११ चैत, पोखरा । पोखरामा चैतको अन्तिम साता मुक्तक महोत्सव हुने भएको छ ।
मुक्तक मञ्च पोखराको आयोजना र रोट्रयाक्ट क्लव अफ हेमजाको सह-आयोजनामा यहि चैत २२, २३ र २४ गते तीन दिने ‘मुक्तक महोत्सव २०७४’ आयोजना गरिएको हो ।
सिर्जनाको मूल्य दिलाउन ‘टिकटमा मुक्तक’ कार्यक्रमको उद्गम थलो पोखरालाई मुक्तक सहरका रुपमा स्थापित गर्ने अर्को प्रयास स्वरुप मुक्तक महोत्सव गर्न लागेको मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलले बताए ।
महोत्सवको अवरमा ४० भन्दा बढीले मुक्तक वाचन गर्ने भएका छन् । काठमाडौं, पोखरा, चितवनसहित देशका विभिन्न जिल्लाका चर्चित मुक्तककारहरुले मुक्तक वाचन गर्ने अध्यक्ष प्राञ्जलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै, महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक संग्रह विमोचनलगायतका कार्यक्रम हुने उनले बताए ।
राष्ट्रिय मुक्तक पुरस्कार सरुभक्तलाई
यसैबीच, राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ ।
मुक्तक विधामा नेपालमै पहिलोपटक साहित्यकार विष्णु अल्पविरामले स्थापना गरेको अक्षय कोषबाट हरेक २ वर्षमा प्रदान गरिने सो पुरस्कार यस वर्ष नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका पोखरेली साहित्यकार तथा मुक्तककार सरुभक्तलाई प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नगद २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र दोषल्ला रहेको पुरस्कार महोत्सवको अवसर पारेर अर्पण गरिने मुक्तक मञ्च पोखराले जनाएको छ ।
सम्मानित सरुभक्तले ३ दर्जन भन्दा बढी कृति प्रकाशित गरेका छन् भने उनले २०३५ सालमा प्रकाशन गरेको पहिलो कृति ‘बन्द खामभित्र’ पोखराको पहिलो मुक्तक संग्रह पनि हो ।
तीनवटा मुक्तक संग्रह लेखेका उनका हजार बुद्धहरु र प्रेम यात्रा पनि प्रकाशित छन् । कविता, नाटक, गीत, गजल, उपन्यास र कथा लेखनमा प्रसिद्धी कमाएका सरुभक्तले पागल बस्ती उपन्यासबाट मदन पुरस्कारसमेत पाइसकेका छन् ।
यसअघि यस पुरस्कारबाट मुक्तककारहरु कृष्णप्रसाद पराजुली र रत्नसमशेर थापा सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया 4