Comments Add Comment

पीयूमा स्ववियु चुनावको रौनक, संस्थापक बन्ने होडबाजीमा विद्यार्थी संगठन

  १४ चैत, पोखरा । पोखरा विश्वविद्यालय स्थापना भएको २१ वर्ष पुग्यो तर, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कहिल्यै भएन ।

यतिबेला भने पहिलो स्ववियु निर्वाचनले माहोल तातेको छ । विद्यार्थी संगठनहरु स्ववियुको संस्थापक बन्ने होडमा प्रचारप्रसार र विद्यार्थीको मत तान्न लागि परेका छन् ।

चैत २१ गते हुने निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता छ । विद्यार्थी संगठनहरु प्यानल बनाएर चुनाव लड्ने तयारीमा छन् ।

पार्टी एकताको तयारी गरिरहेका एमाले-माआवादी केन्द्र निकटका विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारी गठबन्धन गरेर चुनावी मैदानमा उत्रने कसररत गरिरहेका छन् । तर, भागबन्डा मिलिसकेको छैन । भागबन्डा मिलाउन दुबै विद्यार्थी संगठनका नेता पोखरा आइपुगेका छन् ।

कांग्रेस निकट नेपाल विद्यार्थी युनियनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न गृहकार्य गरिरहेको छ । दुई अखिल एक भएर निर्वाचनमा जाँदा जीत हासिल गर्न कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

पोखरा विश्वविद्यालयमा संघीय समाजवादी फोरम निकटको समाजवादी विद्यार्थी फोरम पनि सक्रिय छ । उसले पनि वाम गठबन्धनबाटै चुनाव लड्न लागि वार्ता गरिरहेको छ ।

अखिल र क्रान्तिकारीको भागवण्डामा समस्या

एमाले निकटको अनेरास्ववियुले अध्यक्ष र सचिव बाहेक अन्य पदाधिकारीमा अखिल क्रान्त्रिकारीलाई छोड्न तयार भएको छ ।

क्रान्तिकारीले सचिव, कोषाध्यक्ष वा उपाध्यक्षमा दाबी गरेको क्रान्तिकारीका नेता रामचन्द्र केसीले जानकारी दिए । ‘गठबन्धन गरेर चुनावमा जाने कुरामा दुई मत छैन तर, भागबन्डा मिल्नुपर्छ,’ केसीले भने, ‘सम्मानयोग्य ठाउँ दिनुपर्‍यो भन्ने हाम्रो माग हो ।’

बुधबार वा बिहीबार बिहानसम्म सबै टुंगो लगाउने गरी वार्ता भइरहेको छ । अनेरास्ववियुबाट अध्यक्षमा इकाइ कमिटी अध्यक्ष सुनील तिमिल्सिनाले दाबी गरेका छन् । उनीसँगै अन्य २/३ जना विद्यार्थी नेता पनि आकांक्षी छन् ।

एमाले र माओवादी केन्द्रबाहेक नयाँशक्ति, विप्लव र वैद्य, समाजवादी फोरम निकटका विद्यार्थी संगठनले एउटा प्यानल बनाएर चुनावी मैदानमा उत्रने तयारीमा छन् ।

क्रान्तिकारी भने सचिव वा अध्यक्षमध्ये एउटा पद पाउनैपर्ने अडानमा छ । ‘एक तिहाइभन्दा बढी विद्यार्थी क्रान्तिकारी समर्थक भएको ठाउँमा कम्तीमा १ मुख्य पद पाउनै पर्छ,’ पोविक्रान्तिकारी विद्यार्थीका पूर्व संयोजकसमेत रहेका रामचन्द्रले भने ।

समाजवादी विद्यार्थी फोरमलाई आˆनो पक्षमा पार्न नेवि संघले पनि कसरत गरिरहेको छ । तर, फोरम वाम गठबन्धनसँग मिल्ने गरी वार्ताका लागि तयार भएको छ ।

नेविसंघमा पनि आकांक्षी धेरे

नेवि संघबाट पनि अध्यक्षका आकांक्षी धेरै छन् । तीनैमध्येबाट पदाधिकारीको टुंगो लगाएर बिहीबार मनोनय दर्ता गर्ने नेवि संघका स्वतन्त्र बस्नेतले जानकारी दिए ।

नेविसंघ इकाइ अध्यक्ष स्वतन्त्र बस्नेतले गठबन्धन गर्न सामाजवादी विद्यार्थी फोरमसँग वार्ता भइरहेको जानकारी दिए । फोरम भने दुवैतिर पर्ख र हेरको अवस्थामा छ ।

स्वतन्त्र प्यानल पनि सक्रिय

स्वतन्त्र प्यानल भने विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी सक्षम, मेहेनती, विद्यार्थी उत्पादन गर्ने थलोको रुपमा विकास गर्ने योजनासहित प्रचारप्रसारमा लागेको पोखरा विश्वविद्यालय क्रियटिभ ग्रुपका सचिव योगेश विष्टले बताए ।

२ हजार १ सय ३० मतदाता रहेको विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र विद्यार्थीका समस्या हल गर्न स्ववियु लाग्ने भन्दै मतदातालाई फकाइरहेका छन् ।

विश्वविद्यालयमा स्ववियुको सकारात्मक र नकरात्मक दुवै प्रभाव पर्ने गरेको अवस्थामा सकारात्मक पक्षलाई आत्मसात गर्ने तथा विश्वविद्यालयलाई व्यवस्थित गर्ने गरी पहिलो समिति आउनमा आशावादी रहेको प्राध्यापक योगराज लामिछानेले बताए । उनले भने, ‘विश्वविद्यालयलाई व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्ने थलाको रुपमा स्थापित गर्ने गरी स्ववियु टिक आउनेमा हामी टुक्क छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment