Comments Add Comment

नयाँ फिल्डमा आएको महसु्स भइरहेको छः केकी अधिकारी

नायिका केकी अधिकारी यतिबेला ‘कोहलपुर एक्सप्रेस’ मा यात्रारत छिन् । यसको मतलब उनी बस चढेर कोहलपुर हिँडेकी होइनन् । यो उनले निर्माण गरेको फिल्मको नाम हो ।

फिल्मको हालै ट्रेलर सार्वजनिक भएको छ जसमा राम्रा प्रतिक्रियाहरु आइरहेका छन् । यसबाट केकीको हौसला बढेको छ । यसअघि फिल्मको एउटा गीत ‘सीओडब्लु काउ’ हिट भइसकेको छ । कमेडी जनराको फिल्मको निर्देशन म्युजिक भिडियोबाट खारिएका निर्देशक विशाल भण्डारीले गरेका छन् ।

यही फिल्मको सेरोफेरोमा केकीसँग गरिएको कुराकानीः

हिरोइनमा राम्रै चलिरहनु भएको छ, आफैं फिल्म बनाउन किन तम्सिनुभयो ?

आफैं फिल्म बनाउनुका दुई कारण छन् । पहिलो त आफूले चाहेको जस्तो कथा भन्न सकुँ भनेर हो । दोस्रो चाहिँ, हरेक नायिकाको निश्चित आयू हुन्छ । एउटा उमेर पार गरेपछि नायिकाबाट रिटायर्ड हुनैपर्छ । म चलचित्र क्षेत्रमा कुनै पनि भूमिकाबाट लामो समय योगदान दिन चाहन्छु । त्यसका लागि बेस पनि बनाएकी हुँ ।

कोहलपुर एक्सपे्रेसमा आफूले चाहेजस्तो कथा भन्नुभएको छ त ?    

यो मेरो पहिलो फिल्म भएकाले धेरै रिस्क मोल्न चाहिँन । सेफ साइडमै बसेकी छु । अहिले बजारमा कमेडी नै धेरै बिकिरहेको छ । म पनि यो धारबाट अलग रहन सकिनँ । तर, यो फिल्ममा फरक फ्लेवरको कमेडी दर्शकहरुले पाउनुहुनेछ ।

आफ्ना प्रतिस्पर्धि नायिकाहरुलाई खेलाउनुभएको छ, रोल बाँडफाँड गर्न कत्तिको गाह्रो भयो ?

आफ्नो फिल्म भएकाले कथामा मै हावी हुनुपर्छ भन्ने सोच मैले राखिनँ । तीनै जना नायिकाहरुको यसमा उत्तिकै बलियो भूमिका छ । यदि मैले फिल्मलाई आफूमै केन्दि्रत गर्न खोजेको भए पि्रयंका, ऋचाले खेल्न आनाकानी गर्नु हुन्थ्यो होला नी ।

पि्रयंका र ऋचा मिल्ने साथी भएकाले फिल्ममा अफर गर्नुभएको हो ?

त्यो मात्र होइन । उहाँहरुभन्दा मिल्ने बेनिषा, रिमा जस्ता साथीहरु पनि छन् । मैले फिल्मको क्यारेक्टरमा फिट हुने लागेर उहाँहरुलाई लिएकी हुँ । उहाँहरुले पनि मसँगको मित्रता निभाउनका लागि मात्रै फिल्म खेल्नुभएको होइन । रोल चित्त बुझेर नै हो ।

फिल्ममा तीन जना चर्चित हिरोइन हुनुहुन्छ, तर चिनिएको हिरो कोही छैन नी ? यसले रिस्क हुँदैन ?

पुरुष हिरो नै चाहिन्छ भन्ने छ र ? तीन जना हिरोइनले दर्शक तान्ने हैसियत राख्दैनन् र ? यो हिरोइनप्रधान फिल्म हो । हिरोइनहरु नै यसका हिरो हुन् । यसमा मैले रिस्क लिएकै सम्झिनुस ।

नयाँ निर्देशक रोज्नुको कारण ?

विशाल भण्डारीसँग मैले धेरै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छु । उहाँको कामबाट प्रभावित थिएँ । फेरि यो फिल्मको कथा उहाँकै हो । उहाँ कथा लिएर आएपछि मन परेर मैले लगानी गरेकी हुँ । मलाई उहाँको काममा पूरा भरोसा छ ।

अरुको फिल्ममा अभिनय गर्नभन्दा आफैं फिल्म निर्माण गर्नु कत्तिको चुनौतिपूर्ण हुँदो रहेछ ?

यसमा त आकाशपातालको फरक छ । सोचेको भन्दा धेरै गाह्रो रहेछ । आर्थिक स्रोत जुटाउनुपर्ने जिम्मेवारी त छँदैछ, मानवीय स्रोत एकजुट गर्न पो त्योभन्दा महाभारत हुँदो रहेछ । पचासौं जनाको टिमलाई नेतृत्व दिने कुरा हो । उनीहरुले खाए-नखाएको, सन्चो विसन्चो सबै ख्याल राख्नुपर्ने हुन्छ । सम्पूर्ण स्रोत-साधनहरुको चाँजो मिलाउनुपर्ने हुन्छ । भनेको बेलामा कलाकार र प्राविधिक जुटाउनुपर्ने हुन्छ । मलाई त एकदम नयाँ फिल्डमा आएको अनुभव भइरहेको छ ।

आर्थिक स्रोत जुटाउन चाहिँ कत्तिको गाह्रो भयो ?

त्यस्तो गाह्रो भएन । म एक्लै छैन यसमा । सहयोगी हातहरु हुनुहुन्छ । भद्रबहादुर शाही, शिव चौंलागाई र देवीलाल न्यौपानेले पनि लगानी गर्नुभएको छ ।

धेरै फिल्म खेलिसक्नुभयो, तर तपाईंका फिल्महरुको व्यापारिक नतिजा कमजोर देखिन्छ । यसमा कत्तिको खिन्नता महसुस हुन्छ ? 

खिन्नता हुँदैन । मेरो काममा गल्ति औंल्याइदिनुभयो भने मैले त्यसमा वर्क गर्ने हो । मैले हरेक फिल्ममा १०० प्रतिशत दिएकी हुन्छु । तर चलचित्र चलाउने जिम्मेवारी मेरो मात्रै होइन । राम्रो व्यापार नगर्नुका थुप्रै कारण हुन्छन् । धेरै राम्रो फिल्महरुले पनि दर्शक जुटाउन सक्दैनन् । यसमा म अलि अनलक्की हुन सक्छु । तर मेरा फिल्म त्यसरी नराम्रोसँग फ्लप भएका पनि छैनन् । औसत व्यापार गरिरहेकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment