Comments Add Comment

वामपन्थी कार्यदलको प्रतिवेदन तयार, जनयुद्ध र सूर्य चिन्हमा विवाद

केन्द्रीय कमिटी २९९, प्रदेश १५०, जिल्ला ७५ देखि १२५ सदस्यीय हुने

१४ चैत, काठमाडौं । एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित एमाले र माओवादीको कार्यदलले केही बुँदामा अहसमतिसहित आफ्नो प्रतिवेदन तयार पारेको छ ।

बुधबार बसेको कार्यदलको बैठकले जनयुद्ध र सूर्य चिन्हक विषयमा सहमति जुटाउन सकेन ।

विधानको प्रस्तावनामा जनयुद्ध राख्ने माओवादीको प्रस्तावमा एमाले सहमत भएको छैन । त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने कुरामा माओवादी सहमत भएको छैन ।

माओवादीले सूर्य चिन्हभित्र हँसिया हथौडा राख्नुपर्ने भनेको छ भने एमालेले प्रस्तावनामा जनयुद्ध शब्द नराखौं भनेको छ ।

यो विषयलाई अब पार्टी एकता संयोजन समिति बैठकले टुंगो लगाउन कार्यदलका सदस्य एबम् माओवादी नेता वर्षमान पुनले अनलाइनखबरलाई बताए । अन्य विषय सर्वसम्मत रुपमा टुंगो लगाएर संयोजन समितिमा पठाएको उनले जानकारी दिए ।

एमाले उपमहासचिव बिष्णु पौडेलका अनुसार महाधिवेशन, राष्ट्रिय परिषदसहित पार्टीमा आठ संरचना रहनेछन् । चुनाव चिन्ह सूर्य राख्ने सन्दर्भमा यसअघि माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर नै गरिसकेको स्मरण गर्दै उनले यसमा धेरै समस्या नरहेको बताए ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुनेछ । पार्टीमा सबैभन्दा माथिल्लो निकाय महाधिवेशन हुनेछ । त्यस्तै एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनको बीचमा काम गर्ने राष्ट्रिय परिषद बन्ने भएको छ ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय भएको कार्यदलका सदस्य बेदुराम भुसालले बताए । एकीकृत पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय, पोलिटव्यूरो ९९ सदस्यीय र ३३ सदस्यीय स्थायी कमिटी हुनेछ ।

पार्टीमा महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी -प्रतिनिधिसभा र प्रदेशसभा अलगअलग), स्थानीय तह, वडा र प्रारम्भिक कमिटी रहनेछन् ।

केन्द्रीय कमिटीभन्दा तल प्रदेश कमिटी रहनेछन् । प्रदेश कमिटी १५० सदस्यीय रहने प्रस्ताव गरिएको छ । एमालेले प्रदेशको आकार अनुसार संख्या तलमाथि गर्ने भनेको छ भने माओवादीले सातै प्रदेशमा उत्तिकै संख्यामा प्रदेश कमिटी गठन गर्ने प्रस्ताव राखेको छ ।

त्यसपछि जिल्ला कमिटी रहनेछन् । जिल्ला कमिटीको संख्या न्युनतम ७५ देखि अधिकतम १२५ सम्म रहने भुसालले बताए । जिल्लामा निर्वाचन क्षेत्रको संख्याका आधारमा कमिटीको संख्या घटी बढी हुनेछ ।

जिल्ला मुनी निर्वाचन ७५ सदस्यीय क्षेत्रीय कमिटी हुनेछन् । त्यस्तै महानगर कमिटी पनि ७५ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । उपमहानगर कमिटी ६१ सदस्यीय हुनेछन् ।

कार्यदलले नगरपालिका कमिटी र गाउँपालिका कमिटीहरु ५१ सदस्यीय हुने गरी प्रस्ताव गरेको छ । वडा कमिटी २५ सदस्यीय हुनेछन् भने प्रारम्भिक कमिटी १५ सदस्यीयसम्म हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment