ।

पहिलो विदेश भ्रमण

त्यतिबेला हास्यव्यंग्यको दोकान राम्ररी चलिसकेको थिएन । म अनेरास्ववियूमा काम गर्थे । अनेरास्ववियूले मलाई हास्यव्यंग्य कार्यक्रमका लागि हङकङ पठाएको थियो ।

त्यतिबेला मैले ३५ हजार पारिश्रमिक पाएँ । २० वर्ष अगाडि यो सानो रकम थिएन ।

पहिलोपटक फिल्म हेर्दा

२०४० सालमा झापाको दमकमा लक्ष्मी घुम्ती सिनेमा हलमा ‘सीता और गीता’ हेरेको हुँ । बाँसले बारेको हल थियो । म १ रुपैयाँ लिएर गएको थिएँ । ७५ पैसाको टिकट काटेँ, अनि त्यहाँको सबैभन्दा भीआईपी सीटमा बसेर फिल्म हेरेँ ।

रमाइलो के भयो भने मलाई कहाँनेर फिल्म देखिन्छ भन्ने थाहा भएन । म कतिबेला नाच्ने मान्छे आउलान् भनेर तल भूईंमा हेरिरहेको थिएँ । तर, उता पर्दामा फिल्म सुरु भइसकेछ । दर्शकहरु ताली पड्काउन सिटी फुक्न थाले । त्यसपछि पो मैले भेउ पाएँ

फिल्मको हाफटाइममा निस्केर २५ पैसाको वरफ र अर्थोक पनि खाएँ । फिल्म खासै बुझिनँ, तै पनि अद्भूत लाग्यो ।

पहिलोपटक टिभी हेर्दा

म सानो हुँदा गाउँमा कसैको टिभी थिएन । दमक बजारमा एक जनाकहाँ थियो, ब्याटि्रबाट चल्ने । तर, उसले हेर्न आउनेहरुसँग चाराना पैसा उठाउँथ्यो । म कहिल्यै हेर्न गइनँ ।

२०४५ सालमा काठमाडौं आएपछि मात्रै टिभी हेर्ने मौका पाएँ । मैतिदेवीमा डेरामा बस्दा घरबेटीकहाँ हेरेको हुँ । ‘टाढाको बस्ती’ नामक सिरियल हेरेको थिएँ । आफू पनि त्यसैगरी टेलिभिजनमा देखिन पाए कस्तो हुँदो हो भन्ने सोचेँ ।

पहिलो मोबाइल

कहिले हो बिर्सेँ, सोनी इरिक्सनको सेट ५ हजारमा किनेको थिएँ । एक वर्ष चलाएर एउटा साथीले मलाई बेचेको थियो । त्यो मोबाइल मैले धेरै चलाइनँ । मसँग चश्मा, मोबाइल धेरै टिक्दैनन्, हराइहाल्छन् । पहिलो मोबाइल ३ महिनापछि हराएको थियो ।

पहिलो कमाई

एन्टी सुवास घिसिङ अभियानको प्रचार प्रसारका लागि दार्जिलिङबाट क्यासेट रेकर्ड गर्न एउटा समूह आएको थियो । शम्भु राईको स्टुडियोमा रेकर्ड गरिएको त्यो क्यासेटमा मैले अलिकति बोल्ने मौका पाएको थिएँ । त्यसवापत मैले ५ हजार रुपैयाँ पाएँ ।

पहिलोपटक आर्यघाट

पहिलोपटक आर्यघाट कहिले गएँ भन्ने याद छैन । तर, अहिले चाहिँ गइरहन्छु । मिलेसम्म हप्तामा एकपटक जाने गर्छु ।

आर्यघाट पुगेर जलिरहेको लाशलाई हेर्दा मानिसको मनमा रहेको दम्भ, अहंकार, रिसराग सबै मेटिन्छन् । सेल्फ मोटिभेसन प्राप्त हुन्छ ।

पहिलोपटक रक्सी पिउँदा

नौ वर्षको हुँदा पहिलोपटक जाँड खाएको हो । म काकाको सानो छोरो खेलाउँदै हिँडिरहेको थिएँ । नजिकैको हेल्थ पोष्टमा काम गर्ने एकजना डाक्टरले एकान्तमा बोलाए ।

खाने हो ? मिठो हुन्छ भने । मैले पनि खाइदिएँ र भाइलाई पनि खुवाइदिएँ । एकछिनपछि भननन रिँगटा लाग्यो । घरमा काकाको भक्कु पिटाई खाइयो ।

पहिलो शौचालय

बच्चामा हगनगौडी भन्ने ठाउँमा शौच गरेको याद छ । ठूलो खाल्डो खनिएको हुन्थ्यो । मकैका ढोडले वरीपरी छोपिएको हुन्थ्यो । लोटा लिएर गयो, नाक थुन्दै दिशा गर्‍यो, धोयो थुक्दै निस्कियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment