Comments Add Comment

छोरीको स्कुल, रोबोट उत्पादन गर्ने कारखानाजस्तै

अन्ततः आफ्ना बच्चालाई पाँचौं स्कुलबाट पनि निकालिदिएँ ।

महाराजगञ्जको स्मृति चाइल्ड केयरमा भर्ना गरिदिँदा उनी पुग नपुग तीन वर्षकी थिइन् । छोरी हुर्कदै जाँदा छिमेकीहरूले भने, ‘लौ, अझै स्कुल पठाएको छैन ? किन घरमै राखेको ?’

छोरीलाई ज्ञानको खाँचो र हाम्रो मर्जीभन्दा पनि छिमेकीको ‘सदिच्छा’ले सानै उमेरमा छोरीलाई ‘एबिसिडी’ रटाउन थालियो । हामीले पनि ठान्यौं, ‘उल्लेख भए बमोजिक शुल्क भुक्तानी गरेर छोरीलाई स्कुल पठाएपछि उनी ज्ञानी भएर निस्कनेछिन् ।’

आमाको दुध छुटाइएकी छोरी प्लाष्टिकको बोतलमा गाईको दुध र टिफिन बक्समा खाजा बोकेर स्कुल जान थालिन् । स्कुल गएपछि दिउँसो सुत्ने बानी छुट्यो । आँखाहरू लोलाउँथे होलान्, तर म्यामको हातको छडीले उनलाई निदाउन दिँदैनथ्यो । अपरान्ह ४ बजेतिर घर र्फकंदा उनको झोला मात्र होइन, शिक्षकको असाइन्टमेन्ट पनि हुन्थ्यो ।

भाँडाकुटी छाडेर होमवर्क

छोरीलाई भाँडाकुटी खेल्न मन लाग्दो हो, कार्टुन हेर्न मन लाग्दो हो, उफ्रिन मन लाग्दो हो, आमाको काखमा सुत्न मन लाग्दो हो, बुबाको काँधमा बुई चढेर डुल्न मन लाग्दो हो । तर, ज्ञानी बन्नुपर्ने बाटोमा लागेपछि उनले त्यसो गर्न पाइनन् ।

छोरीको पहिलो प्राथमिकता ‘होमवर्क’ थियो । फोर लाइन कपीमा ‘एबिसिडी’ लेख्नमा उनले आफ्नो कलिलो हातलाई अभ्यस्त गराउनु थियो । पेन्सिल च्याप्न नसक्ने कोमल औंलाहरूले ‘माई नेम इज’ भनेर कपीमा खोप्नु थियो ।

आमाको काख छाडेर कक्षाकोठामा

सुरुमा नयाँ ब्याग, नयाँ पुस्तक, नयाँ कपी, नयाँ पेन्सिल पाएर उनले खुसी हुँदै स्कुलको प्राङ्गण टेकेकी थिइन् । तर, दोस्रो दिन उनले त्यही उत्साहका साथ आफ्नो पाइला चालिनन् । फकाई-फुल्याई स्कुलको कक्षा कोठासम्म पुर्‍याइयो र मेरो छाती अँठ्याइरहेका नरम हातहरू जबरजस्ती छुटाएर ‘म्याम’को जिम्मा लगाइयो ।

म बाहिर आइपुग्दा उनी जोड-जोडले चिच्याएर रोइरहेकी थिइन् । त्यो रुवाइ, त्यो चिच्याहट के को लागि थियो ? हामीले नबुझे पनि उनले अनुभूत गरेकी थिइन् ।

खुला संसार छाडेर ‘आज्ञाकारी’ हुनुपर्दा

छोरीको निम्ति आमाबुबाको सामीप्य नै आफ्नो खुला संसार थियो । त्यही संसार हो, जहाँ उनी उन्मुक्त खेल्न सक्थिन् । रमाउन सक्थिन् । घुर्की लगाउन सक्थिन् । दिसा-पिसाब गर्न सक्थिन् । भोक लाग्दा रुन र पेट भरिएपछि फुरुंग हुँदै खेल्न सक्थिन् ।

तर, चारतिर पर्खालले घेरिएको कक्षा कोठाभित्र उनको लागि यो सबै अनुकूलता थिएन । उनले त्यहाँ ‘अनुशासन’ पालना गर्नुपथ्र्यो । र, भोक-तिर्खा लागेमा, दिसा-पिसाब आएमा अनुमति लिएर मात्र आफ्नो आवश्यकता पूरा गर्नुपथ्र्यो ।

