News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार मनोज गजुरेलले टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' को तेस्रो सिजन घोषणा समारोहमा पूर्वराजाको पहिरन झल्किने पोशाक लगाएर विवाद निम्त्याएका छन्।
- विवादपछि गजुरेलले सामाजिक सञ्जालमार्फत क्षमायाचना गर्दै कार्यक्रमको उद्देश्य कसैको भावना आहत पार्ने नभएको स्पष्ट पारेका छन्।
- गजुरेलले सांस्कृतिक गरिमा र ऐतिहासिक विषयमा जिम्मेवार रहने प्रतिबद्धता जनाउँदै आगामी दिनमा सचेत रहने बताएका छन्।
काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ को तेस्रो सिजन घोषणा समारोहमा कलाकार तथा जज मनोज गजुरेलले लगाएको पोशाकले विवाद निम्त्याएको छ । कार्यक्रममा उनी पूर्वराजाको पहिरन झल्किने शैलीमा देखिएका थिए, जसको तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र विशेषगरी पूर्वराजावादी वृत्तमा प्रतिक्रिया देखियो ।
विवाद चर्किएपछि गजुरेलले सामाजिक सञ्जालमार्फत आधिकारिक रूपमा क्षमायाचना गरेका छन् । उनले आफ्नो भनाइ सार्वजनिक गर्दै कार्यक्रमको उद्देश्य कसैको भावना आहत पार्ने नभएको स्पष्ट पारेका छन् ।
“कमेडी दरबार ३ को प्रेस रिलिजमा प्रयोग गरिएको महाराज पात्रको पोशाकलाई लिएर यहाँहरूले दिनुभएको चासो र सुझावप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन्, ‘हाम्रो उद्देश्य कसैको मानमर्दन गर्ने वा भावनामा चोट पुर्याउने कदापि थिएन ।’
उनका अनुसार उक्त पोशाक कार्यक्रमको कथ्यअनुसार सिर्जना गरिएको काल्पनिक चरित्रको हिस्सा मात्र थियो । तर, सार्वजनिक संवेदनशीलतालाई लिएर आफ्नो पक्षबाट कमजोरी भएको स्वीकार गर्दै उनले खुला हृदयले क्षमा मागेका छन् ।
गजुरेलले आगामी दिनमा सांस्कृतिक गरिमा, ऐतिहासिक विषय र राष्ट्रिय सम्पदासँग जोडिएका सन्दर्भमा थप जिम्मेवार र सचेत रहने प्रतिबद्धता पनि जनाएका छन् । “देश र समाजलाई जोड्ने तथा साझा र समावेशी कलाकारिता नै हाम्रो मुख्य लक्ष्य रहनेछ,” उनले भनेका छन् ।
साथै, उनले आफ्ना कमजोरी औंल्याएर सचेत गराउने सबैप्रति आभार व्यक्त गरेका छन् । ‘कमेडी दरबार’को तेस्रो सिजन शुक्रबारदेखि प्रसारण तयारीमा छ ।
प्रतिक्रिया 4