अरू समयमा उनले पाठ घोक्नुपथ्र्यो । अक्षर चिन्नुपथ्र्यो । सोधिएका कुराको जवाफ दिनुपथ्र्यो । आज्ञाकारी हुनुपथ्र्यो ।

आमाको दूधको तिर्सना लाग्दा प्लाष्टिकको निप्पल चुस्नुपथ्र्यो । बुबासँग बेपर्वाह ‘हट घोडा हट’ खेल्न मन लाग्दा म्यामको निगरानीमा सावधानीपूर्वक पिङमा मच्चिनुपथ्र्यो ।

बालापन छाडेर विद्यार्थी बनिदिँदा

छोरीलाई पक्कै थाहा थिएन, ‘मलाई आमाबुबाले आफैसँग नराखेर किन यहाँ (स्कुलमा) ल्याइदिए ?’

छोरीलाई पक्कै थाहा थिएन, ‘मलाई आफूखुसी खेल्न नदिएर किन अक्षरहरू घोकाउन लगाए ?’

छोरीलाई पक्कै थाहा थिएन, ‘मलाई खेल्न, उपि|mन नदिएर किन अनुशासित बन्न लगाए ?’

तीन वर्षको कलिलो बच्चालाई ‘शिक्षा नै जीवनको ज्योति हो’ भन्ने रेडिमेड मान्यता थाहा थिएन । किनभने उनको लागि त भाँडाकुटी, टेडी बियर, बार्बी डल, टम एन्ड जेरी, मोटु पातलु, डोरेमन प्रिय थियो । खुसी थियो । उत्साह थियो । ऊर्जा थियो । उमंग थियो । सारा संसार थियो ।

तर, हामीले उनको ढाडमा सय पृष्ठको रंगीन पुस्तकको बोझ थपिदिँदै गयौँ । उनको दिमागमा कोच्नका लागि हामीले यति धेरै पुस्तकको ठेली किनिदियौँ कि, त्यो उनको मेरुदण्डले धान्ने खालको थिएन ।

आफ्नो खुसी खुम्च्याएर अरूको मन राखिदिँदा

कारणवश छोरीको स्कुल स्थानान्तरण गरियो ।

नयाँ स्कुल, नयाँ ठाउँ, नयाँ साथीभाइ । गेटको अघिल्तिर स्कुलको पुन्टे भ्यान रोकिएर हर्न बजाउँदा उनी उफ्रिदै त्यता दौडिएकी थिइन् । भ्यानको झ्यालबाट पुक्क परेको हात छिराएर ‘बाईबाई’ गरेकी थिइन् ।

तर, अर्को दिनदेखि उनलाई त्यही भ्यानको हर्न कर्कस र डरलाग्दो लाग्न थालेको थियो । भ्यान आएर गेटमा रोकिँदा हामीलाई जोडले अँठ्याएर रुने गर्थिन् ।

उनलाई थाहा थियो, ‘स्कुल जानैपर्छ ।’ उनलाई के पनि थाहा थियो भने, ‘स्कुल नगए आमाबुबा रिसाउँछन् । म्याम रिसाउँछन् ।’ सबैको मन राख्नका लागि उनले आफ्ना खुसीहरू खुम्च्याउँदै गइन् । र, त्यसैमा अभ्यस्त हुँदै गइन् ।

मनमा औडाह बोकेर पनि उनी जबरजस्ती ‘बाई-बाई’ भन्न थालिन् ।

छोरीलाई कहाँबाट डर पस्यो ?

स्कुल जानुअघि छोरी उन्मुक्त थिइन् । उनलाई डर थिएन । मनलाग्दी गर्थिन् । गर्न मन लागेको गर्थिन् । सोध्न मन लागेको सोध्थिन् ।

तर, स्कुलमा अभ्यस्त हुँदै गएपछि उनमा डर पस्यो । कुनै कुरा गर्नअघि त्यसो गर्दा गाली खाइने हो कि ? कुनै प्रश्न सोध्नुअघि त्यो प्रश्न ‘ननसेन्स’ हुने हो कि ? कुनै खेल खेल्नुअघि त्यसरी खेल्दा अनुशासनहीन भइने हो कि ? कुनै शब्द प्रयोग गर्दा त्यसको अर्थ नमिल्ने हो कि ?

यावत् भयले उनको हातखुट्टा बाँध्दै लग्यो । मन नियन्त्रण गर्दै लग्यो । भँगेरा जस्तै चुलबुल-चुलबुल गर्दै भुर्र-भुर्र उड्ने उनी पिंजडाको सुगा जस्तै सतर्क र अनुशासित हुन थालिन् ।

उनी मनको कुरा खुलेर गर्न धक मान्न थालिन् । मनलाग्दो कुरा गर्न डर मान्न थालिन् । चुपचाप बस्थिन् । उफ्रिनु, खेल्नु, कराउनु हुँदैन भन्ने कुरा थाहा पाइसकेकी थिइन् । देख्नेहरूले भन्थे, ‘आहा ! स्कुल जान थालेपछि कति ज्ञानी भइछे ।’

घडीको काँटा जस्तै दैनिकी 

छोरी बेपर्वाह सुत्न मन गर्थिन् । तर, स्कुलको भ्यान आउनु एक घण्टाअघि उनले उठ्नुपथ्र्यो । मुख धुनुपथ्र्यो । पानी पिउनुपथ्र्यो । ट्वाइलेट बस्नुपथ्र्यो । दाल र भात खानुपथ्र्यो । पाइन्ट, सर्ट, टाई, जुत्ता लगाउनुपथ्र्यो । कपाललाई दुईचुल्ठी पारेर नीलो रिबनले बाँध्नुपथ्र्यो । आफ्नो तौल बराबरको झोला झुन्ड्याएर भ्यानतिर दौडनुपथ्र्यो ।

बिहान आठ बजे बाहिरिएकी उनले साँझ चार बजे मात्र घर टेक्न पाउँथिन् । आफ्नो गन्ध मिसिएको बार्बी डललाई छुन पाउँथिन् ।

घरभित्र पस्दापस्दै उनको झोलाको जिप आधा खोलिएको हुन्थ्यो । युनिर्फम खोल्न नभ्याउँदै कापी र पेन्सिलमा उनको हात यन्त्रवत् चल्न सुरु गरिसकेको हुन्थ्यो ।

त्यसबीचमा उनले केही खाजा खाइसक्नुपथ्र्यो । होमवर्क गरेर, कापी-पेन्सिल मिलाएर, युनिर्फम खोलेर, खाजा खाएर एकछिन सुस्ताउँदा-सुस्ताउँदै उनी झुल्न थाल्थिन् ।

फेरि अर्को बिहान आँखा खुल्न नपाउँदै उनको कानमा चर्को आवाज पथ्र्यो, ‘छोरी उठ । स्कुल जाने बेला भइसक्यो ।’

स्कुलमा भूत छ

एकरात छोरीले भनिन्, ‘बाबा ! हामी कतै टाढा गाउँतिर जाँदा हुँदैन ?’

‘किन छोरी ?’

उनले ‘किन’ को जवाफ दिइनन् । सम्भवतः मनमा मडारिएको त्यस्तो जवाफ उनी भाँती पुर्‍याएर दिन सक्दैनथी ।

खासमा उनलाई स्कुल जान डर लाग्थ्यो । स्कुलको भित्ता, कुर्सी, क्लासवर्क, म्याम सबै कुरामा उनको विकर्षण थियो । सबैभन्दा विकर्षण त आफूलाई ‘ज्ञानी र आज्ञाकारी’ बनाउन कक्षाकोठामा छडी बोकेर तैनाथ हुने म्यामसँग थियो । ती म्याम सम्भवत उनको जीवनकै ‘भयानक’ पात्र थिइन् ।

अर्को दिन स्कुल जाने बेला उनले टाउको दुखेको भनिन् । हामीले जबरजस्ती स्कुल पुर्‍यायौँ ।

फेरि अर्को दिन स्कुल जाने बेला उनी ओछ्यानबाट उठ्दै उठिनन् । हामीले जबरजस्ती स्कुल पुर्‍यायौँ ।

एक रात निदाइसकेकी छोरी चिच्याएर उठिन् ।

भोलिपल्ट उनलाई हल्का ज्वरो आएको थियो । त्यस दिन उनले स्कुल जानु परेन । तर, बाँकी दिनहरूमा पनि उनी स्कुल जान तयार भइनन् । झगडा गर्न थालिन् । चिच्याउन थालिन् । रुन थालिन् । सिरकमा गुटुमुटु पर्न थालिन् ।

हामीले स्कुलकी पि्रन्सिपल म्यामसँग कुरा गर्‍यौँ । उहाँले मन्द मुस्कानसाथ क्लास टिचरलाई बोलाएर हाम्रो समस्या राखिदिइन् । क्लास टिचर म्यामले अलि टर्रो शब्दमा भनिन्, ‘अरू सबै बच्चा आइरहेका छन्, तपाइर्ंको बच्चा नआउनुपर्ने कारण छैन ।’

हामी कारण खोज्नभन्दा अरू स्कुल खोज्नतिर लाग्यौं

पाँचौं स्कुल खोज्दा-खोज्दै

हामी चाहन्थ्यौं, यस्तो स्कुल जहाँ छोरी उत्साहका साथ जान तयार होऊन् ।

हामी चाहन्थ्यौं, यस्तो स्कुल जहाँ छोरीले बोझिलो अनुभव नगरून् ।

हामी चाहन्थ्यौं, यस्तो स्कुल जहाँ छोरीले उन्मुक्त जीवनोपयोगी कुरा सिक्न सकून् ।

हामी चाहन्थ्यौं, यस्तो स्कुल जहाँ छोरी शिक्षकसँग भयभीत नहोऊन् ।

हामी चाहन्थ्यौं, यस्तो स्कुल जहाँ आफ्ना सहपाठीमाझ हीनताबोध गर्नु नपरोस् ।

स्कुल त गल्ली-गल्लीमा भेटिन्थे । तर, सबै कारखानाजस्ता । बच्चालाई रोबोट बनाउने कारखाना ।

घोकाएर हुन्छ कि, रटाएर हुन्छ कि, तर्साएर हुन्छ कि, पड्काएर हुन्छ कि, बच्चालाई सैयौं पृष्ठको पाठ हुबहु भन्न/लेख्न/पढ्नसक्ने बनाउने ।

‘समाजसेवी’को आवरणमा यस्तै कारखाना चलाएर बस्ने म्यामको स्कुलबाट हामी निरास भइसकेका थियौं । यसबीचमा हामीले के थाहा पायौँ भने, सञ्चालिकाले अत्यन्तै थोरै तलबमा सामान्य ‘म्याम’हरूलाई रोजगार दिने रहेछन् । स्कुललाई धेरै मुनाफा आर्जन गर्नु रहेछ । पत्रपत्रिकाका भाइबहिनीहरूलाई ‘चिया खर्च’ दिन, पार्टीका लेटरप्याडमा समाजसेवाको लागि पत्राचार गर्ने कर्णधारहरूलाई ‘सहयोग’ दिन पनि उनले अतिरिक्त खर्च बचाउनुपर्ने रहेछ । यसरी थुपै्रतिर टालटुल गर्नुपर्ने भएकाले त्यो पैसा ‘म्याम’हरूलाई दिनुपर्ने पारिश्रमिकबाट कटौती हुने रहेछ ।

अतः माझिएका/खारिएका/परिपक्व/समझदार भन्दा पनि प्लस टु वा बीएको प्रमाणपत्र पेश गरेकाहरूलाई ‘म्याम’मा भर्ती गरिने रहेछ । । उनीहरूलाई एकातिर कम तलबको झोँक, अर्कोतिर पाठन विधिको बोझ ।

यस्तो अवस्थामा उनीहरूले विद्यार्थीलाई बुझाएर, सम्झाएर जीवनोपयोगी कुरा सिकाउने भन्दा पनि चस्माको फ्रेम माथिबाट आँखा फुकालेर, चर्को आवाज ओकलेर, हातमा छडी नचाएर पाठ घोकाउँदा रहेछन् । यस्तै ‘म्याम’को फेला परेपछि मेरी छोरीलाई ‘टाउको दुखेको’ रहेछ ।

छोरीकै सहपाठीले हामीलाई सुनाए, ‘फलानो म्यामले सुयशालाई पनिसमेन्ट दिनुभएको थियो ।’

छोरीले कहिल्यै भनिनन्, ‘आफूमाथि स्कुलमा कति क्रूर व्यवहार हुन्थ्यो ? आफूमाथि कति विभेदपूर्ण व्यवहार हुन्थ्यो ?’ किनभने त्यसरी अभिभावकलाई पोल लगाएछि त्यसबापतको अतिरिक्त सजाय पनि आफैंले भोग्नुपर्छ भन्ने कुरा छोरीलाई थाहा थियो ।

पाँचौं स्कुलको खोजी गरिरहँदा पनि उनमा कक्षाकोठा, म्याम, होमवर्क, पनिसमेन्टको पुरानै विम्ब हटिसकेको थिएन । उनी स्कुल जान पटक्कै उत्साहित थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment